वित्त कम्पनीको सूचक निराशाजनक

वित्त कम्पनीको सूचक निराशाजनक

काठमाडौं : समग्रमा बैंक तथा वित्तीय संस्थाको वित्तीयस्थिति अपेक्षाअनुसार सुधार नभएको अवस्थामा ‘ग’ वर्गका  वित्त (फाइनान्स) कम्पनी पनि उस्तै हालतमा गुज्रिएका छन्। आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनले हाल सञ्चालनमा रहेको १७ वित्तीय संस्था (फाइनान्स कम्पनी)को नाफा, वितरणयोग्य नाफा ह्वात्तै घटेको देखिन्छ। यसको प्रत्यक्ष असर अबको लाभांश क्षमतामा देखिने भएको छ। 

फाइनान्स कम्पनीहरूले चालू अर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेअनुसार कुल १७ कम्पनीमध्ये ७ कम्पनीले नाफा कमाउँदा १० फाइनान्सको नाफा भने ऋणात्मक देखिएको छ। गत आवको पहिलो त्रैमासको तुलनामा चारवटा कम्पनीको मात्रै नाफामा सुधार आएको छ भने बाँकीको नाफामा गिरावट आएको छ। यद्यपि चालु आवको असोजसम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा मञ्जु श्री फाइनान्स अगाडि छ। सो अवधिमा ८ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको नाफा कमाउन सफल भएको छ। यो गत आवको तुलनामा १६.३६ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा ७ करोड ११ लाख ३७ हजार रुपैयाँ कमाएको थियो।

यसपछि नाफा कमाउने दोस्रोमा गोर्खाज फाइनान्स छ। गत आव ३ करोड ३३ लाख नाफा गरेकोमा हाल ६ करोड १६ लाख हाराहारीमा नाफा गर्न सफल भएको छ। यसबीच उक्त फाइनान्सले ८५.१८ प्रतिशतले नाफा वृद्धि गरेको छ। यसपछि रिलायन्स फाइनान्सले गत वर्षमा भोगेको नोक्सानी सुधार्दै नाफा गर्न सफल भएको छ। यसले ५ करोड ३९ लाख रुपैयाँ हाराहारी नाफा गरेको छ। गत वर्ष ४ करोड २४ लाख रुपैयाँ नोक्सानी बेहोरेको यो फाइनान्सले भने यसपटक धेरै सुधार गरेको छ। यसपटक कम्पनीको इम्पेरमेन्ट चार्ज बापतको रकम फिर्ता आएकाले नोक्सानीबाट सुधार भएको देखिन्छ। उक्त कम्पनीको गत वर्ष ३ करोड ५१ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ७ करोड ८० लाख रुपैयाँभन्दा बढी फिर्ता भएको तथ्यांकमा उल्लेख छ।

यस्तै आईसीएफसी फाइनान्सको नाफा ९३ लाख ७७ हजार रुपैयाँ छ। यो गत वर्षभन्दा ७१.९७ प्रतिशतले कम हो। किनभने गत वर्ष सोही अवधिमा ३ करोड ३४ लाख रुपैयाँ कमाएको थियो। यसपछि मल्टीपर्पस फाइनान्सले गत वर्षको तुलनामा राम्रो फड्को मार्दै ६५ लाख ८० हजार रुपैयाँ बराबरको नाफा गरेको छ। यो नाफा गत आवको तुलनामा १६ गुणा बढी हो। जबकी गत आवको सोही अवधिमा ४ लाख १८ हजार मात्रै कमाएको थियो। 
यस्तै, जानकी फाइनान्सको नाफा ४ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ। किनभने गत आव सोही अवधिमा २४ लाख  रुपैयाँ बढी कमाएको थियो। यसबीच नाफा वृद्धि ८२ प्रतिशतले घटेको छ। गत वर्ष असोजसम्ममै ४६ लाख रुपैयाँ नाफा गरेको श्री फाइनान्सले यसपटक २ लाख ९१ हजार नाफामा चित्त बुझाउनु परेको छ।

यसकारण वित्त कम्पनी नोक्सानीमा

अझ यसबाहेकका १० वित्त (फाइनान्स) कम्पनीको नाफामा संकुचनआउँदा ऋणात्मक अवस्थामा  छन्। जसमा समृद्धि, वेष्ट, नेपाल, गुडविल, गुहेश्वरी मर्चेन्ट बैंकिङ, पोखरा र प्रोग्रेसिभ फाइनान्सको नाफा ऋणात्मक अवस्थामा देखिन्छन्। समृद्धि फाइनान्सबाहेक सबैले गत आवको पहिलो त्रैमासमा नाफा गरे पनि चालु आवमा घाटा बेहोर्नु परेको छ। यी फाइनान्सको नाफा न्यूनतम ९८ लाख रुपैयाँदेखि अधिकतम ६ करोड ७३ लाख हाराहारीमा ऋणात्मक छ। सबैभन्दा बढी ऋणात्मक नाफा प्रोग्रेसिभ फाइनान्सको रहेको तथ्यांकमा उल्लेख छ। यी कम्पनीको इम्पेरमेन्ट चार्जका कारण नोक्सानी बेहोर्नु परेको हो। किनभने तथ्यांकमा उल्लेखअनुसार गत आर्थिक वर्ष १ करोड ४९ लाख रुपैयाँ हाराहारीमा इम्पेरमेन्ट चार्ज फिर्ता भएको प्रोग्रेसिभ फाइनान्सको यसपटक ३ करोड ७४ लाख रुपैयाँभन्दा बढी छ। यता पोखरा फाइनान्सको गत वर्ष ७ करोड ६६ लाख रुपैयाँभन्दा बढिरहेको इम्पेरमेन्ट चार्ज अहिले ११ करोड रुपैयाँभन्दा बढी छ। साथै, नेपाल फाइनान्सको पनि ९७ लाख ७९ हजार रुपैयाँ छ। 

यसैक्रममा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोजकाजी तुलाधर यसपटक कम्पनीको नाफा धेरै नै घटेको गुनासो गर्छन्। यसको मुख्य कारण फाइनान्सबाट प्रवाह भएको ऋण उठाउनै गाह्रो भएकाले रिकभरीमा समस्या हुँदा नाफा घटेको उनको भनाइ छ। उनकाअनुसार यो आर्थिक वर्षभर नै नाफा लिन गाह्रो हुने देखिन्छ। एक त यसरी नाफा घट्दा कम्पनीहरूको वितरणयोग्य नाफा घट्नु स्वाभाविक हो। यसको सीधा असर लाभांश क्षमतामा पर्न जान्छ। अझ कम्पनीको प्रवाहित कर्जाको ब्याज, किस्ता, साँवा समयमै भुक्तानी नहँुदा निस्क्रिय कर्जा (एनपीएल)को ह्वात्तै बढेको उनले सुनाए । यसले खराब कर्जाको आकार बढ्दो छ।

यसकारण नेपाल वित्तीय संस्था–संघका निवर्तमान अध्यक्षसमेत रहेका तुलाधर भन्छन्, ‘निष्क्रिय कर्जा (एनपीएल) बढी भएकाले सोहीअनुसार कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) छुट्याउनु पर्दा वितरणयोग्य नाफा घट्यो। यसले लाभांश क्षमता पनि प्रभावित हुने नै भयो।’ अझ अब नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तीय प्रतिवेदन बनाउनुपर्ने भन्ने भएकाले वितरणयोग्य नाफामा झन दबाब पर्न सक्ने उनको अनुमान छ। ‘एनएफआरएस ९ अनुसार आव २०८१/८२ मा अझ बढी प्रोभिजन  छुट्याउँदा वितरणयोग्य नाफा घट्ने र लाभांश क्षमता कम हुनेछ। यद्यपि प्रोभिजनले संस्था भने बलियो हुन्छ। यसपछिको आव २०८२/८३ देखि बल्ल वितरणयोग्य नाफा बढ्ने छ। यसपछि लाभांश क्षमता बलियो हुन्छ,’ तुलाधरले थपे। 

वित्त कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय प्रतिवेदनअनुसार पहिलो त्रैमासमा भएको नाफाबाट वितरणयोग्य नाफा दिन सक्नेमा आईसीएपसी र श्री इन्भेस्टमेन्ट फाइनान्स मात्रै देखिन्छ। उक्त कम्पनीले यस अवधिसम्ममा क्रमशः ४९ लाख ४३ हजार र १ करोड २२ लाख रुपैयाँबराबर वितरणयोग्य नाफामा राख्न सफल भएको छ। यसबाहेका कम्पनीको अवस्था सन्तोषजनक देखिँदैन।

कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) अधिकतम २०३.७० प्रतिशतसम्म

वित्त कम्पनीहरूले चालु आवको असोजसम्ममा कुल निष्क्रिय कर्जाको औसत १०४.१३ प्रतिशत प्रोभिजन छुट्याएको तथ्यांकमा उल्लेख छ। सबैभन्दा बढी श्री इन्भेस्टमेन्टले कुल एनपीएलको २०३.७० प्रतिशत र मल्टीपर्पस फाइनान्सले १८०.७४ प्रतिशत कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) छुट्याएका छन्। सबैभन्दा कम प्रोभिजन छुट्याउने सेन्ट्रलको पनि कुल एनपीएलको ७०.९५ प्रतिशत छ। अहिले खराब कर्जा बढेसँगै नोक्सानी बेहोर्न प्रोभिजनमा नाफाबाट आएको रकम छुट्याउदा तत्कालको आवमा लाभांश क्षमता कमजोर भए पनि संस्था बलियो हुने र भविष्यमा राम्रो प्रतिफल दिनसक्ने अवस्था यसले सिर्जना गर्ने बैंकर्सहरू बताउँछन्। 

निष्क्रिय कर्जा अधिकतम १७ प्रतिशतसम्म, औसत ६.३८ प्रतिशत
वित्त कम्पनीहरूको निष्क्रिय कर्जा (एनपीएल) बढेको छ। अर्थतन्त्रमा मन्दी आएकाले व्यवसाय नफस्टाउदा एनपीएलको आकार बढेको छ। अर्थतन्त्रमा सुस्तता आएकाले अधिकांश व्यवसायीलेले साँवा ब्याज तिर्न नसकेको गुनासो गर्छन्। बजारमा माग नहुँदा व्यवसायमा परेको असरले बैंकको ऋण तिर्न नसकेको व्यवसायीहरूको भनाइ छ। 

जसको असर समग्र बैंक तथा वित्तीय संस्थामा परेको तथ्यांकमा देखिन्छ। यसबाट वित्त कम्पनी पनि अछुतो हुन सकेनन्। यसले खराब कर्जाको आकार अघिल्लो आवको भन्दा बढी भएको छ। आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा औसत ४.२४ प्रतिशत भएको एनपीएल बढेर चालु आवको पहिलो त्रैमासमा ६.३८ प्रतिशत पुगेको छ।  

यसबीच सबैभन्दा बढी जानकी फाइनान्सको एनपीएल १७.६० प्रतिशत पुगेको छ। गत वर्ष १०.०२ प्रतिशत थियो। यसपछि बढी एनपीएल हुनेमा क्रमशः प्रोग्रेसिभ फाइनान्सको १२.४५ प्रतिशत र नेपाल फाइनान्सको ११.७५ प्रतिशत छ। यसपछि क्रमशः गोर्खाजको ९.८९ प्रतिशत,सेन्ट्रलको ५.४३ प्रतिशत, वेस्टको ५.४९, प्रतिशत एनपीएल रहेको छ। यसबाहेकका कम्पनीको ५ प्रतिशतभन्दा कम एनपीएल रहेको छ । सबैभन्दा कम एनपीएल श्री इन्भेस्टमेन्टको १.२० र मलटीपर्पस फाइनान्सको १.२२ प्रतिशत छ।


यसपटक कम्पनीको नाफा धेरै नै घटेको छ। यसको मुख्य कारण फाइनान्सबाट प्रवाह भएको ऋण उठाउनै गाह्रो भएकाले रिकभरीमा समस्या हुँदा नाफा घटेको हो। यो आर्थिक वर्षभर नै नाफा लिन गाह्रो हुने देखिन्छ। निष्क्रिय कर्जा (एनपीएल) बढी भएकाले सोहीअनुसार कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) छुट्याउनु पर्दा वितरणयोग्य  नाफा घट्यो। यसले लाभांश क्षमता पनि प्रभावित हुने नै भयो।

अझ अब नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तीय प्रतिवेदन बनाउनुपर्ने भन्ने भएकाले वितरणयोग्य नाफामा झन् दबाब पर्न सक्छ। एनएफआरएस ९ अनुसार आव २०८१/८२ मा अझ बढी प्रोभिजन छुट्याउँदा वितरणयोग्य नाफा घट्ने र लाभांश क्षमता कम हुनेछ।  यद्यपि प्रोभिजनले संस्था भने बलियो हुन्छ। यसपछिको आव २०८२/८३ देखि बल्ल वितरणयोग्य नाफा बढ्ने छ।
सरोजकाजी तुलाधर, निवर्तमान अध्यक्ष ,नेपाल वित्तीय संस्था–संघका तथा सीईओ, गुडविल फाइनान्स


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.