चितवनबाट ‘पुष्पा र अञ्जली’लाई कोसी टप्पु लगियो (तस्बिर)
![चितवनबाट ‘पुष्पा र अञ्जली’लाई कोसी टप्पु लगियो (तस्बिर)](https://annapurnapost.prixacdn.net/media/albums/puspa-and-anjali-rhino_D8RPZ8Wcws_XOFjwaEM64.jpg)
चितवन : चितवन राष्ट्रिय निकुञ्जबाट दुइवटा गैंडा कोसी टप्पु वन्यजन्तु आरक्षण लगिएको छ। मंगलबार बिहान चार वर्षकी पुष्पा र साढे दुई वर्षकी अञ्जली नाम गरेका दुई गैंडा चितवनबाट कोसी टप्पु लगिएको हो।
स्थानान्तरण गर्नु अगाडि उनीहरुलाई एक हप्ता अगाडिदेखि खोरमा राखिएको थियो। उनीहरुलाई ट्रकमा राखेर लगिएको छ। वन्यजन्तु प्राविधिक एवम् लालबहादुर महतराले उनीहरुको निगरानी गरेका थिए।
आमाले छोडेर टुहुरो बनेका गैंडाका बच्चा लालुलाई छोडेर जाँदै थिए, त्यो पनि कहिल्यै नफर्कने गरी। बिदाइ हुने क्षणको कल्पनाले उनी भावुक थिए।
माउको माया पाउन नसकेका यी दुई गैंडाका बच्चालाई उनले माया दिएका थिए। महतरा हरेक बिहान दुवै गैंडा बाहिर निस्कने बेला ढोकामा पर्खिन्थे। उनले बोलाएपछि लुरुलुरु आउँथे। उनैले जंगल डुलाउँथे, नुहाइदिन्थे। ‘मेरो बोली सुनेपछि पछिपछि लाग्थे, जतिबेला पनि सँगै हुन्थे, अहिले शून्य भएको छ,’ लालुले भावुक हुँदै भने। गत जेठमा दुई वटा गैंडालाई चितवनको जंगलमा छोडिएको थियो।
२०७६ सालको माघमा चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपुरको तमासपुरमा जन्मिएको एक सातामा माउबाट छुट्टिएर हिलोको दलदलमा भासिएको अवस्थामा पुष्पाको उद्धार गरिएको हो। २०७७ को गैंडा गणनाको क्रममा चैत २३ गते चितवन राष्ट्रिय निकुञ्जको नवलपुरको दिव्यपुरी क्षेत्रमा करिब एक साताको उमेरको अञ्जलीको उद्धार गरिएको थियो।
गैंडाका टुहुरा बच्चालाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काएर गत जेठमा निकुञ्जको लामितालमा छोडिएको थियो। कतिपय संरक्षणकर्मीहरु भने वन्यजन्तु स्थानान्तरण सफल नभएको दाबी गर्दै गैंडा सार्न नहुने पक्षमा थिए।
हालसम्मको तथ्यांकअनुसार कोसी टप्पुमा एकसिंगे गैंडा छैनन्। उनीहरूलाई पहिलोपटक स्थानान्तरण गर्न लागिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यका अनुसार दुई वर्ष पहिला नै एउटा प्राविधिक समितिले कोसीमा गैंडा राख्ने विषयमा अध्ययन गरेको थियो। उक्त अध्ययनले कोसी टप्पु वन्यजन्तु आरक्षणमा गैंडाका लागि उपयुक्त बासस्थान भएको निष्कर्ष निकालेको थियो। आचार्यले भने ‘दुई वर्ष पहिला नै कोसी टप्पुमा गैंडाको बासस्थानका लागि सुहाउँदो वातावरण भएको निष्कर्ष निकालेपछि एकजोडी गैंडा स्थानान्तरण गर्न लागिएको हो।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)