युवालाई व्यवसायी बनाउँदै चिज उत्पादन केन्द्र
दोलखा : दोलखाको कालिञ्चोक गाउँपालिका–६ युवाले स्वदेशमै व्यवसाय गरेर रोजगारी सिर्जना गर्न चिज उत्पादन केन्द्र सञ्चालन गरेका छन्। मुलुकमा परिवारसँगै रहेर कृषि पेसाबाट आम्दानी गर्न सकिने भन्दै अन्य दुईजना साथीसँग मिलेर चिज उत्पादन केन्द्र सञ्चालन गरेको नीरबहादुर थामीले बताए।
कालिञ्चोक–६ मा भएको सातवटा चौरीको गोठका कृषकले ल्याएका दूधलाई प्रशोधन गरेर चिज उत्पादन भइरहेको उनले बताए। गत असारबाट चिज उत्पादन सुरु गरिएको हो। उत्पादन भएको दिनबाट ४५ दिनपछिबाट मात्र चिज खानयोग्य हुने र एक वर्षसम्म खान मिल्ने थामीले बताए।
कालिञ्चोक गाउँपालिकाले चिज उत्पादन केन्द्र सञ्चालनको लागि घर बनाई दिएको र उत्पादन गर्न आवश्यक सामग्री खरिद गरिदिएको छ। कालिञ्चोक गाउँपालिका–५ रहेको शिवशक्ति सहकारीले सहुलियत ऋण उपलब्ध गराई दिएको थामीले सुनाए। सहकारीले सामूहिक लगानीमा व्यावसायिक याक चिज उत्पादन केन्द्र सञ्चालनका लागि ऋण उपलब्ध गराई युवालाई व्यवसाय गर्न सहज बनाइदिएको छ। स्वदेशमा रोजगारीको अभावले धेरै युवाहरू बिदेसिन बाध्य भइरहेका बेला दोलखाको कालिञ्चोक– ६ का युवाहरू कृषि पेसामा आकर्षित भएका हुन्। गाउँका युवालाई व्यवसायी बनाउने उद्देश्यले गाउँमै चिज उत्पादन केन्द्र सञ्चालनका लागि १० लाख रुपैयाँ ऋण लगानी गरिएको संस्थाले जनाएको छ।
गाउँपालिका र सहकारीले हौसला प्रदान गरेकाले व्यवसाय सञ्चालन गर्न आफूहरूलाई सहज भएको थामीको भनाइ छ। सहकारीले अन्य व्यावसायिक क्षेत्रमा पनि लगानी गरेको छ। सहकारीले सदस्यहरूले स्वदेशमै केही व्यवसाय गरे आर्थिक उपार्जन गरून् भनेर बाख्रापालन र खुद्रा व्यापारका क्षेत्रमा पनि लगानी गरेको जनाएको छ । युवा स्वरोजगार कोषबाट रकम लिएर सदस्यको हितका लागि न्यूनतम ब्याजदरमा लगानी गरेको सहकारीका व्यवस्थापक होम थामीले बताए।
‘चिज उत्पादन सुरु भएको छ तर यसका लागि बजार व्यवस्थापन हुन सकेको छैन। आफूहरू पनि उत्पादन मै काममा व्यस्त हुनुपर्दा प्रचार–प्रसार पनि गर्न सकिको छैन,’ उनले भने, ‘थोरै थोरै उत्पादन केन्द्रमा नै आएर लैजान्छन्। उत्पादित चिजको राम्रो व्यापार भैदिए आफू जस्ता धेरै किसानहरू निरास हुनुपर्ने थिएन।’ परिवार त्यागेर विदेश जानुभन्दा नयाँ व्यवसायमा लगानी गर्दा आफूहरूलाई खुसी लागेको अर्का व्यवसायी पदमबहादुर थामीले बताए। ‘दुःख सुख गरी तीन जनाले २७ लाख रुपैयाँ लगानी गरिएको छ,’ उनले भने। पर्यटकीय क्षेत्र कालिञ्चोक–६ को घ्याङमा उत्पादन भएको चिज अन्य विभिन्न ठाउँमा पुर्याउन लागिपरेको थामीले बताए।
प्रतिक्रिया दिनुहोस !