![सम्झिनसक्नु छ भूकम्पको बज्रपात](https://annapurnapost.prixacdn.net/media/albums/ganesh-malla_RK3NZ715wS_uCHT6frg4s.jpg)
कात्तिक १७ गते साँझको खाना बेलैमा खाइयो। खानापछि दुःखसुखका कुराकानी गरेर सुत्न गयौं। छोराको साथी पनि घरमा आएका थिए। उनीहरू पनि कोठातर्फ गए। छोरीहरू पनि सुत्न गए।
हामी सबै मध्यरातको मस्त निन्द्रामा थियौं। एक्कासि घर हल्लियो। बीचको तलामा सुतेका हामी निन्द्राबाट ब्युँझिएर ढोका खोलेर भाग्नसमेत पाएनौं। सबै घरभित्रै पुरियौँ। छरछिमेकीले हामीलाई पुरिएको घरबाट निकालेछन्। मलाई बेहोस अवस्थामै हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको रहेछ। होस खुल्दा अस्पतालको शय्यामा थिएँ। मेरा मुटुका टुक्राहरू दुई छोरी बितेछन् होस खुलेपछि थाहा पाएँ। घर तहसनहस छ। भूकम्पले घर ढलाउँदा दुई छोरी १३ वर्षीया चन्द्रकला र १५ वर्षीया प्रेमासँगै छोराको साथी पनि बिते। छोरा र जहान पनि घाइते छन्। उनीहरूको गाउँमै उपचार भयो।
हामीलाई कहिल्यै नसोचेको बज्रपात आइलाग्यो। त्यस दिन सम्झिन सक्दिन। छरछिमेकीले उद्धार गरेर भाग्यले बाँचेछु। छोरीहरू गुमाउनुको पीडाले मन थाम्न सकिरहेको छैन। घर तहसनहस छ। ढाडमा समस्या देखिएको छ। अब त बाँच्ने कुनै आधार पनि देख्दिनँ। त्यस रातलाई सम्झन पनि सक्दिनँ। अहिले अस्पतालको शय्यामा छु। भूकम्पको त्रास छ। बेलाबेला तर्सिन्छु।
छोरीहरू गुमाएको पीर एकातिर छ, उता गाउँमा जहान र छोरा कसरी बसेका होलान् भन्ने चिन्ता उत्तिकै छ। अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै पुरिएका छन्। जाहन र छोराले के खाए होलान् ? गाउँमा खोइ कसले हो एउटा पाल दिएको छ भन्ने सुनेको छु। राहतको सही सदुपयोग भएको छैन। सरकारले दिने आर्थिक सहायता बढाएर घर बनाइदिनेमा आशावादी छु।
(आठबिसकोट नगरपालिका–१४ ज्यामिरेकोट रुकुमपश्चिमका ३८ वर्षीय गणेश मल्ल हाल कर्णाली प्रदेश अस्पतालमा उपचाररत छन्।)
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)