कोसीको मुख्यमन्त्रीमा इन्द्र आङ्बो र केदार कार्कीको दाबी

कोसीको मुख्यमन्त्रीमा इन्द्र आङ्बो र केदार कार्कीको दाबी
प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्की। कार्की शेखर कोइराला पक्षधर हुन्।

विराटनगर : कोसी प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बो र केदार कार्कीले दाबी गरेका छन्। आङ्बो माओवादी प्रदेश संसदीय दलका नेता हुन्। 

दुवै जनाले बहुमत (४७) प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन्। गठबन्धनको बिहीबार काठमाडौंमा भएको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै विराटनगर आएर उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।
 

कार्की नेपाली कांग्रेसका प्रदेशसभा सदस्य हुन्। कांग्रेसको संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधर उनले नेकपा एमालेको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गरेका छन्। कांग्रेसका ८ जना प्रदेशसभा सदस्यले पनि उनलाई साथ दिएका छन्। 

गठबन्धनले मुख्यमन्त्री बनाउने निर्णय गरेपनि आङ्बोलाई कांग्रेसको संस्थापनइतरका प्रदेशसभा सदस्यले साथ नदिएको र उनीहरूले केदार कार्कीलाई समर्थन जनाएको बताइएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले धारा १६८ को उपधारा ५ बमोजिम भोलि अपरान्ह ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए। 

त्यसको एक दिनअघि नै मुख्यमन्त्रीमा दुई जनाबाट दाबी पेस भएको हो। उक्त उपधाराअन्तर्गत बहुमत पुर्‍याउनसक्ने जुनसुकै प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्रीमा दाबी गर्न पाउँछन्। यसमा पार्टीको ह्वीप नलाग्ने हुँदा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा समर्थन गर्दा स्वविवेक प्रयोग गर्न पाउने संवैधानिक व्यवस्था छ। 

त्यही व्यवस्थाका आधारमा कांग्रेसको इतर समूह तथा एमालेका प्रदेशसभा सदस्यको साथ लिएर कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। आङ्बोले पनि ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनले गठबन्धनमा रहेका कांग्रेससहित माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभाको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन्।
 
प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीका रूपमा कसलाई मान्यता दिन्छ भन्ने यकिन छैन। यसअघि एमालेसँगको गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ मुख्यमन्त्रीमा कसैलाई पनि समर्थन गरेको छैन। सरकार गठनका विषयमा निर्णय लिएर राप्रपाले शुक्रबार बिहानका लागि पदाधिकारी बैठक बोलाइएको थियो। राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पार्टीका तर्फबाट दुवै जनालाई समर्थन नगरिएको जानकारी दिए। 
 
प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले भने कांग्रेसका प्रदेशसभा सदस्य कार्कीलाई समर्थन गरेको छ। एमालेको प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेले मुख्यमन्त्रीमा कार्कीलाई साथ दिएको बताए। कार्कीलाई पार्टीको इतर समूहका सांसदहरू शमशेर राई, रामकुमार खत्री, लीला राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू र सुनीता गुरुङले साथ दिएका छन्। गयानन्द मण्डलले भने हस्ताक्षर गर्न नमानेको बताइएको छ।
 
कांग्रेसको इतर समूहले आङ्बोलाई स्वीकार नगरेपछि कोसीमा गठबन्धनको सरकार बन्ने सम्भावना लगभग सकिएको आंकलन गरिएको छ। कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ। गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य छन्। प्रदेशसभामा एमालेका उपसभामुखबाहेक ३९ र हालसम्म एमालेसँगै गठबन्धनमा रहेको राप्रपासँग ६ जना प्रदेशसभा सदस्य छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.