नवलपरासीमा नदीजन्य पदार्थको चोरी बढ्यो, स्थानीय सरकार मौन

नवलपरासीमा नदीजन्य पदार्थको चोरी बढ्यो, स्थानीय सरकार मौन
नदीजन्य पदार्थ ओसार्दै ट्याक्टर । तस्बिर : हरि शर्मा
सुन्नुहोस्

परासी :  नवलपरासी जिल्लाका खोलाबाट नदीजन्य पदार्थ (ढुंगा,बालुवा,गिट्टी) को चोरी निकासी बढेको छ । सबैभन्दा बढी सुनवल र बर्दघाट नगरपालिका क्षेत्रका खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको हो । सुस्ता गाउँपालिकाको नारायणी नदीबाट पनि नदीजन्य पदार्थको चोरी कार्य बढेको छ ।

सबैभन्दा बढी रातको समयमा नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको छ । रातको समयमा खोलाबाट चोरी गरी नदीजन्य पदार्थ बोकेका सवारी साधनको आवाजले सुत्नै नसकिएको स्थानीयको गुनासो छ । सबैभन्दा बढी सुनवलको तुरिया,पानभार, भूमही खोलाबाट चोरी निकासी बढेको स्थानीय बताउछन् । 

त्यसरी ल्याइएका नदीजन्य पदार्थ डम्पिङ (घाटगद्धी) गरेर राख्ने गरेका छन् । पुरानो स्टकभन्दै उनीहरूले त्यहीँ लगेर चोरीका ढुंगा,बालुवा राख्ने गरेको पाइएको छ । त्यसरी अनुमति नलिइ डम्पिङ बनाएर राखेकाका नदीजन्य पदार्थको स्थानीय तहहरूले प्रमाणित नगर्दा चोरी निकासी बढेको बताइएको छ । 

नदीजन्य पदार्थको बिक्री तथा व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाहरूको हो । तर पालिकाहरूले चोरी निकासी नियन्त्रणका लागि आवश्यक जनशक्ति नभएका कारण समस्या भएको बताउँदै आएका छन् । चोरी नियन्त्रणका लागि स्थानीय प्रहरीसँग समन्वय गर्दा खासै सहयोग नपाइएको केही स्थानीय तहका प्रमुखको भनाइ छ । जिल्लाका पालिकाहरूले अहिले कुनै पनि खोलाको ठेक्का लगाएका छैनन् । साउनदेखि तीन महिनासम्म पालिकाहरूले ठेक्का लगाउने गरेका छैनन् । त्यसपछि मात्र आवश्यक प्रक्रिया पूरा गरेर ठेक्का लगाउने गरेका छन् । 

खोलाहरूबाट चोरी निकासी भएको र रातको समयमा ढुंगा, बालुवा बोकेका सवारी साधनका कारण सुत्नै नसकिएको भन्दै पालिकामा स्थानीयहरू डेलिकेसन लिएर आउने गरेको सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले बताइन् । ‘ पालिकाभित्र रहेका केही खोलाबाट ढुंगा, बालुवाको चोरी बढेको छ । नियन्त्रण गर्न प्रयाप्त जनशक्ति छैन । नगरमा जम्मा ४ जना नगरप्रहरी छन्, उनीहरुले कसरी नियन्त्रण गर्न सक्छन् ? त्यसका लागि प्रहरीसँग समन्वय गरेका छौं,'नगरप्रमुख अर्यालले भनिन् । 

नगर प्रहरी र इलाका प्रहरी कार्यालय सुनवलको संयुक्त टोली बनाइ चोरी नियन्त्रणको कार्य अघि बढाइने उनको भनाइ छ ।  यता बर्दघाट नगरपालिका क्षेत्रमा रहेका खोलाहरूबाट पनि नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । सबैभन्दा बढी खजुरा खोलाबाट चोरी कार्य बढेको हो ।

 खजुरा खोलासँगै गंगोटी खोला र सहायक खोलाहरुबाट पनि नदीजन्य पदार्थको चोरी बढेको बताइएको छ । चोरी नियन्त्रणका लागि नगरपालिकाले प्रहरीसँग समन्वय गरेको बताएपनि चोरी कार्य भने रोकिएको छैन । रातको समयमा आँखा छलेर नदीजन्य पदार्थको चोरी हुने गरेको गुनासो आउने गरेको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए । 

स्थानीय प्रहरीको सहयोगमा चोरी निकासी गर्ने सवारी साधनलाई पक्राउ गरेर जरिवाना गर्ने गरिएको नगरप्रमुख श्रेष्ठले बताए । साउनदेखि हालसम्म नगरपालिकाले नदीजन्य पदार्थ चोरी निकासी गरेको अवस्थामा १२ वटा टेक्टरलाई पक्राउ गरेको छ । उनीहरूबाट जनही २० हजारका दरले २ लाख ४० हजार राजश्व संकलन भएको नगरपालिकाकी राजश्व शाखा प्रमुख शारदा जिसीले बताइन् । यता सबैभन्दा बढी नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको गुनासो बढेको सुनवल नगरपालिकामा भने चालुवर्षको अहिलेसम्म चोरीमा संलग्न सवारी साधन पक्राउ परेका छैनन् । चालु आर्थिक वर्षमा नदीजन्य पदार्थ चोरीमा संलग्न सवारी साधनबाट जरिवाना असुल उपर भएको नदेखिएको सुनवल नगरपालिकाको राजश्व शाखाले जनाएको छ ।

सुस्ता गाउँपालिकाको नारायणी नदीबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको बताइएको छ । ‘वर्षामा चोरी निकासी रोकिएको थियो । अहिले नदीमा पानी घटेकाले फेरि चोरी कार्य बढेको गुनासो आएको छ,'गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले भने । 

चोरी निकासी नियन्त्रणका लागि प्रहरीसँग समन्वय गरिने उनको भनाइ छ । नदीजन्य पदार्थ चोरी नियन्त्रण गर्न प्रहरी सहयोग बिना संभव नभएको सबै पालिकाका प्रमुखहरु बताउँदै आएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख (उपरीक्षक) काजी कुमार आचार्यले स्थानीय तहहरूले जुनसुकै समयमा सहयोग मागेपनि उपलब्ध गराउन तयार रहेको बताए । पछिल्लो पटक सुनवल र बर्दघाटमा नदीजन्य पदार्थको चोरी निकासी बढेको गुनासो आएको उनले बताए । ‘नदीजन्य पदार्थको चोरी नियन्त्रणका लागि सुनवल नगरपालिकाले अनुरोध गरेको थियो, सोहीअनुरुप त्यहाँ नगर प्रहरीसहितको संयुक्त टोली बनाएर दिउँसो र रातको समयमा गस्ती गर्न थालिएको छ ,'प्रहरी उपरीक्षक आचार्यले भने ।  

जिसस मौन 

स्थानीय तहहरूले गर्ने नदीजन्य पदार्थको संरक्षण, व्यवस्थापन र बिक्री वितरणको अनुगमन र व्यवस्थित गर्नका लागि जिल्ला समन्वय समितिलाई पनि अधिकार दिइएको छ ।  लुम्बिनी प्रदेश सरकारको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधिले नदीजन्य पदार्थको व्यवस्थापन गर्न जिल्ला अनुगमन तथा व्यवस्थापन समिति गठन गरेको छ । त्यसको संयोजकका रुपमा जिल्ला समन्वय समितिका प्रमुखलाई तोकेको छ । 

कार्यविधिले जिल्ला समन्वय समितिले अनुगमन गर्ने र कार्यविधि र ऐनविपरीत कार्य भएमा कारबाहीका लागि सिफारिस गर्न सक्ने अधिकार दिइएको छ । तर, नवलपरासीका विभिन्न खोलाहरूबाट अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको चोरी निकासीका बारेमा भने जिल्ला समन्वय समिति मौन जस्तै बनेर बसेको आरोप छ । 

जिल्ला समन्वय समिति आफ्नो भूमिकालाई शुन्यजस्तो बनाएर बसेको सरोकारवालाले बताएका छन् । उक्त समितिको काम कर्तव्यमा नदीजन्य पदार्थको उत्खनन्, संकलन्, प्रशोधन,भण्डारण र बिक्री वितरणको अध्ययन, निरीक्षण गर्न सक्ने जनाइएको छ । 

कानुनसम्मत कार्यान्वयन भए नभएको हेरी नियमन गर्नका लागि मन्त्रालयलाई सिफारिस गर्ने र नियमविपरीत भए प्रचलित कानुनअनुसार कारवाही गर्ने अधिकार कार्यविधिले समितिलाई दिएको छ । तर समितिले जिल्लामा जथाभावीरुपमा राखिएका नदीजन्य पदार्थको अनुगमन र निरीक्षणसमेत गरेको पाइएको छैन । 

नदीजन्य पदार्थको अनुगमन एंव व्यवस्थापन गर्न गठन गरिएको जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका संयोजक तथा जिसस प्रमुख भगौति यादवले जिल्लामा नदीजन्य पदार्थका कति घाटगद्धी छन् भन्नेबारे जानकारी नभएको बताए । 

'गतवर्ष लागेको ठेक्का, परिमाण र घाटगद्धीका लागि तोकिएका स्थानका बारेमा सबै पालिकासँग विवरण मागेका छौं ,' उहाँहरुले अहिलेसम्म पठाउनु भएको छैन । त्यसैले अनुगमन गर्न नसकिएको हो ,' यादवले भने । 

खोलाहरुको अनुगमनका बारेमा पालिकाहरुलाई पत्रचार गरेपनि कुनै जवाफ नपठाएकाले आफूहरु नगएको उनको भनाइ छ । ‘चोरी निकासी र जथाभावी घाटगद्धी गरेर राखेका गुनासा आएका छन् । पालिकाहरुले नगरे अब हामीहरू आफैंले गर्ने सोँच बनाएका छौं,'जिसस प्रमुख यादवले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.