इजरायलमा नेपाली खोज्दै सरकारको उपस्थिति, सरकार कुर्दै हवाई अनुमति

इजरायलमा नेपाली खोज्दै सरकारको उपस्थिति, सरकार कुर्दै हवाई अनुमति

काठमाडौं : इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भयो। बाँकी नेपाली विद्यार्थी र अन्य नेपालीहरू नेपाल सरकारले सुरक्षित स्थानमा जान पाइएला भन्ने आसमा २ रात बिताए। अन्तत :  नेपाली राजदूतावास, एनआरएन र इजरायली सेनाको पहलमा केही सुरक्षित स्थानमा पुगे। कतै उद्धारकै प्रतीक्षामा छन्। यता सरकार भने अझै पनि हवाई अनुमतिकै रटानमा छ। उद्धारका अन्य विकल्पको खोजी नलाग्दा इजरायलमा जोखिम बढ्दै छ। 

सोमबार साँझ मात्र इजरायली सेनाको स्कर्टिङमा अति संवेदनशील क्षेत्रबाट ३२ र अन्य क्षेत्रबाट १० जना विद्यार्थी गरेर ४२ जनालाई रमत नेगेभ भन्ने स्थानमा पुर्‍याएर सुरक्षित तवरले राखिएको राजदूत कान्ता रिजालले बताइन्। भनिन्, ‘अति संवेदनशील क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ। अब कम खतरा भएका स्थानबाट मंगलबार उद्धार गरिदिए हुन्थ्यो भन्ने नेपालीलाई ल्याइनेछ।’ 

रिजालले नेपालीलाई उद्धारका लागि प्लेन चार्टड फ्लाइट ल्याउने काम भएन भन्ने गुनासो सम्बोधन गर्दै स्पष्ट पारिन्, ‘अहिले विमानस्थल नै पूर्णरूपमा बन्द छन्। एकदमै संवेदनशील अवस्था छ। इजरायल सरकारले सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर पनि विमानस्थल खोलेको छैन। अन्य देशका नागरिकलाई पनि सुरक्षित स्थानमा सारिएको हो। चार्टडविमानमा लगिएको भन्ने हामीलाई थाहा छैन।’ उनले थपिन्, ‘हामी अहोरात्र नेपालीको सेवा, सहयोग र उद्धारमै जुटेका छौं। इजरायल सरकारसँग निरन्तर सम्पर्कमै छौं। विमानसेवाको अनुमति पाउनेबित्तिकै नेपाल सरकारलाई अवगत गराउनेछौं। विमानस्थलका सन्दर्भमा इजरायलमा शनिबार उक्त घटना घटेकै केही समयमै कर्मसियल फ्लाइटहरू बन्द भएका थिए।’

यता नेपाल सरकार भने इजरायलमा घटना भएदेखि नै उद्धारका लागि भन्दै बैठक र छलफलमै व्यस्त छ। कूटनीतिक विश्लेषक दिनेश भट्टराई भन्छन्, ‘सरकारले ढिलो प्रक्रिया सुरु गरेर पनि समय लागेको हो। विमान लैजाने मात्रै उद्धार हैन। खतरा क्षेत्रबाट सुरक्षित स्थानमा लगिनु पनि उद्धार हो। त्यो उद्धार नेपाली दूतावासले छिटो गर्न सक्थ्यो। त्यहाँ पनि विविध समस्या हुन सक्छन्। युद्घ भइराखेको आफ्नै सुरक्षा अगाडि आउँछ। युद्घको समयमा सकसपूर्ण कुरा हो।’ 

भट्टराईले विमान लगेर उद्धार गर्ने विषयमा नेपालबाट डाइरेक्ट रुट नभएका कारण इजरायलसम्म जाने बीचका रुटको पनि अनुमति लिनुपर्ने कारण पनि समय लाग्ने बताए। उनले भने, ‘समय लाग्छ। तर, इजरायलले तिम्रा जनता लिन आउ भनेर अनुमति दिनुभन्दा अगाडि बीचमा पर्ने रुटको इजाजत लिइसक्नुपर्छ। यसमा नेपाल सरकार लागि हाल्नुपर्ने हो। पूर्वतयारी त भएर बस्नुपर्‍यो।’ 

‘कूटनीतिक विषय भन्ने कति संवेदनशील हुन्छ भने अहिले इजरायलको विषयमा उहाँहरू एक ठाउँबाट अर्को स्थानमा जाँदा अनुमति लिएर जानुपर्ने हुन्छ। यो अवस्थामा घरबाट बाहिर निस्कने अनुमति पाउन पनि गाह््रो हुन्छ। त्यसैले कूटनीतिक मर्यादालाई ध्यानमा राखेर खण्डन गर्नुपर्ने हुन्छ,’ भट्टराईले अगाडि भने। 

नेपालको तयारीका विषयमा जानकारी दिँदै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायलसँग प्रोटोकल अगाडि बढ्नेबित्तिकै चार्टड फ्लाइट नै लैजाने तयारी गरेको बताइन्। उनले भनिन्, ‘आज नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले पनि उक्त निर्णय गरेको छ। खासमा रुटहरूको कुराभन्दा पनि सेक्युरिटी नै प्रमुख पाटो हो। इजरायलले त्यहाँ तिमीहरू फ्लाइट लिएर लिन आउन सक्छांै भन्नेबित्तिकै नेपाल सरकार तयारी अवस्थामै छ। प्रोटोकलका लागि उसले अनुमति दिनुपर्ने हुन्छ।’

कतिबेला इजरायल सरकारले अनुमति दिन्छ भन्ने अवस्थामा नेपाल सरकार तयारीमा रहेको जानकारी दिँदै भनिन्, ‘अरू कुनै प्राविधिक समस्या छैन। यो घटना विश्वले थाहा पाएकै घटना हो। अन्य देशको हकमा उद्धारको मात्र विषय हुनसक्छ। हाम्रो देशको हकमा १० जना नेपालीको मृत्यु नै भइसकेकाले इजरायलले कूटनीतिक विषयमा अभैm संवेदनशीलता अपनाएको हुनसक्छ। थप असुरक्षा नहोस् भन्नका निमित्त पनि विमानस्थन नखुलाइएको हुन सक्छ। यद्यपि नेपाल सरकार इजरायल सरकारको अनुमतिको पर्खाइमा छ।’ 

इजरायलस्थित एनआरएनए अध्यक्ष श्रीकृष्ण भण्डारी भने सोमबार बिहानसम्म दक्षिण क्षेत्रमा फसेका विद्यार्थीका कारण तनावपूर्ण अवस्था भए पनि सोमबार साँझ उनीहरूलाई सुरक्षित स्थानमा सारेपछि केही राहत भएको बताए। उनले भने, ‘यहाँ बसिराखेका नेपालीमा समस्या छैन। जति पनि नयाँ आउनुभयो उहाँहरू हामीलाई नेपाल तुरुन्त पठाइदिनुस् भन्नुभएको भएर समस्या भयो। इजरायलमा विमानस्थल सबै बन्द छन्।

लडाकु विमान मात्र एका दुई उडेका छन्। अहिले नेपालबाट विमान लिन आउने अवस्था छैन। अवस्था सामान्य भएपछि इजरायल सरकारले अनुमति देला त्यसका लागि हामी यहीबाट पनि १० वट शव नेपाल लैजान र नेपाल जान चाहने नेपालीलाई पठाउन लागि पर्नेछौं।’

सुरक्षित स्थानमा सारेपछि विद्यार्थी भन्छन्  :  अब बाँचिन्छ कि ?

आतंकवादी हमलाबाट उम्किएर बंकरमा बसेका विद्यार्थीलाई इजरायली सेनाले सोमबार सुरक्षित स्थानमा सारेको छ। सेना लिन आएपछि खुसी हुँदै नेपाली विद्यार्थी लुइस रिजालले भनेका छन्, ‘हामीलाई सुरक्षित स्थानमा लैजानका लागि सेनाको टोली आउनुभएको छ। हामी तेल अबिबको सुरक्षित स्थानमा जाँदैछौं। अब बाँचिन्छ कि भन्ने आस पलाएको छ।’ उनले अगाडि भनेका छन्, ‘अहिले तत्कालका लागि हामीलाई इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ। अब नेपाल सरकारले हामीलाई नेपाल लग्दिने व्यवस्था मिलाइदिओस्। किनभने अब यहाँ अरू देशले पनि आक्रमण गर्दैछन् भन्ने सुनेका छौं। त्यसैले पनि मन आत्तिएको छ एकदम। नेपाल सरकारले केही गर्ने नै छ भन्ने आशा छ। सबै राम्रै हुनेछ। हामी नेपालमै भेट्नेछौं।’ 

अर्का एक विद्यार्थीले पनि तेल अबिब पुगेपछि अन्नपूर्णसँग कुरा गर्दै भनेका छन्, ‘खुसीको समाचार छ। हामी सहज तरिकाले खान बस्न सकिने स्थानमा पुगेका छौं। हामीलाई नेपाली राजदूतावासको पहलमा इजरायली सेनाले यहाँ ल्याइपुुर्‍याएको छ। अब नेपाल सरकार पनि लिन आउला। भगवान्को भरोसामा अब बाँचिएला कि।’ 

इजरायली सेनाले स्कर्टिङ गरेर दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगेको छ। उनीहरूकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो। यो टोलीमा ४९ जना थिए। अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा राखिएको छ। ‘अहिले हामी २ वटा फार्ममा रहेका १३ जना साथीहरूलाई यहाँ ल्याएको छ। अरू साथीहरू आउने क्रममा छन्, उनले भने, ‘हामीहरू सुरक्षित छौं साथीहरूसँग बसेर कुराकानी गरिरहेका छौं।’ ‘हामी सबैलाई भेला गरेर तेल अबिब लैजाने तयारी भएको छ।’

सरकारले मृतकका परिवारलाई १० लाख दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए। बैठकले दिवंगत भएका नेपालीहरूप्रतिको शोकमा २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ। 

बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउनमा लाग्ने बताइन्। निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरूपप्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने। उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत निकासा दिने सरकारको निर्णय छ।

नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा नेपालीको खोजीमा तीव्रता दिने एवं घाइतेहरूको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने भनिएको छ। स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने भनिएको छ। स्वदेश फर्कन चाहने नेपालीलाई आफ्नो विवरण बुझाउन पनि भनिएको छ। अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरूलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने भनेको छ।

इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने पनि भनिएको छ। दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने, नेपाल फर्कन चाहने नेपालीहरूलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने भएको छ।

null

सिंहदरबारमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा सहभागी । तस्बिर : रासस 

नेपालीहरूको उद्धारका लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने भनिएको छ। उक्त घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरू जथाभावी पोस्ट नर्गन पनि सरकारले आह्वान गरेको छ। 

प्रदेश सरकारले २ लाख रुपैयाँ राहत दिने

प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रुपैयाँ राहत दिने भएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन्। मुख्यमन्त्री शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध गरिनुका साथै ज्यान गुमाउनेका परिवारलाई रकम दिने जनाइएको छ। १० जना नेपालीको ज्यान गएको थियो। ज्यान गुमाउनेमध्ये ७ जना सुदूरपश्चिम प्रदेशका छन्।

बंकरमा लुकेका विद्यार्थीलाई प्रधानमन्त्रीको भिडियोकल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा भएको हमासको आक्रमणमा परेर बंकरभित्र फसेका नेपाली विद्यार्थीसँग सोमबार दिउँसो कुरा गरेका छन्। दाहालले बंकरमा बसेका विद्यार्थी विपिन सुवेदीसँग कुरा गरेका हुन्। तिनै सुवेदीलै सोमबार बिहान सामाजिक सञ्जालमा आफूहरू बंकरमा भए पनि भोकभकै र असुरक्षित महसुस गरेकाले तुरुन्त सुरक्षित स्थानमा लगिदिन नेपाल सरकार लगायतलाई अनुरोध गर्दै भिडियो राखेका थिए। सुवेदीसँग भिडिओकलमा कुराकानी गर्दै उद्धारका लागि सरकारले पहल गरिरहेको र नआत्तिन पनि आग्रह गरेका छन्। 

प्रधानमन्त्रीले सुवेदीलाई त्यहाँ भएका सबै विद्यार्थीसँग समन्वय गर्न पनि भनेका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २९ गते इजरालय गएका ४९ जना विद्यार्थीमध्ये १० जनाको निधन भइसकेको छ।

प्रधानमन्त्री र विपिनबीचको फोन संवाद

प्रधानमन्त्री  :  सुदूरपश्चिमका सबै विद्यार्थीहरूको नेतृत्व गरेको तपाईंले हो ? तपाईंको मेरा स्वकीय सचिवसँग लगातार कुरा भइरहेको मैले थाहा पाएको छु। परराष्ट्रमन्त्रीजीसँग पनि कुरा भएको छ। हामी अस्ति रातिदेखि नै लगातार लागिरहेका छौं। क्याबिनेटको बैठकमा छलफल गर्छौं।

सर्वदलीय बैठकमा पनि बोलाइएको छ। राजदूतावासमा कुरा भइरहेको छ। अहिले परराष्ट्रमन्त्रीस्तरमा पनि कुरा भइरहेको छ। तपाईंले त्यहाँ विद्यार्थीसँग लगातार कम्युनिकेट गरिदिनुपर्‍यो।​​​​​​

विपिन :  सबै जनालाई भनिसकेका छौं। अहिले साढे १ घन्टामा एउटा तयारीमा अहिलेलाई चाहिने एकजोर कपडा र एउटा पासपोर्ट ब्यागमा हालेर रेडी भएर बस्ने र लोकेसन सेयर गरौं भने। हामीलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिनुस्।

प्रधानमन्त्री  :  लल हामी यहाँ गरिरहेका छौं। सक्रियताका साथ यहाँ गरिरहेका छौं।

तत्काल उद्धार गरियोस्  :  राष्ट्रपति 

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई दिइने राहतलगायतका विषयमा चासो राखेका छन्। राष्ट्रपतिले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकको अवस्थाबारे चासो व्यक्त गरेका थिए। उनले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

त्यसैगरी उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेका थिए। 

भर्खरै पुगेका नेपालीहरू बढी त्रसित  :  एनआरएन अध्यक्ष भण्डारी 

विशेषत :  केही समयअघि मात्र इजरायल गएका नेपालीहरू अहिले चिन्तित र त्रसित भएको एनआरएन अध्यक्ष श्रीकृष्ण भण्डारी बताउँछन्। लामो समयदेखि इजरायलमा रहेकाहरूलाई आक्रमणका बेलामा कसरी सुरक्षित हुने भन्ने ज्ञान छ। नयाँ आएकालाई थाहा नभएर हतास भएरै पनि आतंककारीको कब्जामा परेको भण्डारी भन्छन्।

‘अहिले दक्षिणी क्षेत्रमा मात्र अवस्था केही गाह्रो भएको हो त्यो पनि आक्रमण सुरु भएको दिनमा बढी थियो। अहिले कम छ। तर, उत्तरी क्षेत्रमा रहेका नेपालीहरू पनि आत्तिनुभएको छ। उहाँहरू भर्खरै आउनुभएको हो।’  भण्डारी नेपालबाट विद्यार्थी पठाउने बेलानै सुरक्षित रहने तरिका र सुरक्षा अवस्थाबारे अभिमुखीकरण दिएर मात्र पठाउनुपर्ने बताउँछन्। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.