मेसीले पेरिस ओलम्पिक खेल्लान् ?

मेसीले पेरिस ओलम्पिक खेल्लान् ?
फाइल तस्बिर।
सुन्नुहोस्

मेसीलाई ओलम्पिक फुटबल टोलीमा समावेश गर्नुपर्नेमा अर्जेन्टिनाका नागरिकहरूले मात्रै आवाज उठाइरहेका छैनन्, यू–२० राष्ट्रिय टोलीका प्रशिक्षक जेभियर मासेरानोले पनि यो आवाजलाई बुलन्द पारिरहेका छन्।

ब्युनर्स आयर्स : विश्वकप विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सन् २०२४ को पेरिस ओलम्पिक खेल्लान् ? यो प्रश्न अहिले सिंगो अर्जेन्टिनामा जोडतोडले उठेको छ। अर्जेन्टिनालाई ३६ वर्षपछि तेस्रो पटक विश्वकप उपाधि दिलाएका मेसीले अर्को वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिक फुटबलमा पनि स्वर्ण दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा धेरैको छ। 

मेसीलाई ओलम्पिक फुटबल टोलीमा समावेश गर्नुपर्नेमा अर्जेन्टिनाका नागरिकहरूले मात्रै आवाज उठाइरहेका छैनन्, यू–२० राष्ट्रिय टोलीका प्रशिक्षक जेभियर मासेरानोले पनि यो आवाजलाई बुलन्द पारिरहेका छन्। 

उनले मेसीलाई मात्रै होइन, विश्वकप विजेता टोलीका एन्जल डी मारियालाई पनि ओलम्पिक टोलीमा समावेश गर्नुपर्ने जोड दिइरहेका छन्। सन् २००८ मा चीनको बेइजिङमा भएको ओलम्पिकमा मेसी र डी मारिया सम्मिलित अर्जेन्टिनाको टोलीले स्वर्ण पदक जितेको थियो। 

जेभियर मासेरानो मेसी र एन्जल डी मारियाका सहकर्मी हुन्। उनी सक्रिय खेलाडी जीवन टुङ्ग्याएर प्रशिक्षण सम्हालिसकेका छन्। अर्जेन्टिनाको एक सञ्चारमाध्यमसँग कुरा गर्दै जेभियर मासेरानोले मेसी र एन्जल डी मारियाजस्ता हस्ती टोलीको हिस्सा भएमा अर्जेन्टिनाले मात्रै नभई सारा विश्वले गर्व गर्ने बताएका छन्। ‘ओलम्पिकमा मेसी र एन्जल डी मारियाले खेल्नु भनेको हाम्रा लागि मात्रै होइन, सारा विश्वकै लागि गर्वको विषय हो। त्यसैले उनीहरूलाई ओलम्पिक टोलीमा समावेश गराउनु पर्छ भनेर मैले जोड दिइरहेको छु’, जेभियरले भने, ‘तीन जना सिनियर खेलाडी टोलीमा समावेश गर्न पाउने नियम अनुसार मेसी र डी मारियासँगै पेड्रीलाई पनि सहभागी गराउनु पर्छ भनेर लागिपरेको छु।’ 

मेसी पछिल्लो समय अमेरिकामा छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट हालसालै उनी अमेरिकाको इन्टर मियामीमा आवद्ध भएका हुन्। उनी सन् २०२६ को विश्वकप खेल्ने कि नखेल्ने भन्ने दोधारमा छन्। एन्जल डी मारिया भने पोर्चुगलमा छन्। उनी बेन्फिकाबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.