राजनीतिमा नैतिकता
राजनीति आफैंमा धमिलो पोखरी होइन। यसलाई हामीले नै धमिलो बनाएका हौं।
राजनीति र नैतिकता सँगसँगै चल्न सक्छ ? यो एउटा गहन प्रश्न बनेको छ, वर्तमान परिवेशमा। राजनीतिको मूल उद्देश्य राज्य र प्रशासनसँग सम्बन्धित सामाजिक सिद्धान्तलाई अंगीकार गरी जनताको लागि शान्ति सुरक्षा कायम गर्नु, राज्यको शासन व्यवस्थाको प्रणाली र नीति निर्धारण गर्नु, मौलिक हक अधिकारको कदर गर्नु अनि सुनिश्चित गर्नु, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको सन्तुलन गर्नु आदि हुन्। यी कार्यहरूलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न राजनीतिक दल तथा त्यसका नेता, कार्यकर्ताहरू र राज्यका संयन्त्रहरूको काँधमा भरमार जिम्मेवारी रहेको हुन्छ।
एउटा लोकतान्त्रिक राष्ट्रको उन्नति र समृद्धिका लागि त्यस राष्ट्रका राजनीतिक दलका नेता–कार्यकर्ताहरू, प्रशासनिक संयन्त्र र कर्मचारीतन्त्र नैतिकवान् हुनु त्यत्तिकै जरुरी छ, जति मानिसको शरीरमा बग्ने रगत शुद्ध हुनुपर्छ। अशुद्ध र विषाक्त रगत लिएर मानिस बाँच्न सक्दैन भने जस्तै एउटा राष्ट्र बाँच्न पनि राजनीतिक र प्रशासनिक संयन्त्र शुद्ध, इमानदार र सदाचारी हुनु उत्तिकै आवश्यक हुन्छ। नभए राष्ट्रलाई पनि बाँच्न गाह्रो पर्छ।
नैतिकता भनेको सही वा गलत ठम्याउने चेतना, अन्तरात्माको आवाज, विवेक, नीतिमा आधारित आचरण, सदाचार वा शत्चरित्र, सद्व्यवहार आदि हुन्। यस्ता चरित्र, आचरण र व्यवहार भएका व्यक्तिहरू नैतिकवान् कहलिन्छन्। नैतिकवान् व्यक्तिहरूको समूह र दल पनि नैतिकवान् हुन्छ, जसले राष्ट्रलाई उन्नति र समृद्धिको पथमा डो¥याउन सकारात्मक ऊर्जाको सञ्चार गर्छ। अनैतिक र भ्रष्टाचारी संयन्त्रले राष्ट्रलाई अधोगतितिर ढकेल्छ। दुश्चरित्र, गलत चेतना, आचरण र व्यवहार कुनै पनि राष्ट्रका लागि अभिशाप बन्छ। त्यस्ता राष्ट्रले अन्तर्राष्ट्रिय मञ्चमा भ्रष्टाचारी मुलुकको रूपमा तिरष्कृत हुनुपर्ने डर हुन्छ।
दुःखको कुरा यहाँ अनैतिक, भ्रष्ट र व्यभिचारी व्यक्तिहरूमा लाज शरम भन्ने कुरा रत्तिभर छैन। अलिकति पनि लज्जाबोध हुने हो भने उनीहरूका शिर लाजले निहुरिनुपर्ने हो तर विडम्बना उनीहरू छाती फुकाएर शिर ठाडो पारी हिँडिरहेका हुन्छन्। अनि हेरेर बस्नेहरू लाजले भुतुक्कै हुन्छन्। स्वाभिमानी नेपाली, गरिब र निमुखा जनताको मन रुन्छ, धिक्कार्छन् आफूले आफैंलाई ! कस्तो देशमा जन्म लिनु प¥यो ! अरू के नै गर्न सक्छन् तिनीहरू आफैंलाई धिक्कार्नु बाहेक ?
फ्रेडरिक श्लेगल भन्ने एकजना जर्मन दार्शनिक, विचारकले उन्नाइसौं शताब्दीमै भनेका थिए ‘जहाँ राजनीति र अर्थशास्त्र हुन्छ त्यहाँ नैतिकता रहँदैन’। यो राजनीतिको दीर्घरोग विश्वव्यापी नै रहेछ, हामीमात्रै यसका पीडित रहेनछौं। तर २१औं शताब्दीमा आइपुग्दा युरोपका धेरै मुलुकको राजनीतिक संस्कारमा भ्रष्टाचार, विकृति र विसंगतिका घटना कमै देख्न र सुन्नमा आउँछन्। उनीहरू न्यून भ्रष्टाचार हुने मुलुकको सूचीमा अघिल्लो स्थानमै पर्छन्। प्रजातान्त्रिक भनौं वा लोकतान्त्रिक पद्धतिको लामो अभ्यास गर्दै वर्तमान अवस्थासम्म आइपुगेका युरोपेली मुलुकहरूसँग हाम्रोजस्तो कलिलो लोकतान्त्रिक प्रणालीको अभ्यासरत गरिब मुलुकलाई दाँज्नु कति उपयुक्त हुन्छ यो पनि प्रश्नकै विषय हो। तर एउटा कुरा के पनि बुझ्नु जरुरी हुन्छ भने लोकतान्त्रिक पद्धतिको सीको उनीहरूबाट गर्न सकिन्छ भने सही आचरण र व्यवहार पनि सिक्न सकिन्छ नि सकिँदैन ? नेपालीको एउटा खराब बानी के छ भने नराम्रो कुरा र विकृतिहरू तुरुन्तै आत्मसात् गर्ने तर राम्रो कुरा सिक्नै नसक्ने ! वा नचाहने ?
सर्वसाधारण जनता वा आममतदाता हुन्छन्, जसले आफूलाई दुःख, कष्ट, पीडा, अनि समस्याको अवस्थाबाट माथि उठाउन यी नेताले अवश्य केही न केही भूमिका खेल्नेछन् र हामीलाई राहत दिलाउने छन् भन्ने मनोकांक्षा लिएर बसेका हुन्छन्। जब ती नेता कार्यकारी तहमा पुग्छन् र आफू मातहतका कार्यालयहरूमा विकासका योजना र कार्यक्रमहरू बनाउन थाल्छन् अनि लाभका आकांक्षीहरूको लाइन लाग्न सुरु हुन्छ। कोही आफ्नै लागि, कोही अरू कसैका लागि, कोही बिचौलिया बनेर, कोही आकर्षक प्रस्ताव लिएर, कोही सहयोगको भर्पाइ गराउन सबका सब। एउटा चक्रव्यूह नै बन्छ त्यहाँ। विचरा नेता अवाक भई नैतिकताको कठघरामा उभिन बाध्य हुन्छ। अनि घोटिन्छन् आफैं नैतिकताको कसीमा। भिड्छन् नैतिकताको चक्रब्यूहमा।
यतिमात्र कहाँ हो र नैतिकताको प्रश्न त दलभित्रको आन्तरिक प्रतिस्पर्धा, बहुदलीय व्यवस्थामा हुने अन्तरदलीय प्रतिस्पर्धा, र अन्तर्राष्ट्रिय मञ्चमा हुने अन्तरदेशीय प्रतिस्पर्धामा पनि उत्तिकै उठ्छ। अन्तर्राष्ट्रिय चक्रव्यूह त झन् साह्रो भयंकर हुन्छ। आफ्नो निहित व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई सर्वोपरी मानेर, देश प्रेमलाई छातीमा राखेर अघि बढ्ने हो भने नैतिकतामाथि प्रश्न उठ्ने सम्भावनै रहँदैन। इमान्दारिताले नैतिक बल बढाउँछ।
इमान्दार व्यक्तिको आत्मसम्मान उच्च हुन्छ। उच्च आत्मसम्मानले उठेको शिर जतिसुकै भव्य र अग्लो सुनको मुकुट लाउनुभन्दा धेरै उच्च हुन्छ।
काम, क्रोध, लोभ र मोह; यी जन्मजात मानवीय स्वभाव हुन्। जो नभै नहुने गुण, तर बढी भएमा मानव चरित्रलाई नै धमिल्याउने। आवश्यकताभन्दा बढी भएमा कुनै पनि गुण अवगुणमा परिवर्तन हुन्छ। काम, क्रोध, लोभ, मोहलाई पनि काबुमा राख्न नसकेको अवस्थामा कुनै पनि क्षेत्रमा अभ्यस्त मानिस पनि कलंंकित, चरित्रहीन र अनैतिक बन्न जान्छ। राजनीतिक क्षेत्रमा पनि यी मानवीय स्वभावको ठूलो प्रभाव रहेको हुन्छ। विशेषतः राजनीतिकर्मीहरूले अझ बढी चनाखो हुनुपर्छ आफ्नो चारित्रिक शुद्धताको लागि र नैतिकवान् बन्नको लागि।
राजनीति आफैंमा धमिलो पोखरी होइन। यसलाई हामीले नै धमिलो बनाएका हौं। शरीर र आत्म शुद्धिका लागि नुहाउनेहरूले शुद्ध र निर्मल पानीमा नुहाउनु पर्छ। हिलोमा नुहाएर आफै दुर्गन्धित किन बन्ने ? एकापसमा हिलो छ्यापाछ्याप कति गर्ने ?
अरू बन्न नसके पनि आफैं शुद्ध र सफा बन्ने कोसिस किन नगर्ने ? आफै नैतिकवान् किन नबन्ने ? राजनीतिमा नैतिकताको सुगन्ध किन नछर्ने ?