चिकित्सक कुटपिट प्रकरण : अस्पतालमा रोकियो सेवा, बिरामीले पाएनन् उपचार

चिकित्सक कुटपिट प्रकरण : अस्पतालमा रोकियो सेवा, बिरामीले पाएनन् उपचार
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशको राजधानीमा रहेको हेटौंडा अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको छ। गत बुधबार भएको डाक्टर कुटपिटको घटनालाई लिएर शुक्रबारदेखि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकका सबै सेवाहरू ठप्प गरेका छन्। 

अस्पतालमा ओपीडी सेवा बन्द भएपछि अस्पतालमा सेवा लिन आउनेहरू उपचार नपाई घर फर्किन बाध्य भए। अस्पतालमा सेवा लिन आएका स्थानीय सन्तोष अर्यालले अस्पताल बन्द हुँदा सर्वसाधारण मारमा परेको भन्दै गुनासो गरे। 

अस्पतालका प्रशासन प्रमुख चिन्ताहरि बाँस्तोलाका अनुसार अस्पतालमा दैनिक १५/१६ सय जना पुर्जी काटेर नै उपचार गर्ने गरेका छन्। उनले भने, ‘शुक्रबार ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा भने बन्द छैन।’ शुक्रबार आकस्मिक सेवामा २ सय १९ जनाले उपचार गराएको उनले बताए।

यसअघि हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका थिए। गत बुधबार हेटौंडा उपमहानगरपालिका– १ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा तथा प्रशान्त बिडारीमाथि अस्पताल भित्रै भएको कुटपिटको विरोधमा कुटपिटमा संलग्नहरूलाई कारबाहीको मागसहित उनीहरूले राजीनामा दिएका हुन्। 

नेपाल चिकित्सक संघमा आबद्ध सबै संघसंस्थाका प्रतिनिधिले मकवानपुरको प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्राचार गर्दै घटना भएको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषीलाई कारबाही नगरेको भन्दै शुक्रबारबाट आकस्मिकबाहेकको सबै सेवा बन्द गर्ने निष्कर्षमा पुगेको समेत जनाएको थियो। 

गत महिना डेंगु संक्रमणको कारण मृत्यु भएका हेटौंडा उपमहानगरपालिका १२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तहरूले गत बुधबार डा. विकास थापा तथा प्रशान्त बिडारीमाथि कुटपिट गरेका थिए। हेटौंडा अस्पतालका डा. हरि खड्काले भने, ‘डाक्टरमाथि भएको कुटपिटको घटनाले समग्र स्वास्थ्य सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मी निकै असुरक्षित रहेको देखाएको छ।’ आगामी आन्दोलनका कार्यक्रम नेपाल चिकित्सक संघले जे निर्णय गर्छ त्यसकै आधारमा अघि बढ्ने उनले बताए। 

नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोजकुमार गुप्ताले स्वास्थ्यकर्मीमाथि भएको आक्रमणले समग्र स्वास्थ्यकर्मी त्रसित स्थितिमा रहेको बताए। आगामी दिनमा देशभर यस्ता घटना दोहोरिन नदिन र निरुत्साहित पार्न घटनामा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने उनले बताए। 
नेपाल चिकित्सक संघले भने बिहीबार सोही घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्रसमेत बुझाएको थियो। संघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको संघका उपाध्यक्ष डा.प्रकाश बुढाथोकीले बताए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने हालसम्म पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीका अनुसार हालसम्म डाक्टरमाथि कुटपिट गर्ने मृतककी श्रीमती रमा प्रधान, छोरा रोहित प्रधान, छोरी रमिता प्रधान र भतिज अनुप प्रधानलाई पक्राउ गरेका हो। 

पक्राउ परेकाहरूलाई जिल्ला अदालत मकवानपुरबाट तीन दिनको म्याद थप गरी अनुुसन्धान भइरहेको उनले बताए। स्वास्थ्यकर्मीहरूले भने घटनामा सार्वजनिक भएको सीसीटीभी फुटेजमा प्रस्ट सबै देखिएको भए तापनि पक्राउ गर्न प्रहरीले आनाकानी गर्दै आएको आरोप लगाउँदै आएको छ। 

स्वास्थ्यकर्मीहरूले उक्त घटनामा योजना बनाउनेहरू अझै खुल्ला रूपमा सार्वजनिक रूपमा हिँडडुल गरिरहेको र जिल्ला प्रहरी कार्यालयभित्रै समेत चिकित्सकलाई धम्कीसमेत दिएकोले काम गर्ने वातावरण नै नरहेको बताउँदै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.