विदेशी काठको आयात रोक्छौं : प्रदेश मन्त्री खड्का
काभ्रे : बागमती प्रदेशको वन तथा वातावरण मन्त्री मसिना खड्काले वनलाई वैज्ञानिक प्रविधिमा उपयोग र उत्पादनमा प्रदेश सरकारले जोड् दिने बताएकी छन्।
शुक्रबार काभ्रेको धुलिखेलमा वन पैदवार उद्योग महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशनमा यस्तो बताएकी हुन। वनसँग सरोकार राख्ने सबैले समुदायिक वन र निजी वनलाई जोगाउँदै वन क्षेत्रबाट रोजगार र उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ।
बामगती प्रदेश सरकारले वन ऐन ल्याएको भन्दै उनले वन नियमावली जारी गर्नका लागि तयारीमा रहेको बताइन्। उनले धेरै रोजगार उत्पादनमा समुदाय केन्द्रित नीति ल्याएको दाबी गरिन्।
कार्यक्रममा बोल्दै उनले प्रदेशभित्र रहेका निजी र समुदायिक बाँझो जग्गामा बृक्षारोपन गर्नतर्फ सबैले ध्यान दिनुपर्ने बताइन्। 'हामीले पुरानो काठ मात्र कटान गरिरहने भन्दा पनि बाँझो जग्गामा कसरी उत्पादनमा ल्याउन सकिन्छ भन्ने प्रदेश सरकारको ध्यान छ,' उनले भनिन्। विदेशी काठको आयात रोक्न र दिगो वन ब्यवस्थापनका लागि सबैको सहयोग चाहिने मन्त्री खड्काले बताइन्।
प्रतिक्रिया दिनुहोस !