कोसी प्रदेशमा रगतको अभाव
विराटनगर : चाडपर्वको चटारोसँगै कोशी प्रदेशमा रगतको अभाव भएको छ। प्रदेशका सबैजसो रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक)मा दसैंयता रगत पाउन छाडिएको हो।
सबै समूहका रगतको मौज्दात सकिएको छ। रगतको अभाव हुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने बिरामीहरु मर्कामा परेका छन्। स्वास्थ्य संस्थामा रगत आवश्यक पर्ने बिरामीको चाप बढेको छ।
प्रदेश राजधानी विराटनगरस्थित कोशी अस्पतालकी सूचना अधिकारी इन्दिरा यादवले रगतको अभाव हुँदा बिरामी समस्यामा पर्न थालेको बताइन्। रगत आवश्यक पर्ने बिरामीको संख्या बढेको र त्योअनुसारको आपूर्ति हुन नसक्दा अभाव भएको उनको भनाइ छ। यादवका अनुसार रक्तदानको नियमित व्यवस्था नगरिए संकट बढ्दै जाने देखिन्छ।
प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादव माग अत्यधिक बढ्दा रगतको अभाव खड्किएको बताउँछन्। ‘रगत आवश्यक पर्ने बिरामी बढेसँगै माग धेरै हुन थाल्यो। त्यसअनुसार आपूर्ति गर्न सकिएको छैन,’ उनले भने, ‘चाडपर्व र लामो बिदा भएका बेला सधैं यस्तै हो। चाडपर्वमा यो वर्ष पनि रगतको अभाव भयो।’
चाडपर्वका समयमा सार्वजनिक हिसाबले रक्तदान कार्यक्रम र शिविरको आयोजना नहुँदा तथा संकलनमा कमी हुँदा रगतको अभाव भएको यादव बताउँछन्। दसैंपछि प्रदेशभरि नै रक्तदान कार्यक्रम भएको छैन।
‘मागअनुसार रगतको आपूर्ति गर्न नसक्दा बिरामीले सहज उपचार पाउन सकिरहेका छैनन्,’ उनले भने, ‘मागको तुलनामा आपूर्तिलाई सहज बनाउन सकिएन।’ बिरामीका आफन्त, सम्पर्कमा आएका व्यक्ति र स्वयंसेवी रक्तदाताबाट मुस्किलले रगतको व्यवस्था गर्नुपर्ने अवस्था रहेको यादव बताउँछन्। प्रदेशमा दैनिक एक सय ६० पिन्टभन्दा बढी रगतको माग रहेको र आपूर्ति भने मुस्किलले ६० पिन्टजति हुने गरेको उनको भनाइ छ।
‘अहिले चाडपर्वको सिजन भएकाले संघ संस्थाहरुले रक्तदानको आयोजना गरेका छैनन्,’ उनी भन्छन्, ‘रगत दिनेभन्दा लिनेको संख्या धेरै हुँदा अवस्था जटिल बनेको हो।’ तर, तिहारलाई लक्षित गरेर आगामी शनिबारदेखि ३-४ वटाजति रक्तदान कार्यक्रम राखिएको र छठ पर्वपछि रगतको उपलब्धता सहज हुने उनले बताए। उनका अनुसार कोशी प्रदेशमा १० वटाजति ब्लड बैंक छन्। सबैमा अभाव हुँदा रगतको माग धान्न मुस्किल परिरहेको यादव बताउँछन्। नियमित रगत दिनुपर्ने बिरामीले समेत पाउन नसकिरहेको बताउँदै उनले चाडपर्व सकिएपछि आपूर्ति सहज हुने जानकारी दिए।
प्रदेश राजधानी विराटनगरका ठूला र सुविधा सम्पन्न अस्पतालमा कोशीसहित मधेस प्रदेश र भारतबाट बिरामी उपचारका लागि आउँछन्। ब्लड बैंकहरुमा अभाव हुँदा बिरामीले रगतका लागि आफन्त, सम्पर्कमा भएका व्यक्ति र सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था छ।
रगत अभावका कारण बिरामीलाई बचाउन मुस्किल परिरहेको बताउँदै यादवले अभाव टार्न व्यक्तिगत पहलमा रक्तदान गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे।
उनले भने, ‘विराटनगरमा मात्रै दैनिक ५५ पिन्टभन्दा बढी रगतको माग छ । अन्यत्रबाट पनि रेफर भएर उपचारका लागि आउने हुँदा बिरामीको चाप बढ्दा विराटनगरमा रगतको माग उच्च हुन्छ।’ विभिन्न ३ सयजति संघ संस्थाले वार्षिक कार्यक्रम बनाएरै रक्तदान कार्यक्रम गर्ने गरेपनि चाडपर्वका बेला सधैं रगतको अभाव हुने यादवले बताए।
संकटमा सुरक्षाकर्मीकै भर
ब्लड बैंकमा पाउन छाडेपछि कतिपय बिरामीका आफन्तले रगतका लागि सुरक्षाकर्मीलाई गुहार्न थालेका छन्। संकटका बेला रगतको अपेक्षा गरेर बिरामीका आफन्त नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीलगायतका निकायको सम्पर्कमा पुग्ने गरेका हुन्। सुरक्षाकर्मीले तत्काल उपलब्ध गराउने रगतले बिरामीको ज्यान बच्ने गरेको छ।
‘बिरामीलाई रगत आवश्यक पर्यो भनेर बारम्बार फोन आउने गरेको छ,’ प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला भन्छन्, ‘मिल्दोजुल्दो समूहको रगत भएका प्रहरी खोजेर तत्काल बिरामीका आफन्तको सम्पर्कमा पठाउने गरिएको छ।’ उनका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६८ औं प्रहरी दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। विराटनगरमा असोज २६ गते गरिएको रक्तदानमा एक सय छ पिन्ट रगत संकलन भयो । प्रदेशका १४ वटै जिल्लामा रक्तदान आयोजना गरिएको र संकलित रगत ब्लड बैंकलाई हस्तान्तरण गरिएको डीआईजी बास्तोला बताउँछन्।
उनका अनुसार एकै ठाउँमा ठूलो संख्या र समूहमा बस्ने भएकाले तत्काल पाउन सकिने हुँदा सुरक्षाकर्मीलाई रगतका लागि गुहार्नु स्वभाविक हो। ‘जीवन रक्षाका लागि अति नै आवश्यक पर्ने रगतमा सर्वसाधारण सुरक्षाकर्मीकै भर पर्छन्,’ बास्तोलाले भने।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल खोजी गरेका बेला आवश्यक परेको समूहसँग मेल खाने रगत भएका कोही न कोही भेटिने भएकाले रगत अभाव हुँदा सर्वसाधारणले सुरक्षाकर्मीलाई सम्झिने गरेको बताउँछन्। ‘सम्बन्धित निकायमा रगतको अभाव भएमा सर्वसाधारणले सुरक्षाकर्मीको खोजी गर्छन्,’ उनले भने, ‘त्यहाँबाट तत्काल समस्या समाधनको सम्भावना धेरै हुन्छ।’
रगतको अभाव हुँदा सुरक्षाकर्मीबाटै भरथेग हुन्छभन्ने अपेक्षा सर्वसाधारणले गर्ने गरेको एसपी पोखरेलको भनाइ छ। ‘संकटका बेला सुरक्षाकर्मीबाटै भरथेग हुने अपेक्षा गरेर सर्वसाधारणले सम्झनु स्वभाविक हो। त्यसका लागि सहजीकरण पनि गर्ने गरिन्छ,’ उनले भने, ‘पहिलो त मानिसको जीवन बचाउने कुरा नै ठूलो हो। संकटका बेला सुरक्षाकर्मीले नै साथ दिने हो।’
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल मानवीय सेवाका हिसाबले बिरामीको ज्यान बचाउनलाई रगत दिएर सहयोग गर्ने गरिएको बताउँछन्। रगतका लागि बारम्बार फोन आउने गरेको र मेलखाने रगत भएकाको खोजी गरेर बिरामीको सम्पर्कमा पठाउने गरिएको उनको भनाइ छ। रगतको अभाव समाधान गर्न सबैलाई रक्तदानका लागि प्रेरित गर्नुपर्ने सशस्त्रका डीआईजी पोखरेलले बताए। भने, ‘रगत अभावको समस्या समाधानका लागि व्यक्ति तथा संघ संस्थाले सक्रियता बढाउनुपर्छ । संस्थागत रक्तदानमा कमी आउन दिन हुँदैन।’
प्रतिक्रिया दिनुहोस !