जनकपुरमा तिहारको रौनक : माटोका भाँडा बिक्री गर्न भ्याइनभ्याइ

जनकपुरधाम : नेपाली हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहार सुरू भएको छ। यतिबेला तिहारका लागि किनमेलका लागि मधेशका बजारमा भीडभाड बढेको छ। मधेशको राजधानी जनकपुरधामको बजारमा लक्ष्मी पूजाको किनमेल गर्नेको घुइँचो लागेको छ ।
मधेशमा दिपावली र लक्ष्मीपूजा निक्कै धुमधामका साथ मनाइन्छ । जनकपुरधामको बजारमा दिपावली र लक्ष्मी पूजालाई चाहिने सरसामान किनमेल गर्नेहरुको चहल पहल बढेको हो । दिपावली र लक्ष्मीपूजालाई लक्षित गरी झिलीमिली बत्ती, माटोका दियो र कलश,देवी लक्ष्मीको मूर्ति र तस्बिर, फूलमाला,पूजन सामगीले बजार सजिएको छ। मिठाइ पसलमा पनि ग्राहकको चहल पहल बढेको छ।
माटोको भाँडाकुँडा बनाउँदै आएकी जनकपुरधाम बसहियाकी रानी पण्डितले दिपावलीको दिन दियो,ढक्ना,घैला जस्ता तिहार लक्षित सामग्री बेच्न आएकी छन् । दिपावलीलाई मध्यनजर गर्दै पण्डितले दिपावलीमा हरेक घरमा चाहिने दियो ढक्ना,खपरीलगायतका माटाका सामान लिएर जनकपुरधामस्थित पेठिया बजार पुगेकी छन्।
प्रायः श्रममजदुरी गरेर जिविकोपार्जन गर्दै आएकी पण्डित एक महिनाअघिदेखि गाउँघरमा ज्याला मजदुरी छोडेर आफनो पुर्ख्यौली पेशा माटोको भाँडाकुँडा बनाएकी हुन्। दिपावली तथा छठ पर्वमा विशेषगरी प्रयोग हुने माटोको भाँडाकुँडाको माग ह्वातै बढ्ने गरेको पण्डितको भनाइ छ ।
उनले भनिन्, ‘दशैंअघि देखि नै अरु सबै काम छोडि माटोको भाँडाकुँडा बनाउनमा व्यस्त छु । उज्ज्यालोको पर्व दिपावलीमा हरेक घरमा माटोको दियो बनाएर पुर्याउने गरेको छु । दिपावली र छठ पर्वमा माटोले बनेका भाँडाकँडा नभइ हुँदैन ।’
दिपावली नजिकिएसँगै जनकपुर कपिलेश्वर महुवाकी पिंकी पण्डितले दैनिक ५ देखि १० हजार रुपैयाँसम्मको माटोको दियो बिक्री गर्ने गरेको बताए । दुई रुपैयाँमा माटोको दियो बिक्री हुने गरेको छ । यस्तै माटोबाट बनेको ढक्ना भने प्रति गोटा ५० रुपैयाँमा बिक्री हुन्छ भने खपरी ३० देखि ५० रुपैयाँसम्ममा पनि बिक्री हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
