कांग्रेस महासमिति बैठक सर्यो, मंसिर २९ देखि पुस २ सम्म हुने
काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर २९ गते देखि महासमिति बैठक सुरू हुने निर्णय गरेको हो।
बैठकका निर्यणहरू सार्वजनिक गर्दै नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्माले यसअघि मंसिर १३ र १५ बस्ने भनिएको महासमिति बैठक मंसिर २९ गतेदेखि सुरू हुने बताए।
उनले जाजरकोट र रुकम पश्चिममा भूकम्प प्रभावितहरूको राहत र उद्दारमा खटिनुपर्ने भएका बैठक सारिएको बताए। उनले भने, 'औपचारिक कार्यक्रमहरू तिहार अगाडि नगर्ने भनिएपछि महासमितिसँग जोडिएका कामहरू प्रभावित हुने भएपछि मंसिरको १३ र १५ गते हुने भनिएको बैठक मंसिर २९, ३० र पुस १ , २ गते गोदाबारीमा गर्ने निर्णय भएको छ।'
बैठक यसअघि मंसिर १३ देखि १५ गतेका लागि तोकिएको थियो।
यस्तै बैठकले भूकम्पबाट प्रभावितहरूलाई तत्काल उद्दार,राहत र पुनरस्थापनाका लागि गम्भीररुपमा सरकारको ध्यानाकर्ष गराउने निर्णय गरेको उनले बताए। भूकम्प क्षेत्र अवलोकनसहित काम गर्न महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ।
बैठकले भूकम्प प्रभावितहरूका लागि पार्टी सदस्यहरूले जम्मा गरेको कोषबाट दिने भनिएको ५० लाख रुपैयाँ अनुमोदन गरेको छ। पार्टी संगठनभित्रका सम्पूर्ण पदाधिकारी,सदस्य र प्रतिनिधिहरूलाई पार्टीको विपत व्यवस्थापना कोषमा रकम जम्मा गर्नका लागि अपिल गर्ने बैठकले निर्णय गरेको छ।