कोसीको मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुखको आनाकानी

कोसीको मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुखको आनाकानी
प्रदेश प्रमुख कार्यालयमा पुगेका सांसदहरू।
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशका प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिमा आनाकानी गरेका छन्। 

उनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिए थिए। समय घर्किदा पनि उनले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई अघि बढाएका छैनन्। प्रतिक्रियाविहीन बनेर आफ्नै कार्यकक्षमा बसिरहेका छन्। 

कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेको सार्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादीको प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको दाबी हिजै पेस भइसकेको छ। कार्कीले संवैधानिक व्यवस्थाअनुसार आधिकारिक हिसाबले मुख्यमन्त्री दाबी गरेपनि प्रदेश प्रमुखले नियुक्तिमा अलमल गरिरहेका हुन्। 

समय सकिँदा पनि मुख्यमन्त्री नियुक्त नगरेपछि प्रदेश प्रमुख खापुङलाई गठबन्धनबाट ग्रसित भएको आरोप लाग्न थालेको छ। कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा बहुमत पुर्‍याउँदै कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए। 
आङ्बोले पनि कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी ४ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गरेका हुन्। कार्कीलाई साथ दिएका सांसदको हस्ताक्षर दुरुपयोग गरेका आङ्बोको दाबी आधिकारिक हुन नसक्ने कानुनका विज्ञहरू बताउँछन्। त्यसो हुँदा बहुमत पुर्‍याएर मुख्यमन्त्री दाबी गरेका कार्कीलाई प्रदेश प्रमुखले नियुक्त गर्नुपर्ने हो। कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग राख्दै उनलाई समर्थन गरेका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेको पौने घण्टा भइसकेको छ। 

कार्की समर्थक सांसद प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिको प्रतीक्षा गरेर बसिरहे पनि प्रदेश प्रमुखले आनाकानी गरिरहेका हुन्। नियुक्तिको विषयलाई लिएर उनले केही भनेका पनि छैनन्। यसअघि उनले ५ बजेपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने बताएका थिए। 

कार्की समर्थक सांसदहरू आफूहरूको नाम र हस्ताक्षरसहित सशरीर उपस्थित छन्। उनीहरूले तत्काल मुख्यमन्त्री नियुक्तिको माग गर्दै दबाब बढाइरहेका छन्। उनीहरू प्रदेश प्रमुखको व्यवहारप्रति रुष्ट छन्। संविधान र सर्वोच्चको फैसलाबमोजिम संवैधानिक प्रक्रिया पूरा गरेर दाबी गरिएका कारण कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिनुपर्ने एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीको भनाइ छ।

समय सकिँदा पनि मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि नबढाएपछि सांसदहरू सशंकित हुनुपर्ने अवस्था आएको उनले बताए। कार्कीलाई समर्थन गर्ने सबै जना सशरीर उपस्थित हुँदा पनि प्रदेश प्रमुखले ढिलाइ गरेको भण्डारीले बताए। भने, ‘हुन त नियुक्तिको तयारी हुँदैछ होला। प्रक्रिया पूरा गर्न केही समय लागेको हुनसक्छ।’

प्रदेशमा ६ जना सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने नयाँ सरकार गठनका विषयलाई लिएर तटस्थ बसेको छ। मुख्यमन्त्री नियुक्तिमा ढिलाइ गरेपछि एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की र मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीलगायत प्रदेश प्रमुखसँग छलफलमा बसेका छन्। छलफल भर्खर सुरु भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.