जबर्जस्ती गर्ने पत्रकारलाई प्रेस काउन्सिलको सोधपुछ
काठमाडौं : पत्रकार आचारसंहिता विपरीत प्रस्तुत भएको भन्दै प्रेस काउन्सिलले एक टेलिभिजन पत्रकारलाई सोधपुछ गरेको छ।
स्पेस फोके टेलिभिजनका पत्रकार कपिल शाहीले रिपोर्टिङ गर्ने क्रममा सरकारी कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेपछि काउन्सिलले उनीसँग सोधपुछ गरेको हो। रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारबाही हुनुपर्ने आवाजसमेत उठेको थियो।
काउन्सिलले उक्त विवादास्पद् कार्यक्रम सार्वजनिक गरेलगत्तै शाहीलाई कार्यालयमा बोलाएको थियो। उनी काठमाडौं उपत्यका बाहिर भएकाले सोमबार उपस्थित भएका थिए।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट् नहुने भन्दै मर्यादित र जिम्मेवार हुन आग्रह गरेका थिए। काउन्सिलले पछिल्लो समय अनलाइनमार्फत् चल्ने टेलिभिजन र युट्युब च्यानललाई विशेष निगरानी गर्दै आएको छ।
पत्रकार शाहीले आफ्नो गल्ती स्वीकार्दै अबदेखि नदोहोर्याउने प्रतिवद्धतासहित माफी मागेको काउन्सिलले जानकारी दिएको छ। काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्वासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहोरासहितले विभिन्न प्रश्न सोध्दै सचेत गराएका थिए।
प्रतिक्रिया दिनुहोस !