एमालेलाई षड्यन्त्रपूर्वक सत्ताबाट हटाउने काम भयो : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभाकारी रूपले देश विकासको काम गरिरहेका अवस्थामा षड्यन्त्रपूर्वक सत्ताबाट हटाउने काम भएको बताएका छन्।
झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत शुक्रबार तेह्रथुमको आठराई गाँउपालीकामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमाले सरकारले मुलुकमा असाधारण विकासको काम गर्न खोजेकाले षड्यन्त्रपूर्वक सत्ताबाट हटाउने काम भएको प्रस्ट्याए।
एमालेलाई सरकारबाट हटाए पनि जनतामा प्रभाव विस्थापित गर्न नसकेको र लोकप्रीय पार्टी हुन सफल भएको उनले बताए। ओलीले मिसन २०८४ का लागि झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरेको र लाखौं जनता सहभागी भएको दाबी गरे।
ओलीले मुलुकलाई अफ्ठ्यारोबाट अघि बढाउनका लागि सही नीतिको आवश्यकता रहेको र त्यो एमालेमा मात्रै भएको बताए। बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ।