जाजरकोट भूकम्प : २० दिने शिशुसहित ८० बालबालिकाको मृत्यु
![जाजरकोट भूकम्प : २० दिने शिशुसहित ८० बालबालिकाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/jajarkot-earthqueake_y2qYocET3A_H9YVMduy25.jpg)
जाजरकोट : जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउने १ सय ५३ जनाको पृष्टि भएको छ। भूकम्पमा २० दिने शिशुदेखि ८३ वर्षसम्मका जेष्ठ नागरिकले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार ९७ महिला र ५६ पुरुष गरी १ सय ५३ जनाको मृत्यु भएको हो ।
जाजरकोटमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा हालसम्म ८० बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ बालक र ३८ बालिका रहेका छन्।
त्यस्तै ६० वर्ष माथिका ८ जना पुरुष र १३ जना महिलाको ज्यान गएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका- १४ मा २० दिने शिशुसहित ८३ वर्षीय वृद्धको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार २९ जना बालक र २२ जना बालिकाको भूकम्पमा ज्यान गएको छ। यस्तै रुकुमपश्चिममा भने २९ जना बालबालिकाको ज्यान गएको छ। रुकुमपश्चिममा जम्मा ५२ जनाको ज्यान गएकोमा ३१ जना बालबालिका छन्।
भूकम्पमा परी ठूलो संख्यामा बालबालिका घाइते भएका छन्। यद्यपि घाइते भएका बालबालिकाहरूको यकिन तथ्यांक आउन सकेको छैन। तर,उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले भने भूकम्पमा घाइते भएकाहरूमा आधाभन्दा धेरै बालबालिकाहरू नै भएको बताएका छन्।
बालबालिकामा मानसिक समस्या देखिन थालेपछि सरोकारवालाहरूले तत्काल परामर्श आवश्यक रहेको बताएका छन्। भूकम्पका कारण बालबालिकामा डराउने,त्रसित हुने,टोलाउने, झस्किने र बर्बराउने समस्या देखिएको भन्दै उनीहरूले तत्काल मनोपरामर्श सेवा उपलब्ध नभए गम्भीर मानसिक समस्या उत्पन्न हुने बताएका हुन्।
भूकम्पमा परी करिब २ सय बढी मानिस घाइते भएका छन्। हजारौं भौतिक संरचनामा ठूलो क्षति भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)