महासमिति बैठक सार्न कांग्रेसले बोलायो बैठक

महासमिति बैठक सार्न कांग्रेसले बोलायो बैठक
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकको मिति सार्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबारका लागि बोलाएको छ। कांग्रेसले पटक–पटक सार्दै आएको महासमिति बैठक यस अघि जाजरकोट भूकम्पलाई कारण देखाएर सारिएको थियो। 

जाडो बढेको, राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै कांग्रेसले महासमिति बैठक सार्ने तयारी गरेको छ। असोज र कात्तिक अन्तिममा महासमिति बैठक गर्ने भनिए पनि हुन सकेन। भदौ ६ मा बसेको केन्द्रीय समितिको बैठकले महासमितिको बैठक मंसिर १३ देखि १५ सम्म काठमाडौंमा गर्ने निर्णय गर्‍यो। फेरि कात्तिक १७ गते बसेको कार्यसम्पादन समितिको बैठकले जाजरकोट भूकम्प, केही स्थानमा महासमिति सदस्य टुंगिन बाँकी रहेको जस्ता कारण देखाउँदै महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने मिति तय गरेको थियो। 

पुस १६ देखि १९ गतेसम्म मधेस प्रदेशमा महासमिति बैठक गर्ने भनेर कांग्रेस लागेपनि तयारी भने शून्य नै थियो। अब अहिले मधेसमा शीतलहर चल्ने भएकाले चिसोका कारण बैठक गर्न सम्भव नभएको कांग्रेसकै मधेस प्रदेशका एक केन्द्रीय सदस्यले बताए। ति नेताका अनुसार ‘माथिबाट पनि कुनै आदेश आएको छैन। आदेश आएको खण्डमा गर्न असम्भव हैन। सायद केन्द्रकै राजनीतिको कारण सार्न खोजिएको हुन सक्छ।’

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने पार्टी राष्ट्रिय सभाको निर्वाचनमा होमिनुपर्ने भएकोले सर्न सक्ने सम्भावना रहेको बताउँछन्। कार्यसम्पादन समितिको बैठक बोलाइएकाले उक्त बैठकले नै तिथि मिति निर्धारण गर्ने उनले बताए।  

कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व मात्रै चयन भयो। ६ महिनाभित्र नीति अधिवेशन गर्ने प्रतिबद्घता व्यक्त गरेको नेतृत्वले २ वर्ष हुँदासम्म पनि नीतिको विषयमा छलफल गर्ने कुनै सुरसार गरेका छैनन्। महाधिवेशन गर्न सम्भव नदेखिएपछि महासमिति बैठक पनि गर्न सकिने विकल्प कांग्रेसमा छ। यद्यपि यतिका समय त्यो पनि हुन सकेको छैन।  

महासमिति बैठकसहितको विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। राष्ट्रियसभा सदस्यको निर्वाचनमा उठाउने उम्मेदवारको विषयमा पनि उक्त बैठकमा छलफल हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.