छठको व्यापकता

छठ पर्व एक, महत्त्व अनेक

छठ पर्व एक, महत्त्व अनेक
छठका लागि सजाइएको वीरगन्जस्थित घडीअर्वा पोखरी। तस्बिर : क्रान्ति साह

पर्वहरूको मौलिकता गुम्दै गएको छ तर छठ पर्व त्योभन्दा टाढै छ। यो खुसीको कुरो हो। तर, पछिल्लो समय महँगीले भने पर्व मनाउनेहरूलाई समस्यामा पारेको छ। छठघाटमा ठूलो आवाजमा गीत–संगीत बजाउँदा ध्वनि प्रदूषण भइरहेको पाइन्छ।

(बिजलपुरा) महोत्तरी : छठ, आस्था र विश्वास मात्र होइन, सद्भावको पर्व हो। विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो। आजभोलि यसको व्यापकता बढ्दै स्वदेशमा मात्र होइन, सात समुद्रपारि पनि मनाउन थालिएको छ। जताततै छठको रौनक छ। अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ। छठ एक महत्त्वपूर्ण पर्व हो, तर यसका महत्त्व अनेक छन्।

१.सांकृतिक पर्व 

छठ पर्वले सांस्कृतिक रूपमा विशिष्ट स्थान ओगटेको छ। संस्कृति मानवीय जीवनपद्धति हो। मान्छेले धारण गर्ने वस्त्र हो। उसको खानपान हो। अर्थात् मानव जीवनको सबथोक हो। नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रज्ञासभा सदस्य एवं संस्कृतिविद् धीरेन्द्र प्रेमर्षि संस्कृति मानव जीवन पद्धति भएको बताउँछन्। ‘छठ पर्वले यसलाई राम्रोसँग प्रतिविम्बित गरेको छ,’ उनले भने। 

कृषि उत्पादन, सामाजिक रहनसहन र सभ्यताका पक्षलाई एकैसाथ छठले प्रतिविम्बित गरेको संस्कृतिविद् प्रेमर्षि बताउँछन्। कर्णप्रिय छठको गीतले सबैलाई मन्त्रमुग्ध बनाइदिन्छ। मनमनमा भक्तिभाव जगाइदिन्छ। जनजनमा ऊर्जा भरिदिन्छ। सामाजिक एकता, सद्भाव र सहिष्णुताको कसिलाई चट्टान झै बलियो बनाइदिन्छ। अनि सबै घरघरबाट, बस्ती बस्तीबाट लामबद्ध हुँदै पूजा सामग्रीसहित एकाकार हुन्छन्, छठीघाटमा। जलाशयमा उभिन्छन्। पूजा सामग्री हातमा राखेर अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। बिहानपख  उदाउँदो सूर्यलाई अर्घदिन्छन्। छठीमाईको महिमा गाउँदै आराधना गरिन्छ। 

२.कृषि प्रदर्शनीको पर्व

छठले किसानको परिश्रमलाई सम्मान गर्छ। कृषिउपजलाई प्रसादका रूपमा स्वीकार गरेको छ। झन्डै ७२ प्रकारका कृषिउपजको छठ पूजामा प्रयोग गरिन्छ। यसले हराउँदै गएको नेपालको कृषि उत्पादनको पहिचानलाई पुनरावृत्ति गराउँछ। छठ सुरु हुनु अघिदेखि नै ठेकुवाका लागि बजारमा गहुँ, चामल, सक्खरको खोजी हुन थाल्छ। नरिवल, बाँसका ढाकी, सुपलीको जोडजाम गरिन्छ।

गबडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, स्याउ, सुन्तला, सक्खर (मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गर्छ। छठ पर्वले नेपालको कृषि पहिचानलाई जगेर्ना गरेको राष्ट्रिय बाली प्रजनन् तथा आनुवंशिक  अनुसन्धान केन्द्र खुमलटारका कृषि वैज्ञानिक डा. उज्जवल कुशवाह बताउँछन्। ‘स्थानीय कृषि उत्पादनलाई छठको प्रसादका रूपमा प्रयोग गरिन्छ,’ उनी भन्छन्, ‘उखु, चामल, केरा जस्ता दर्जनौं कृषिउपजले छठमा मुख्य स्थान पाउँछन्।’ 

छठमा सूर्यको पूजा हुन्छ। सूर्य शक्तिको प्रतीक हो। सारा संसार यसैको आधारमा चलिरहेको छ। कृषि उत्पादनको सबै प्रक्रिया सूर्यको प्रकाशबाट सञ्चालित छन्। प्रकाशकै संश्लेषणबाट बिरुवाले खाना बनाउँछ। डा. कुशवाह भन्छन्, ‘छठ प्रकृतिको पूजा मात्रै होइन् शक्तिको उपासना पनि हो।’ 

प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवन सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक उत्पादन चढाउनुले पुष्टि गरेको छ। ‘छठमा प्रसादका रूपमा जे जति कृषि सामग्री प्रयोग हुन्छन्। ती हाम्रा खेतबारीकै उत्पादन हुन्छन्,’ संस्कृतिविद् प्रेमर्षि भन्छन्,  भान्टा, मुला उखु, अदुवा, केराउ।

यसपर्वको खानपिन वातावरणमैत्री पनि छ। गर्मीको बिदाइ र शरद ऋतुको स्वागतको बेला छठ पर्व मनाइन्छ।

यस्तै चिजवस्तुलाई प्रसादका रूपमा छठी मातालाई चढाइन्छ यो पर्वले देखावटी परिपाटीलाई पूर्वरूपमा निषेध गरेको छ।’ छठ पर्वमा किसानले आफ्नो बारीमा फलाएका कृषि उपजको प्रदर्शनी गर्ने गरेको उनी बताउँछन्। ‘कसको बारेमा के फलेको छ ? के उब्जिएको छ भन्न् कुरा छठीघाटमा राखिएको पूजासामग्रीबाट सबैले थाहा पाउँछन्,’ प्रेमर्षि भन्छन्। 

३. प्रकृतिको पूजा

मानव र प्रकृतिबीचको सम्बन्धलाई जोड्ने सेतु हो, छठ पर्व। मानव र प्रकृतिबीच हराउँदै र बिलाउँदै गएको सम्बन्धले जलवायु संकट बढ्दै छ। हिमाल पग्लिँदै छ, समुद्र अग्लिँदै छ। तापक्रमको ग्राफ उकालो लाग्दो छ। यो संकट निवारण गर्नका लागि छठ पर्वले मानवलाई प्रतिकात्मक सन्देश दिन्छ।

सचेत गराउँछ। चुरे विज्ञ डा. विजयकुमार सिंहका अनुसार तराईको उर्बर फाँटको सिञ्चाइको स्रोत चुरे हो। किन भने चुरे पानीको भण्डार हो भने तराई अन्नको भकारी हो। छठ पर्व गर्नु भनेको चुरेको संरक्षण अर्थात् प्रकृतिको पूजा पनि हो। मिथिला र मधेसबाट विश्वभरि छठ फैलिएको छ। पुर्खाहरूले यसैकारण पनि छठ सुरु गरेको उनी सुनाउँछन्। ‘चुरेको विनाशले मधेमा पानीका मुहान सुकिरहेका छन्। खेतहरू बाँझो हुन थालेका छन्,’ उनी भन्छन्, ‘चुरे दोहनले छठ पर्वको अस्तित्व संकटमा पर्न थालेको छ।’ जलाशयमा उभिएर सूर्यलाई अर्घ दिन्छ। तर, जलाशय पोखरी एवं नदीहरू सुक्न थालेको उनी बताउँछन्। 

मानव प्रकृतिको सामिप्यमा रहन चाहन्छन्। तर, यसको संरक्षणमा मानव जाति चुकिरहेको छ।  मानवलाई प्रकृतिसँग नजिक हुने अवसर छठले प्रदान गर्ने गरेको कृषि वैज्ञानिक डा. कुशवाहको भनाइ छ। मानिसहरू आफ्ना काममा व्यस्त छन्। प्यास लाग्छ पानी खोज्छन्, भोक लाग्दा खाना खोज्छन्। तर, यसको उत्पादन कहाँबाट हुन्छ त्यस बारेमा खासै ध्यान दिँदैनन्। छठ जस्ता पर्वले प्रकृति र मानवबीचको हराउँदै गएको सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको उनको भनाइ छ। उनी थप्छन्, ‘मानवले आफूलाई प्रकृतिमा समाहित गर्न चाहन्छ। आफूलाई शुद्ध र पूर्णहोस् भन्ने कामना गर्छ।’

संयुक्त राष्ट्रसंघ (यूएन) ले दिगो विकासको लक्ष्यमा प्रकृति, कृषि लगायतलाई समेटेको छ। यसको मूल उद्देश्य हावा, पानी, माटो, कृषि उत्पादन सबै स्वच्छ र सफा होस् भन्ने परिकल्पना गरिएको छ। डा. कुशवाह भन्छन्, ‘यूएनले यो लक्ष्य लिएको धेरै भएको छैन। तर, हाम्रा पुर्खाले हजारौं वर्षअघि नै दीर्घजीवनका लागि प्राकृतिक संरक्षणका लागि छठ पर्व मनाउन सुरु गरेका थिए। प्रकृति पूजाको एक माध्यम हो छठ।’

आधुनिकताको दौडले सहरहरू कंक्रिट बन्दै छन्। मानिसहरू प्रकृतिभन्दा धेरै टाढा भइरहेका छन्। यसले छठको महत्व र महिमालाई अझै बढाइदिएको छ। छठको मूल मर्म नै हो– प्रकृतिले मानव जाति सबथोक दिएको छ। मानवले यसलाई सदुपयोग गर्दै नयाँ पुस्तालाई उपहारको प्रकृतिलाई दिनुपर्छ।

४.सामाजिक एकता 

छठ पर्व मनाउने सनातन धर्मावलम्बीबीच विविधता छ। समुदायगत, जातिगत, भाषागत भिन्नता पनि उस्तै छन्। तर, यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै वैमनस्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन। संस्कृतिविद् प्रेमर्षि भन्छन्, ‘कुनै समय हिन्दुहरूले मात्रै मनाउँदै आएको छठ अब त मुस्लिमहरूले पनि मनाउन थालेका छन्।’

महोत्तरीको बर्दिबासका ६८ वर्षीय शंकर थापाले पछिल्लो १५ वर्षदेखि छठ पर्वलाई नजिकबाट नियाली रहेका छन्। छठ घाटको मनमोहक दृश्यले मोहित बनाउने गरेको उनी बताउँछन्। ‘सबै जातिका मानिसहरू मिलेर छठ मनाएको देख्दा मनमा शान्तिको अनुभूति हुन्छ। यसले  एकताको सन्देश दिन्छ’, चार दशकदेखि बर्दिबास चोकमा चिया पसल सञ्चालन गरिरहेका थापा थन्छन्, ‘छठघाटमा पुग्दा हेरौं–हेरौं लाग्छ। मेरो लागि यो त विशिष्ट उत्सव नै हो। बत्ती बलेको देख्छु, सबैतिर झिलिमिली देखिन्छ। नाचगान हुन्छ। यसले मनमा शान्ति र उत्साह बढाउँछ।’ चार्डपर्वले समाजलाई एकताबद्ध बनाउने गरेको उनी बताउँछन्।

मानवलाई प्रकृतिसँग नजिक हुने अवसर छठले प्रदान गर्छ। मुलुकको कृषि पहिचानलाई पनि जगेर्ना गरेको छ। 
उज्जवल कुशवाह, कृषि वैज्ञानिक

संस्कृति मानव जीवन पद्धति हो। छठ पर्वले यसलाई राम्रोसँग प्रतिविम्बित गरेको छ।  
धीरेन्द्र प्रेमर्षि, संस्कृतिविद्

कृपालु छठी माताको आशिषबिना अनुष्ठान पूरा हुनै सक्दैन। यो मातृशक्तिप्रतिको श्रद्धा हो। छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ। 
सारदादेवी थापा, प्रदेशसभा सदस्य 

छठले समाजको विविधतालाई एकताको मालामा उन्ने काम गर्छ। छठघाटमा सबै जातजाति, धर्मालम्बीको पूजा सामग्री राखेको दौरा, छैंटी श्रीपताको लस्करै राखिन्छ। छठघाटमा सबैजना एउटै गोलमा अटाएको दृश्य हेर्दा राजनीतिले छुट्ट्याएको पहाडी, मधेसी, जातजाति भेद यहाँ सबै टुंगिन्छ। अनि मन–मनमा गुञ्जिन्छ, सयौं थुँगा फूलका हामी एउटै माला नेपाली !

छठको गौरव गाथा सुनाउँदै प्राज्ञ प्रेमर्षि थप्छन्, ‘छठ साँच्चीकै महान पर्व हो। जसले सबै नेपालीलाई भावनात्मक रूपमा जोड्ने काम गर्छ।’

५.अहिंसाको पर्व

छठले संसारका सबै जीवजन्तुको रक्षा गर्छ। दसैंमा जस्तो बलि प्रथालाई यस पर्वले निषेध गरेको छ। प्रोफेसर सन्त सत्यनारायण आलोकले छठ पर्वले शाकाहारी र अहिंसा भावको सन्देश दिने गरेको बताउँछन्। अनि स्वच्छता र शुद्धतालाई उस्तै स्थान दिन्छ। व्रतालुहरू यस पर्वमा प्याज, लसुन, माछा, मासु खाँदैनन्। यस पर्वमा सबैको जयजयकार गरिन्छ।

छठमा प्रसादका रूपमा शाकाहारी चिज वस्तुलाई स्थान दिइएको छ। प्रोफेसर आलोक भन्छन्, ‘यो पर्वले बलि प्रथालाई पूर्णरूपमा बर्जित गरेको छ। स्वास्थ्यबर्धक खानपिनलाई मात्रै प्रोत्साहन गर्छ।’

यसपर्वको खानपिन वातावरणमैत्री पनि छ। गर्मीको बिदाइ र शरद ऋतुको स्वागतको बेला छठ पर्व मनाइन्छ। आलोकका अनुसार छठको मुख्य प्रसाद ठेकुवा र केरा हो। ठेकुवा सक्खरको प्रयोग गरेर बनाइन्छ। चिसो मौसममा ठेकुवा खाँदा शरीरलाई तातोपन प्रदान गर्छ। जसले चिसोसँग शरीरलाई लड्न शक्ति प्रदान गर्छ।

पर्वहरूको मौलिकता गुम्दै गएको छ तर छठ पर्व त्योभन्दा टाढै छ। यो खुसीको कुरो हो। तर, पछिल्लो समय महँगीले भने पर्व मनाउनेहरूलाई समस्यामा पारेको छ। छठघाटमा ठूलो आवाजमा गीत–संगीत बजाउँदा ध्वनि प्रदूषण भइरहेको पाइन्छ। प्रोफेसर आलोकले खुसी साट्दै थपेँ, ‘आराधनाको पक्षले छठ पर्व सर्वोत्कृष्ठ पर्व हो। घरका सबै मिलेर पर्वको तयारी गर्ने, नयाँ वस्त्रमा सजिएर पर्व मनाउने अनि प्रसाद बाँडेर खाने चलनले परिवार एवं समाजमा नयाँ माहोल बनाइदिन्छ।

६. जहाँ भगवान्सँग सीधा भेट हुन्छ

भनिन्छ– भक्त र भगवान्सँग सीधा वार्तालाप छठ पर्वमा हुन्छ। ‘यो नै एउटा यस्तो पर्व हो, जसमा पुजारी र पुरोहितको आवश्यक्ता हुँदैन, संस्कृतिविद् डा. वीरबहादुर महतो भन्छन्। उनका अनुसार छठमा अर्घ दिइने सूर्य भगवान्लाई प्रत्यक्ष देख्न सकिन्छ। छठ उत्सव मनाउँदा परिवारका युवा सदस्यले यी धार्मिक विधि अवलोकन गरिरहेका हुन्छन्। अवलोकनसँगै विधिहरू सीधै सिक्ने र यो क्रम सन्ततिमा सर्दै जान्छन। केही छठ घाटमा सूर्य भगवान्को मूर्ति निर्माण गरी व्रतालुले सूर्य नमस्कार गर्छन्।

nullछठका लागि सजाइएको वीरगन्जको घडीअर्वा पोखरी। तस्बिर : क्रान्ति साह  

व्रतालुहरू सूर्यमन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्छन्। छठ शब्द संस्कृतको ‘षष्ठी’ बाट विकसित भएको इतिहास छ। चार दिवसीय छठ व्रतमा सबैभन्दा कष्ट, कठिनाइ, दौडधुप, श्रमशक्ति र महत्वको हिसाबले कार्तिक शुक्ल षष्ठीको दिनै हुन्छ। कार्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामसाथ मनाइने निकै चर्चित पर्व हो छठ। 

‘यो पर्व षष्ठी पूजाको अपभ्रंशका रूपमा आएको हो। यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ’, डा. महतो थप्छन्, ‘अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो व्रत भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन हुन्छ।’

७. जाति छुवाछूतविरुद्धको पर्व

निकै पवित्र, सफासुग्घर र निष्ठापूर्वक छठ मनाइन्छ । छठ सामाजिक सद्भाव र समानताको दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बाराबारको अवस्था अझै देखिन्छ र सुनिन्छ। कानुनी रूपमा छुवाछूतको अन्त्य भयो। तर, समाजमा छुवाछूतको अवशेष अझै जीवितै छ। तर, छठ पर्वले सामाजिक भेदभावको बाँधलाई भने परापूर्वकालदेखि नै भत्काएको मदन भण्डारी फाउन्डेसन महोत्तरीका अध्यक्ष गोपालप्रसाद बराल बताउँछन्।  

‘समाजमा अझै दलित समुदाय छुवाछूतबाट पीडित छन्। यस्तो अवस्थामा जब छठी घाटमा सबै जम्मा हुन्छन्’, उनी भन्छन्, ‘त्यो बेला सबै जातजातिको पूजा सामग्री एकै ठाउँमा हुन्छ। त्यही पोखरीमा सबै जातजातिका मान्छे उभिन्छन् र पूजा गर्छन्।’ यो सन्देश बिस्तारै फैलिँदै गएकोमा उनी खुसी व्यक्त गर्छन्।

अझै ध्यान दिनुपर्ने कुरा के छ भने अरू बेला अछुत भनेर तिरस्कार गर्ने समाजका कुलिन वर्गका छोरी र बुहारी पनि बाटोको छेउमा अँचरा (आँचल) थापेर छठको प्रसाद माग्छन्। र प्रसाद जुनसुकै जातजातिको होस्, आँचलमा पर्‍यो भने त्यसलाई पवित्र मानेर ग्रहण गर्छन्। यसले के प्रमाणित गर्छ भने हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्न यस्ता पर्वहरूको ठूलो योगदान रहेको तराई मधेस सांस्कृतिक अनुसन्धान प्रतिष्ठानका सचिव रामनारायण महतो बताउँछन्।

८. लोकतान्त्रिक पर्व

लोकतन्त्रमा सबै बराबर हुन्छन्। यो भावलाई छठ पर्वले बोकेको छ। सूर्यको प्रकाशबिना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहँदैन। सूर्यको प्रकाश सबैका लागि बराबर हुन्छ। प्रचण्ड घाम लाग्दा त्यसले गरिबलाई मात्र पोल्दैन, धनीलाई पनि पोल्छ। त्यसैले सूर्यको व्यवहार सबैका लागि बराबर हुन्छ। सूर्यबिना विश्वको अस्तित्वको कल्पना गर्न सकिँदैन। सूर्य ऊर्जाकै कारण विश्व जीवित र चलायमान छ, जीवन र प्रकृतिबीचको सन्तुलन कायम छ।

nullछठको पूर्वसन्ध्यामा काठमाडौंको कमलपोखरी सजाउँदै मजदुरहरू ।  तस्बिर : अभिशेक महर्जन 

भिटामिन ‘डी’ को मुख्य स्रोत सूर्य नै हो। जीवजन्तु समस्त वनस्पतिको जीवनरक्षा सूर्य ऊर्जाले सम्भव भएको विज्ञानद्वारा प्रमाणित छ। सूर्यको किरणमा छालाको रोगका साथै मुटु, जोर्नी र टाउकाको व्यथालाई निको पार्ने सामथ्र्य भएको प्राकृतिक चिकित्सा विज्ञानले पुष्टि गरेको छ। यसरी महारोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान सुख, पारिवारिक सुख, सुस्वास्थ्य, दीर्घायु आदिको कामना पूर्तिका लागि सूर्यको उपासना गरिन्छ। षष्ठी तिथिमा सूर्यको उपासना गर्ने विधि उपक्रमलाई छठ पूजा भनिन्छ।

९.अस्ताउँदो सूर्यलाई अर्घ दिने पर्व 

सूर्यलाई रोग र दुःख नष्ट गर्ने शक्तिको स्रोत मानिन्छ। दैनिक घरमा पूजाआजा हुन्छ। हिन्दु परम्परामा पञ्चायन पूजा गरिन्छ। जहाँ गणेश, विष्णु, शिव,  सूर्य र कालीको पूजा गरिन्छ।  पञ्चायनमा सूर्यको पूजा गर्दा उदाउँदा सूर्यको पूजा हुन्छ। तर, छठमा भने अस्ताउँदो सूर्यको पनि पूजा गर्ने अनौठो चलन छ। मदन भण्डारी फाउन्डेसन महोत्तरीका अध्यक्ष बराल भन्छन्, ‘उपभोग गरेको शक्तिलाई पनि आराधना गर्नुपर्छ भन्ने भाव पैदा गर्न अस्ताउँदो सूर्यलाई अर्घ दिन्छ।’ हराउँदै गएको अस्तित्वलाई पनि स्वीकार गरेर फेरि नयाँ बिहानीको सुरुवात हुन्छ भन्ने यसको मूल सन्देश हो।

प्रोफेसर सत्यनारायण आलोकका अनुसार पानी र सूर्यको एक अर्काको विपरीत तत्व हो। तर, छठ पर्वमा  दुवै शक्तिलाई समान महत्वका साथ हेरिन्छ।। आलोक भन्छन्, ‘छठसँगै जाडोको मौसमको प्रारम्भ हुन्छ। यो बेला सूर्यकै आशामा मानिसहरू बस्छन्। त्यसैले पौराणिक मान्यताअनुसार सूर्य देवतालाई पूजा गरिन्छ।’

१०. राष्ट्रिय एकताको पर्व 

एकताका तराईमा मात्रै छठ मनाइन्थ्यो। तर, अहिले तराईबाट पहाड मात्रै होइन् अमेरिकामा पनि छठ मान्नेको संख्या बढ्दै गएको छ। पछिल्लो समय त काठमाडौंमा छठ बनाउनेहरूको परिवारको संख्या बढ्दै गएको छ। यसो हुनु पछाडिको मुख्य कारण हो, छठ पर्वप्रति आस्था बढ्दै जानु।

छठघाटमा सबै जातजाति, धर्मालम्बीको पूजा सामग्री राखेको दौरा, छैंटी श्रीपताको लस्करै राखिन्छ। छठघाटमा सबैजना एउटै गोलमा अटाएको दृश्य हेर्दा राजनीतिले छुट्ट्याएको पहाडी, मधेसी, जातजाति भेद यहाँ सबै टुंगिन्छ। अनि मन–मनमा गुञ्जिन्छ, सयौं थुँगा फूलका हामी एउटै माला नेपाली !

राज्यले छठ पर्वलाई राष्ट्रिय पर्वका रूपमा पनि सूचीकृत गरेको छ। र, बिदा पनि दिन थालेको छ।राजनीतिक विश्लेषक चन्द्र किशोरले मधेसको पहिचानवादी आन्दोलनले छठ पर्वलाई राष्ट्रिय पर्वका रूपमा बिस्तार गरेको बताए। छठ पर्वको महत्व र यसप्रतिको आस्था बढ्दै गएकाले सबै वर्ग, क्षेत्र र राज्यले राष्ट्रिय पर्वको मान्यता दिएको उनको भनाइ छ। 

‘मधेसमा सांस्कृतिक पहिचानका लागि पनि राजनीतिक आन्दोलन भएको थियो। जसले गर्दा मधेसी समुदायले मनाउने पर्वमा पनि बिदा दिन थालियो। यसले सबैतिर फैलिने मौका पायो’, उनी भन्छन्, ‘मधेसी समुदायले मनाउने छठ पर्व प्राकृतिक संरक्षण र रैथाने ज्ञानको कुञ्ज हो। जसलाई सबैले सम्मानका साथ आदिवासी, मुस्लिमले पनि मनाउन थाले।’

११. नारी सशक्तीकरण पर्व

छठ नारी सशक्तीकरण अनुष्ठानको पर्व हो। सूर्यको उपासनाको पर्व भए पनि यसले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर एवं पवित्रता यसको मूल मान्यता हो भन्न सकिन्छ।

सूर्यको उपासनामा कृपालु छठी माताको आशिषबिना अनुष्ठान पूरा हुनै सक्दैन। यो मातृशक्तिप्रतिको श्रद्धा हो। छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ। छठी माईको गीतमा यसको स्पष्ट झल्को पाइने गरेको  मधेस प्रदेशसभा सदस्य सारदा देवी थापाले बताइन्। भन्छिन्, ‘छठ पर्व घरको जेठो महिलाको नेतृत्वमा हुन्छ। पर्वले महिलाहरूलाई नेतृत्व प्रदान गर्छ।’

१२. गीतबाटै छठ चर्चा 

छठको सुरुदेखि अन्त्यसम्म सबै विधिविधान गीतबाटै जान्न पाइन्छ। गीतबाट छठ आएको भाव घरघरमा फैलाइन्छ। त्यसमा रेडियोहरूको भूमिका ठूलो हुने गरेको सामुदायिक रेडियो प्रसारक संघ महोत्तरीका अध्यक्ष राजकुमार श्रेष्ठ बताउँछन्। ‘गीतले छठ आउँदैछ, तयारीमा जुट्नुपर्छ भन्ने सन्देश रेडियोमार्फत गाउँ बस्तीमा पुग्छन्,’ उनी भन्छन्, ‘छठ पर्वप्रति सचेत हुन पनि गीतले सघाउ पुर्‍याउँछ। ’

संस्कृतिविद् प्रेमर्षी भन्छन्, ‘पहिले छठ गीतको आफ्नै किसिमको मौलिकता थियो। घाटमा महिलाहरूले बसेर गाउँथे। अब त रेर्कडिङ गीत बजाइन्छन्।’

गायक विजयकुमार दासका अनुसार गीत छठ पूजाको अभिन्न अंग हो। यसले छठ पर्वलाई बुझ्न मात्रै होइन, आकर्षक र रौनक बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.