सर्ट सेलिङ, इन्ट्रा डे र धितोपत्र सापटी कारोबारको व्यवस्था गरिँदै

सेयर मूल्य घट्दा पनि कमाउन सकिने

सेयर मूल्य घट्दा पनि कमाउन सकिने
फाइल तस्बिर।

कम्पनीको मूल्य वा बजार परिसूचक बढ्दा लगानीकर्तालाई लाभ हुन्छ र घट्दा लगानी गुम्छ, घाटा बेहोर्नुपर्छ। सेयर लगानीकर्ताहरू सधैं बजार बढोस् भन्ने चाहना राख्छन्।

काठमाडौं : सेयर बढ्दा लगानीकर्तालाई लाभ हुन्छ, यो त सर्वमान्य सिद्दान्त नै भयो। सेयर घट्दा पनि लाभ हुन्छ भन्दा पत्याउनुहुन्न होला। तर, सेयर बजारमा यस्तो पनि हुन्छ। जहाँ सेयर घट्यो भनेर ‘होल्ड’ गरेर राख्ने लगानीकर्ता देखि सेयर ‘सापटी’ लिने लगानीकर्तालाई पनि नाफा हुन्छ। नेपाली सेयर बजारमा भने यस्तो औजारको प्रयोग भइसकेको छैन। तर, निकट भविष्यमा धितोपत्र बोर्डले यस्तो औजारको विकास गर्न लागेको छ। 

कम्पनीको मूल्य वा बजार परिसूचक बढ्दा लगानीकर्तालाई लाभ हुन्छ र घट्दा लगानी गुम्छ, घाटा बेहोर्नुपर्छ। सेयर लगानीकर्ताहरू सधैं बजार बढोस् भन्ने चाहना राख्छन्। सस्तैमा सेयर बेच्ने एकाधले मात्र आफूले बेचेको मूल्यभन्दा तल मूल्य झरोस् र आफूले सेयर थप्न सकुँ भन्ने चाहना राख्छन्। सेयरको भाउ घटोस् भन्ने चाहना राख्ने लगानीकर्ता नभएकाले हालको बजार परिसूचकलाई ‘अपूरो’ भनिन्छ।

सन्तुलित बजारका लागि कहिलेकाहीँ ‘घटोस्’ भन्ने लगानीकर्ता पनि हाबी हुनुपर्छ। भारत, अमेरिकालगायत धितोपत्र बजार परिपक्व भएको देशमा दुवैखाले लगानीकर्ता छन्। नेपालमा भने यस्तो प्रकारको औजार नै नभएकाले लगानीकर्तामा विविधता पाउन सकिँदैन।

घटेको बजारमा लाभ हुन्छ र ? भन्नेहरूका लागि सामान्य जवाफ छ, सेयरबजारमा ‘सर्ट सेल’, ‘सेक्युरिटी लेन्डिङ एन्ड बरोइङ’ (धितोपत्र सापटी कारोबार), ‘इन्ट्रा डे कारोबार’ नामको उपकरण हुन्छ जहाँबाट सेयरको मूल्य घट्दा लाभ लिन सकिन्छ। यी तीन औजारले सेयर मूल्य घटोस् भन्ने अपेक्षा राख्ने सेयरकर्ताको पूर्ति गर्ने छ। नेपालमा यस्तो औजार विकास गर्न सम्भव रहेको कुरा साढे दुुई वर्षअघि नै गरिएको एउटा अध्ययनले देखाएको छ।

अमेरिका, भारत, चीन, पाकिस्तान, ताइवान, सिंगापुर, बंगलादेशलगायत देशमा यस्तो अभ्यास छ। त्यहाँ एउटा कारोबारीले दोस्रो व्यक्तिसँग तोकेको अवधि (मानौं १५ दिन) का लागि तोकेको संख्यामा सेयर सापट लिन्छ। र, १६औं दिनमा सम्झौताअनुसार सेयर फिर्ता गर्छ।

यसैगरी अर्काथरी कोही व्यक्तिले भोलि बजार घट्दैछ भन्ने अनुमानका साथ आजै सेयर बेचिदिन्छ। वास्तवमा ऊसँग सेयर हुँदैन। भोलि बजार घटेपछि उसले सेयर किनेर वा सापट लिएर पूर्ति गरिदिन्छ। यसबीचमा सेयरको मूल्य घटे सापट लिने व्यक्ति नाफा गर्न सफल हुन्छ र मूल्य बढे उसलाई घाटा हुन्छ। मूल्य घट्दा पनि लाभ हुने कारोबारी बजारमा हाबी भएमा कम्पनीको मूल्यसँगै सेयर परिसूचकमा गिरावट आउँछ। त्यतिबेला सापटी लिनेहरूले कमाउँछन्। नत्र, गुमाउँछन्।‘घटोस्’ भन्ने कारोबारी पनि कहिलेकाहीँ हाबी हुने भएकाले सापटी लिन पाउने बजारलाई सन्तुलित बजार मानिन्छ। 

नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष बनेर आएपछि नेपालको धितोपत्र बजारमा नयाँनयाँ औजारको सुरुवात गर्ने बताएका थिए। हमालले भनेका नयाँ औजारको सूचीमा उल्लेखित इन्ट्राडे, सर्टसेल पनि पर्छन्। बोर्डको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा विज्ञमार्फत अध्ययन गरिने बताइएको छ। यो अध्ययनको नेतृत्व बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले गरिरहेका छन्।

सर्ट सेल, इन्ट्रा डे कारोबार र धितोपत्र सापटीबारे विस्तृतमा अध्ययन गरिरहेका छौं, चाँडोभन्दा चाँडो प्रतिवेदन तयार पार्नेछौं । सँगसँगै नियम, कानुन संशोधनको प्रस्ताव गर्छौं । अध्यक्षज्यूबाट पनि यो काम चाँडै सक्नुपर्छ भन्ने निर्देशन छ ।
मुक्तिनाथ श्रेष्ठ, प्रवक्ता, नेपाल धितोपत्र बोर्ड

सर्ट सेल, इन्ट्रा डे कारोबार, सेक्युरिटी लेन्डिङ एन्ड बरोइङको अध्ययन पहिलोपल्ट गरिएको होइन। यसअघि नेपाल स्टक एक्सचेन्जले २०७७ चैतमै अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केटसम्बन्धी अध्ययन गरेको थियो। सो अध्ययनले नै सेयरबजार बढेको बेलामा मात्र नभएर घटेको बेला पनि कमाउन सकिने सम्भावना देखाएको थियो। सेयर सापटी लेनदेनसम्बन्धी व्यवस्थामार्फत् मूल्य घटेको बेला कमाउन सकिने वातावरणबारे अध्ययन भए पनि बोर्ड नेतृत्वविहीन रहँदा काम अघि बढ्न सकेको थिएन। बोर्डले अहिले उक्त अध्ययन प्रतिवेदनले औंल्याएका विषय कार्यान्वयन गर्नुको सट्टा पुनः अध्ययन गर्ने प्रक्रिया अघि सारेको हो।

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल घटेको बजारबाट पनि नाफा गर्न मिल्ने औजार आज अपरिहार्य रहेको बताउँछन्। ‘बजारमा कम्पनीको सेयर मूल्य सधैं बढ्छ भन्ने हुँदैन। कुनै सेयरको मूल्य भोलि घट्दैछ भन्ने अनुमान लगाउन सकिन्छ तर आफूसँग सो कम्पनीको सेयर नहुन सक्छ,’ फुल्लेलले भने, ‘यस्तो परिस्थितिमा यस्तो औजारको आवश्यकता यहाँ छ जसमार्फत आज सेयर बेच्ने अर्डर राख्न सकियोस् र घटेपछि किनेर सो अर्डर परिपूर्ति गर्न सकियोस्।’ हाल सस्तोमा किनेर महँगोमा बेच्दा नाफा हुन्छ, तर पहिले बेचेर पछि किन्न मिल्ने व्यवस्था पनि हुनुपर्ने उनको भनाइ छ।

त्यसपछि लगानीकर्तासँगै दुवै प्रकारको अवसर हुने भन्दै उनले थपे, ‘बढेको र घटेको दुवै परिस्थितिमा लाभ गर्न मिल्ने व्यवस्था बजारलाई आवश्यक छ।’ उनका अनुसार नेपाल धितोपत्र बोर्डले पनि चाँडोभन्दा चाँडो कानुनी व्यवस्था गरेर यस्तो व्यवस्था गर्नेतर्फ जोड दिइरहेको छ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठ सर्ट सेल, इन्ट्रा डे कारोबार र धितोपत्र सापटीबारे विस्तृतमा अध्ययन गरिरहेको र चाँडोभन्दा चाँडो प्रतिवेदन तयार पार्ने तयारी गरेको बताउँछन्। ‘अन्य देशमा कस्तो व्यवस्था छ, अभ्यासमा जाँदा के कस्तो चुनौती छन्, कानुनी पाटोमा के कस्तो सम्बोधन संशोधन गर्नुपर्छ, हेर्दै छौं,’ श्रेष्ठले भने, ‘सकेसम्म चाँडो प्रतिवेदन तयार गर्छौं र नियम, कानुन संशोधनको प्रस्ताव पनि सँगसँगै गर्छौं। अध्यक्षज्यूबाट पनि यो काम चाँडै सक्नुपर्छ भन्ने निर्देशन छ।’

मूल्य घट्दा नाफा हुने दुई तरिका

सबै लगानीकर्ता धितोपत्र खरिद गरी आफ्नो स्वामित्वमा लिने र आफ्नो स्वामित्वमा भएको धितोपत्र बिक्री गरी पुँजीगत लाभ प्राप्त गर्ने आधारभूत उद्देश्य लिएर बजारमा प्रवेश गर्दैनन्।

विकसित मुलुकहरूको दोस्रो बजारमा धितोपत्र कारोबार गर्ने परम्परागत शैली र संरचनाभन्दा फरक किसिमले वित्तीय सम्पत्तिहरूको मूल्यमा हुने उतारचढावबाट लाभ उठाउन खोज्ने लगानीकर्तालाई नयाँ अवसर उपलब्ध गराउने एवं बजारको तीव्र उतारचढावलाई समेत सन्तुलनमा राख्ने उद्देश्यले अन्तरदिवसीय कारोबार सञ्चालनमा ल्याइएको हुन्छ।

यस किसिमको बजारमा लगानीकर्ताहरूको कारोबार एक दिनमा सीमित हुने प्रकारको पनि हुन्छ। उनीहरू एक दिनभित्रै सस्तो मूल्यमा धितोपत्र किन्ने र महँगोमा बिक्री गर्ने अथवा महँगोमा बिक्री गरेपश्चात् सस्तोमा खरिद गरेर आफ्नो दायित्व पूरा गर्ने उद्देश्य लिएर प्रवेश गर्ने गर्छन्।

अन्य सम्पत्तिजस्तै धितोपत्र (सेयर) पनि सापटी लिनेदिने गर्दा लिने र दिने दुवै पक्षलले फाइदा लिन सकिन्छ। सापटी लिन पाउने व्यवस्था भए बजारमा तरलता (पर्याप्त सेयर संख्या) सिर्जना गर्नुका साथै बजारको दक्षता अभिवृद्धि गर्छ। दुवैखालेलाई लाभ दिन्छ। यो प्रक्रियामा सेयर सापटी दिनेले निश्चित शुल्क (ब्याज) पाउँछ। सापटीमा लिनेले आफूसँग सेयर नभए पनि सेयर बेचेर नाफा कमाउने अवसर पाउँछ।

प्रायः देशको सेयरबजारमा दुई मुख्य उद्देश्यसहित सेयरको सापटी लिनेदिने गरिन्छ। पहिलो, सापटी लिएर बिक्री गर्ने र मूल्य घटेको बेला किनेर फिर्ता दिने। दोस्रो, कारोबार गरिसकेपछि धितोपत्र उपलब्ध गराउन नसक्दा सापटी लिएर पूर्ति गर्ने।

घटेको बजारमा पनि नाफा हुन्छ, तर, कसरी ?

मानौं, सरोज नाम गरेको व्यक्तिसँग कुनै ‘क’ कम्पनीको ५० हजार कित्ता सेयर छ। सरोज एक महिनासम्म सेयर नबेच्ने सुरमा बसेका छन्। सेयर सापटीमा लिन पाउने व्यवस्था भएपछि सरोजले श्यामलाई १५ दिनका लागि ३० हजार कित्ता सापटीमा दिन पाउँछ। दुईबीचको सम्झौता पनि हुनेछ र जसबमोजिम श्यामले सरोजलाई १६औं दिनमा ३० हजार कित्ता सेयर र त्यसको शुल्क (ब्याज) बुझाउँछ।

सरोजले होल्ड गर्नुको सट्टा सापटी दिँदा ब्याज कमाउँछन्। श्यामले यो अवधिमा बजारमा खेल्छन् अवसर पाउँछन्। उनले मूल्य घट्ने सम्भावनालाई अवसर बनाउँछन्।

यदी सो कम्पनीको मूल्य ६ सय रुपैयाँ हुँदा सेयर सापटी लिएका थिए भने त्यसलाई तुरुन्तै बेच्छन्। र, मूल्य घट्ने अवसरको प्रतीक्षा गर्छन्। भाउ प्रतिकित्ता ५ सय पुगेपछि फेरि किन्छन्। र, सरोजलाई १६ औं दिनमा फिर्ता गरिसक्छन्। यसरी मूल्य घटे पनि १५ दिनमा उनलाई प्रतिकित्ता १ सय रुपैयाँ नाफा हुन्छ।

दोस्रो उपाय हो, भोलि बजार घट्ने अनुमानसाथ आफूसँग हुँदै नभएको सेयर बिक्री गर्नु। सो सेयर बिक्रेताले अक्सन मार्केटबाट किनेर वा सापटी लिएर तिर्न सक्छ। र, सापटी दिने व्यक्तिलाई तोकेको सम्झौताअनुसार फिर्ता गर्न मिल्नेछ।

इन्ट्रा डे कारोबारमा लगानीकर्ताले कारोबार सुरु हुँदा सस्तोमा सेयर किनेर सकिँदा महँगोमा बेच्न सक्छ। वा, बिहान बढी मूल्यमा आफूसँग नभएको सेयर बेचेर कारोबार सकिँदासम्म सस्तोमा किनेर पूर्ति गर्न सक्छ।

नेपालमा सम्भव छ ?

विकसित बजारमा सेयर सापटी लिनेदिने काम पनि अनलाइन प्रणालीमार्फत हुने गरेको छ। कतिपय देशमा सापटी लेनदेन कारोबार संयन्त्र स्टक एक्सचेन्जले उपलब्ध गराएका छन् भने कतिपय मुलुकमा केन्द्रीय निक्षेप तथा राफसाफ सेवा प्रदायकले उपलब्ध गराएका छन्।

अन्तरदिवसीय (इन्ट्राडे) कारोबारका लागि सापटी लेनदेन व्यवस्था अनिवार्य सर्त होइन। तर धितोपत्रको सापटी लिनेदिने व्यवस्था नगरी अन्तरदिवसीय कारोबार सञ्चालन गर्दा बिक्रेताले धितोपत्र उपलब्ध नगराएको खण्डमा उक्त कारोबारीको सबै दायित्व अक्सन मार्केटबाट पूर्ति गर्नुपर्ने हुन्छ र अक्सन मार्केटमा दबाब पर्न जान्छ। यसले कारोबारीको लागत बढाउँछ र कारोबार गर्न निरुत्साहित बनाउँछ।

अन्तरदिवसीय कारोबारका लागि अर्को महत्त्वपूर्ण विषय सर्ट सेलिङ हो। यसको शाब्दिक अर्थ आफूसँग नभएको धितोपत्र बिक्री गर्ने भन्ने हुन्छ। कतिपय मुलुकमा सर्ट सेलिङलाई रोक लगाइएको हुन्छ भने कतिपयमा बजारको अवस्था हेरी नियमक निकायले सर्ट सेलिङ खोल्ने तथा बन्द गर्ने निर्देशन दिने गरेका छन्।

कतिपय मुलुकमा पछिल्लो कारोबारमा मूल्य नघट्ने गरी सर्ट सेलिङको आदेश प्रविष्ट गर्न पाइने प्रावधान छ। यसैगरी आफूसँग धितोपत्र नभए पनि धितोपत्र सापटी लिनेदिने संयन्त्रबाट राफसाफको प्रत्याभूत गर्ने कारोबारीलाई सर्ट सेलिङ गर्न दिइन्छ। अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै नेपालमा पनि उपयुक्त ढाँचामा सर्ट सेलिङलाई अनुमति प्रदान गर्दा अन्तरदिवसीय कारोबार प्रभावकारी हुन्छ।

अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सञ्चालनका लागि हालसम्म कुनै नीतिगत पूर्वाधार छैन। यसलाई धितोपत्र ऐन, २०६३ अन्तर्गत बनेका नियम विनियमहरूमा परिमार्जन तथा संशोधन गरी सम्बोधन गर्न सकिन्छ र केही नयाँ कार्यविधि तर्जुमा गर्नुपर्ने हुन्छ।

हाल सञ्चालनमा रहेका पुँजीबजार सम्बद्ध संस्थाहरू अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केटमा सहभागी हुन नपाउनुको कारण नीतिगत पूर्वाधारको अभाव हो। तापनि ऐन, नियममा आवश्यक परिमार्जन गरी नेपाल स्टक एक्सचेन्ज, सीडीएससी, धितोपत्र दलाल, मर्चेन्ट बैंकहरू छोटो समयको तयारीमै अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केटमा सहभागी हुन सक्नेछन्।

नेपालमा सापटीसहितको इन्ट्रा डे कारोबारका लागि नेपाल धितोपत्र ऐन, धितोपत्र कारोबार राफसाफ तथा फस्र्योट विनियमावली, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीमा संशोधन गर्नु पर्नेछ भने सीडीएससी, ब्रोकरले आफ्नो क्षमता अभिवृद्धि गर्नु पर्नेछ।


बजारको मनोबल कमी नै देखियो

ताराप्रसाद फुल्लेल, उपाध्यक्ष, सेयर लगानीकर्ता संघ नेपाल 

पछिल्लो समय सेयरबजारका लगानीकर्ता नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा हट्ने विश्वासमा थिए र सेयरबजारमा एक किसिमको उत्साह थियो। तर, बुधबार बिहान बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले १२ करोडबारे कुनै छलफलै गरेन।null

लगानीकर्ताको विश्वास केही गुमेकाले बजारको मनोबल कमी नै देखियो। यसो त बजार केही बढेको थियो, त्यसैको करेक्सन पनि हो कि !

यद्यपि, १२ करोडबारे निर्णय गर्न केन्द्रीय बैंकको सञ्चालक समितिले अनुमोदन गरिरहनु पर्दैन। केही दिनमा पुनरावलोकन गर्ने गरी परिपत्र आउने हल्ला छ। हामी आशावादी छौं। 


दुई वर्षअघि नेपाल स्टक एक्सचेन्जले अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केटसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ तयार पारेको थियो। प्रतिवेदनले धितोपत्र सापटी लिनेदिने प्रक्रियामा मुख्य व्यवस्था यस्ता हुनुपर्ने औंल्याएको थियोः

  • धितोपत्र सापटी लिनेदिने प्रक्रियामा सहभागी हुने मध्यस्थकर्ताले नियामक निकायबाट अनुमति लिनुपर्ने।
  • दाता र मध्यस्थकर्ताबीच सम्झौता हुनुपर्ने। मध्यस्थकर्ताले धितोपत्र निक्षेप गरेको निस्सा दातालाई दिनुपर्छ र मध्यस्थकर्ता दाताको ट्रस्टी हुने। मध्यस्थकर्ताले सम्झौतामा तोकिएअनुसार निक्षेप गरिएको धितोपत्र र त्यसबाट प्राप्त लाभ फिर्ता गर्ने सुनिश्चितता प्रदान गर्नुपर्ने।
  • सापटी लिने कारोबारी र मध्यस्थकर्ताबीच सापटी लिने अवधि, धितोपत्रको किसिम, शुल्क, जरिबाना, सापटी लिनका लागि राखिएको धितो, विवाद समाधानलगायतका विषय खुलाई सम्झौता हुनुपर्ने।
  • लाभांश प्राप्त गर्ने, हकप्रद प्राप्त गर्ने, साधारणसभामा भाग लिने, सञ्चालक चुन्ने र सञ्चालक चुनिने अधिकारदातामा रहने।
  • सापटी लिनेदिने कार्यमा संलग्न हुन पाउने कारोबारीको योग्यता तथा सापटी लिनदिन सकिने धितोपत्र नियमक निकायले तोक्ने।
  • सापटी लिनेदिने कार्यमा मार्जिनको व्यवस्था हुने।
  • धितोपत्र सापटी लिनेदिने कार्यमा सापटी दिनेले फिर्ता लिने र सापटी लिनेले धितोपत्र अग्रिम भुक्तानी गर्ने व्यवस्था हुने।
  • सापटी लिने वा दिनेले कतिसम्म सापटी लिन वा दिन सक्ने हो भन्ने व्यवस्था हुने। सापटी लिने वा दिनेले दायित्व पूरा नगरेको अवस्थामा सोलाई समाधान गर्ने व्यवस्था हुने।
  • मध्यस्थकर्ताले सर्ट सेलिङ, सापटी लिएको, दिएको विवरण दैनिक रूपमा स्टक एक्सचेन्ज, केन्द्रीय राफसाफ गृहमा पठाउने।
  • धितोपत्र सापटी लिनेदिने कार्यका लागि केन्द्रीय राफसाफ गृहले संयन्त्र उपलब्ध गराउने।

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.