विराटनगरको पशुपति ज्वेलर्समा छापा, ठूलो परिणाममा अवैध गरगहना बरामद
विराटनगर : विराटनगर महानगरपालिका–११ पिचरास्थित पशुपति ज्वेलर्स (सुन–चाँदी पसल)मा बिहीबार दिउँसो सरकारी टोलीले छापा हानेको छ।
भारतबाट भन्सार छली गरेर ल्याइएका सुन–चाँदीका गहना एवं सामग्री बिक्री गर्ने गरेको गोप्य सूचनाका आधारमा विराटनगरस्थित प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले छापा हानेको हो।
विश्वजीत जानाले सञ्चालन गर्दै आएको ज्वेलर्समा छापा हान्दा ठूलो परिणाममा चाँदीका गहना बरामद भएको टोलीका एक सदस्यले बताए। उनका अनुसार चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, लोहोटा, मूर्ति, टीकादानीलगायतका सामग्री एवं गरगहना बरामद भएको छ।
केही परिणाममा सुनका गहना पनि बरामद भएको जनाइएको छ। बरामद भएका सामग्री एवं गरगहना अन्दाजी १५ देखि २० किलो बराबरको रहेको हुनसक्ने अनुमान गरिएको छ। बट्टासहितको सामग्रीले ५ वटा बोरा भरिएको र तौल लिएपछि परिणाम यकिन हुने जनाइएको छ। सबै सामान आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा लगिएको छ।
कार्यालयका अनुसार पसलमा छापा हान्दा बिल बीजक फेला नपरेपछि चाँदी तथा सुनका सामग्री र गरगहना बरामद गरिएको हो। चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक विश्वजीत जानालाई पनि पक्राउ गरिएको छ।
जानले भारतबाट भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै आफ्नो ज्वेलर्समा राख्ने र विराटनगर, इनरुवा, धरान, इटहरी, विराटचोक, उर्लाबारी, दमक, बिर्तामोडलगायत पूर्वका विभिन्न सहरमा ‘सप्लाई’ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। स्रोतका अनुसार उनको ज्वलेर्सबाट सबैभन्दा बढी सुन–चाँदीका तयारी मालवस्तु विराटनगरका विभिन्न पसलमा पुग्ने गरेको थियो।
जानको ज्वेलर्समा छापा हान्नेवित्तिकै विराटनगरका केही ज्वेलर्स सञ्चालकहरू आफ्नो पसल बन्द गरेर भागेको बताइएको छ। ‘पशुपति ज्वलेर्समा छापा हान्नासाथ जानाबाट सबै कुरा खुल्ने भएपछि केही सञ्चालक आफ्नो ज्वेलर्स बन्द गरेर फरार भएका छन्,’ स्रोतले भन्यो, ‘यसले भारतबाट अवैध हिसाबले जानाले ल्याएको सुन–चाँदी विभिन्न ज्वेलर्समा पुग्ने गरेको थियो भन्ने पुष्टि हुन्छ।’ सरकारी टोलीले पसल बन्द गरेर फरार भएका ज्वेलर्स सञ्चालकहरूको खोजी भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !