संविधान संसोधन गर्न पाल्पाका वडाध्यक्षहरूको माग

संविधान संसोधन गर्न पाल्पाका वडाध्यक्षहरूको माग
सुन्नुहोस्

तानसेन : अधिकार विकेन्द्रीकरणको नाममा वडाध्यक्षहरूलाई अधिकारविहीन बनाएकाले अबका दिनमा आर्थिक, प्रशासनिक अधिकारको माग गर्दै देशव्यापीरूपमा आवाज उठाउन भन्दै देशमै पहिलो पटक पाल्पामा वडाध्यक्षहरूको संगठन निर्माण भएको छ। पाल्पाका ८१ वटै वडाका वडाध्यक्षहरूको सहभागिता रहेको भेलाले नेपाल वडा संघ पाल्पा गठन गरेको छ। 

वडाध्यक्षहरूको भेलाले संविधान संसोधन गरी वडाध्यक्षहरूलाई साविकका गाविस अध्यक्षकैजस्तै अधिकार प्रदान गर्नुपर्ने माग गरेको छ। पाल्पा वडाध्यक्ष संघलाई लुम्बिनी प्रदेश हुँदै देशव्यापी बनाउने लैजाने योजना बैठकले गरेको छ। भेलाले विभिन्न १५ बुँदे माग सम्बोधनका लागि सरकार, प्रदेश तथा संघीय सांसदहरूलाई अनुरोध गरेको छ। 
भेलाले  वडाध्यक्षहरू पूर्ण इमान्दार, निष्ठा र सेवाभावका साथ काम गर्ने, वडा कार्यालयलाई आर्थिक अधिकार प्रदान गरी जनतालाई टाढा होइन नजिक सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने, स्थानीय तहमा सञ्चालित योजनाको सम्झौता र भुक्तानीको अधिकार वडा कार्यालयमा व्यवस्था गर्नुपर्ने, संघीयताको नाममा केन्द्रिकृत गर्ने ऐन, कानुन र नियमावलीहरू संशोधन गर्नुपर्ने, वडा त्रको स-साना विपद् समाधान, सामान्य स्टेशनरी, भैपरी आउने समस्यालगायतका लागि पालिकाको केन्द्र धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, वडा कार्यालयको सिफारिसमाथि सोधपुछ, सर्जिमिन, प्रहरी सर्जमिन गर्ने क्रियाकलाप अन्त्य गर्नुपर्ने र  स्थानीय तहलाई सञ्चालन गर्न बनेका स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ खर्च गर्ने अख्तियारी र कार्यविधिको दफा ५ मा खर्च खाताको सञ्चालनको अधिकार वडा सचिव र अन्य एक सो सरहको कर्मचारीबाट हुने व्यवस्था मिलाउनुपर्ने माग गरेको छ।

त्यसैगरी भेलाले  वडा कार्यालयको सिफारिसको आधारमा सिफारिशकर्तालाई कारबाही हुने व्यवस्थाको अन्त्य हुनुपर्ने, कर्मचारीले भर्ने फाराममा असल नियतले गरेको भए कारबाही नहुने, जनप्रतिनिधीले भर्ने फाराममा गल्ती भए कारबाही हुने जस्तो विभेद्कारी व्यवस्था समायोजन हुनुपर्ने, स्थानीय तहको केन्द्रमा आएको स्रोत र अधिकार कानुनी व्यवस्था नगरी तल नझर्ने हुनाले वडा तहसम्म अधिकार र स्रोत समानुपातिक रुपमा सुनिश्चित गर्नुपर्ने,  बाँदर, दुम्सी, बँदेल जस्ता वन्यजन्तु आक्रमणबाट आजित जनतालाई मुक्ति र न्याय दिन सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने,  सिंहदरबारको अधिकार घरघरसम्म पु्र्याउने र केन्द्रित शासन प्रणालीलाई विकेन्द्रित गर्ने नारालाई साँचो अर्थमा कार्यान्वयन गर्न नेपाल सरकार, राजनीतिक दल, प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरुसँग आह्वान र अपिल गर्ने, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दरबन्दी कायम गरिएका कर्मचारीको अविलम्व व्यवस्था गर्ने, वडा कार्यालयमा परेका राजनीतिक, कानुनी र सार्वजनिकरूपले परेका समस्याहरूलाई एकतावद्ध रुपले समाधान गर्ने र देशभरका वडाअध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरुलाई संगठित रुपले आवाज उठाउने यो अभियानमा सहभागी हुन आह्वान गर्ने निर्यण गरेको छ।
 
पाल्पाका वडा अध्यक्षहरुको भेलाले तानसेन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेश कुमार अर्यालको अध्यक्षतामा नेपाल वडा संघ पाल्पाको गठन गरेको छ। जसको उपाध्यक्षमा रामपुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष  दिवाकर देवकोटा,तानसेन ५ का वडा अध्यक्ष रामबहादुर रावल,सचिवमा बगनासकाली गाउँपालिका ९ का वडा अध्यक्ष थानेशवर तिमल्सिना, सहसचिवमा माथागढी गाउँपालिका १ का  वडा अध्यक्ष राजकुमार पन्थी ,कोषाध्यक्षमा तिनाउ गाउँपालिका वडा न ५ का इन्द्रा चिदी लाई चयन गरेको छ । संघको सदस्यहरूमा रामपुर नगरपालिका वडा न ३ का अध्यक्ष दामोदर पाठक ,निस्दी गाउँपालिका वडा न ३ का अध्यक्ष नवीन्द्र सोती,तानसेन नगरपालिका वडा न ६ का अध्यक्ष  सागरमान महर्जन ,रिब्दी कोट गाउँपालिका वडा न १ का  अध्यक्षचिरञ्जीवी पोखरेल र रैनादेवी छहरा गाउँपालिका ४ का अध्यक्ष गोविन्द रायमाझी चयन भएका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.