पक्की विद्यालय भवन निर्माणले पठनपाठनमा सहज
भोजपुर : भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ। पौवादुङमा गाउँपालिका-३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहज भएको हो।
नेपाल सरकार तथा साउदी अरब सरकारको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो। १२ कोठा रहेको भवन भ्याटबाहेक तीन करोड २४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको छ। भवन निर्माणका लागि पाँच करोड रुपैयाँको बोलपत्र आह्वान भएको थियो।
प्रधानाध्यापक रामकुमार राईले भूकम्पबाट जीर्ण बनेको भवनको ठाउँमा नयाँ भवन बनेपछि सहजता भएको विद्यालयका बताए। भवन निर्माणले भावी दिनमा विद्यालयको शैक्षिक सुधारका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न ऊर्जा मिलेको उनको भनाइ छ।
नवनिर्मित विद्यालय भवनको गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरे। गाउँपालिका अध्यक्ष राईले धेरै समयको अथक प्रयासपछि नमुना भवन निर्माण गर्न सफल भएको बताए।
गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्ध रूपमा काम भइरहेकाले यसबाट गुणात्मक परिणाम लिन सबै जिम्मेवार बन्नुपर्ने आवश्यक रहेको अध्यक्ष राईले बताए। गाउँपालिकाले प्राविधिकसँगै आधुनिक शिक्षामा जोड दिएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !