सबै बेथितिको अन्त्य २०८४ को निर्वाचनपछि हुन्छ : सभापति लामिछाने
काभ्रेपलाञ्चोक : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा भएका बेथितिहरुको अन्त्य २०८४ को निर्वाचनपछि हुने बताए।
काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले रास्वपाले भ्रष्टाचारलगायत आपाराधिक घटनाका विषयमा संसद्बाट विरोध जनाएको र अब एकैपटक २०८४ मा मात्रै बोल्ने बताए।
'हामी आम नागरिकलाई सास्ती हुनेगरी जनतालाई सडकमा उतार्दैनौँ, सबै बेथितिको अन्त्य आउँदो २०८४ को निर्वाचनले गर्नेछ', उनले भने।
नेता लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन्।
'हामी जनताका साना–साना मुद्दामा ध्यान दिन्छौँ, उहाँहरुका काममा साथ दिन चाहान्छौँ, चिनीको मूल्य घटाउनेतर्फ पनि अब सम्बन्धित ठाउँमा पुग्नेछौँ, सडक तताउँदैनौँ', पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने।
उनले आफ्ना नेता तथा कार्यकर्ताले जनतालाई सडकमा आउ भन्ने होइन, अब धान काट्न बोलाउनुस् भनेर जनतासँग आग्रह गर्नुपर्नेमा जोड दिए।
'अब १५ दिन पार्टीको गतिविधि नगरेर भए पनि जनताकोमा गएर धान काट्नुस् ।' उनले फरक प्रसङ्गमा बेथितिमा थिति बसाल्ने पार्टीलाई जनताले मन पराउनेमा जोड दिए' , सभापति लामिछानेले भने, 'हामी भइरहेको व्यवस्थालाई परिवर्तन गरी अवस्था बदल्न हिँडेका हौँ, अब निर्वासन र भूमिगत बन्नुपर्ने अवस्था छैन, जनता पनि दुःखी बन्नुपर्दैन, उहाँहरुले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउनुहुन्छ ।'
प्रतिक्रिया दिनुहोस !