विद्यालय रुपान्तरण अभियानका लागि निःशुल्क स्वास्थ्य शिविर
पशुपतिनगर (महोत्तरी) : विद्यालय रुपान्तरण अभियानलाई समथर्न गर्दै वर्दिवासस्थित जनमुखी आधारभूत विद्यालय पशुपतिनगरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। शिविरमा ६ सय ५ जनाले स्वास्थ्य जाँच गराएका छन्। जसअन्तर्गत दन्तरोग अन्र्तगत १७९ जना, जेनरलतर्फ २२३, ईसिजीतर्फ ४६ र सुगरतर्फ १५१ जनाले स्वास्थ्य लाभ लिएको हो।
विद्यालय उमेर समूहका बालबालिकाको स्वास्थ्य जाँच विद्यालयमै गर्दा उनीहरुको मनोमस्तिष्कमा सकारात्मक परिवर्तन आउने विद्यालय रुपान्तरण अभियानका अभियन्ता एवम् पत्रकार राजकरण महतोले बताए। अभियन्ता महतोले भने, ‘विद्यालय स्थापित भएको २७ बर्षपुग्दा लथालिङ्ग अवस्थामा रहेको थियो। गत महिना शैक्षिक सरोकारवाला निकायसँग समन्वयन गरि त्यस विद्यालयमा रुपान्तरण अभियानको सुचारु गरिएको हो। मुठ्ठीदान अभियानमार्फत प्राप्त सहयोगले विद्यालय परिसरमा पार्क निर्माण गरियौं।’
करिब ७ करोडको लागतमा अत्याधुनिक भौतिक पूर्वाधार निर्माण गरि यस विद्यालयलाई नमुना बनाइने महतोले जनाएको छ। उनले अगाडि भने, ‘यसअघि पनि विभिन्न स्थानमा सार्वजानिक महत्व वोकेको भौतिक सम्पदाको पुर्ननिर्माण गरि नमुना बनाएको अनुभव आफ्नो टिमसँग रहेको छ। यस अभियानमा तीनतहका सरकार, दान, मुठ्ठिदान अभियानलाई संचालन गरि सफलता हासिल हुनेछ । विश्वास छ यसमा पक्कै पनि सवैको सहयोग पाउनेछु।’
अभियानलाई सहयोग गर्नका लागि सिभिल इन्जिनियर मनोज महतोले विद्यालयमा आवश्यक भौतिक पूर्वधारका तयारीका लागि निःशुल्क रुपमा नक्सा डिजाइन तयार गरेर सहयोग गरिरहेका छन्। विद्यालयको सौन्दर्यीकरण, भौतिक पूर्वाधार तथा शैक्षिक सुधारका लागि झण्डै ५ करोड लाग्ने अनुमान रहेको इन्जिनियर महतो बताए। उनका अनुसार अहिले विद्यालयमा गार्डेनको भौतिक संरचना तयार भइरहेको छ । त्यस्तै निल बहादुर लुम्रेले शैक्षिक तथा भौतिक पूर्वाधार निर्माणका लागि प्रस्तावनाहरू तयार गरेका छन्।
विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि भवन निर्माण, शिक्षक व्यवस्थापन, शैक्षिक सामग्रीहरूका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग उपलब्धका लागि विद्यालयले बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीलाई ज्ञापनपत्र बुझाई सकेका छन्। विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र महतोका अनुसार, विद्यालय विकास योजना अनुसार विद्यालय विस्तारका लागि तुरुन्तै जग्गा ३ कठ्ठा जग्गा किन्नु पर्ने आवश्यकता छ। पठ्नपाठनका लागि ९ वटा कक्षा कोठा थप्नु पर्ने भएको छ। अत्याधुनिक प्रविधिसहितको बालविकास कक्षा निर्माण तत्कालै गर्नुपर्ने उनले जनाए।
सरकार र दाताहरूको सहयोगमा हालै विद्यालयको गेट तथा रंगरोगन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेकवाल महतोले जनाए। उनले भने, ‘सहयोग संकलन गरेर कक्षा कोठामा बालबालिका बस्ने वातावरण निर्माणका लागि रंगरोगन, शिक्षा सम्बन्धी आदर्श नारा उल्लेखित पेन्टिङ, पंखा जडान, शैक्षिक चित्रहरू बनाइएको छ। विद्यालयको प्रागणमा चौतारा निर्माण भइसकेको बताउँदै उनले भने, ‘मुलगेट निर्माण लगायतका कामका लागि बर्दिबास नगरपालिकाले अढाई लाख सहयोग गरेको थियो।’
२०५३ सालमा तत्कालीन पशुपतिनगर गाविसका अध्यक्ष नथुनि महतोले दुई कठ्ठा जग्गा दान गरेपछि फुसको छाप्रोबाट विद्यालय सुरु भएको थियो। पुर्वअध्यक्ष महतोको अनुसार गाउँका दाताबाट काठ ,बाँस, टाली लगायतका सामग्री संकलन गरी विद्यालयको प्रारुप तयार भएपछि पठनपाठन सुरु भएको थियो। विद्यालयका तत्कालीन प्रधानाध्यापक हिरालाल महतोले बिना तलब विद्यालयमा योगदान पुर्याएका थिए। वि.सं. २०६४ सालमा विद्यालय व्यवस्थापन समिति गठन भई अध्यक्षमा संजय महतो आएपछि तत्कालिन शिक्षा कार्यालयबाट ट्रष्टको भवनहरू निर्माण गरेर कक्षा ५ सम्म कक्षा सञ्चालनमा आएको थियो।
प्रतिक्रिया दिनुहोस !