नगरकोटमा नेपालकै लामो जिपलाइन

नगरकोटमा नेपालकै लामो जिपलाइन
सुन्नुहोस्

काठमाडौं : भक्तपुरको नगरकोटमा नेपालकै पहिलो लामो जिपलाइन औपचारिक रूपमा सञ्चालनमा आएको छ। यो नेपालको अहिलेसम्मकै सबैभन्दा लामो २.२५ किलोमिटरमा फैलिएको जिपलाइन हो।  

भक्तपुरबाट ९ किलोमिटरभित्र चाँगुनारायण–७ मा सञ्चालित २ हजार २ सय ५० मिटर लामो जिपलाइन सोही नगरपालिकाको अर्को ६ नम्बर वडामा पुगेर टुंगिन्छ। यो एसियाकै दोस्रो र नेपालकै पहिलो लामो जिपलाइन भएको सञ्चालकको दाबी छ।  करिब ३ मिनेट अवधिमा वारिबाट पारि पुगिन्छ। 

जसमा बसेर ‘क्लासिकल’ जिपलाइन र घोप्टो परेर अर्थात् ‘सुपरम्यान’ जिपलाइन गर्न सकिन्छ। जहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शुक्रबार औपचारिक उद्घाटन गर्दै पहिलोपटक ‘सुपरम्यान’ जिपलाइन सयर गरे। आफ्नै मन्त्रालयअन्तर्गत भएकाले पर्यटन प्रवद्र्धनका लागि आफू पहिलोपटक जिपलाइन चढ्न तयार भएको मन्त्री किराती बताउँछन्। साहसिक खेल एडभेन्चरको स्वाद लिन आवश्यक भएको भन्दै उनले स्वदेशी तथा विदेशी पर्यटकलार्ई सोही स्थानबाट निम्तो गरे। 

यसैक्रममा पर्यटन मन्त्री किराती नेपालमा पर्यटनको विकास नभई अर्थतन्त्रको विकास सम्भव नहुने तर्क गर्छन्। उनी भन्छन्, ‘यहाँको प्रकृति र संस्कृतिलार्ई हेर्दा पर्यटन नै आर्थिक समृद्धिको मूल खम्बा हो।’ साहसिक खेल खेल्न साहस जरुरी भएको भन्दै उनले नेपालीको प्रशंसा यसरी गरे, ‘नेपाल बहादुरहरूको देश हो। हामी नेपाली प्रकृतिमा हुर्किएका हौं। हाम्रो खेल, उठबस प्रकृतिसँग नै छ। त्यसमाथि एडभेन्चरको सम्भावना भएको देश नेपाल। पर्यटनका तीन ओटा आधार छन् एडभेन्चर, कल्चर र नेचर। यसमध्ये साहसिक खेलको स्वाद लिन आवश्यक छ।’ यस वर्ष अहिले नै १० लाख हाराहारीमा पर्यटक ल्याउन सफल भइसकेको उनले बताए।  

उक्त जिपलाइन करिब पाँच करोड लगानीमा नगरकोट जिपलाइन प्रालिले निर्माण गरेको हो। जिपलाइनका लगानीकर्ता केदार थापा नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा साहसिक खेलहरूमा लगानी गर्दै आएका परिचित व्यक्ति हुन् । नेपालका लागि जिपलाइन भनेर नामकरण गर्ने व्यक्ति उनै थापा हुन्। हालसम्म उनले धुलिखेल, भेडेटारलगायतका नेपालका विभिन्न १२ ठाउँमा जिपलाइन बनाएर अरूलार्ई हस्तान्तरण गरिसकेका छन्। 

नगरकोटको यो जिपलाइनमा होटलबाहेक ४ करोड रुपैयाँ हाराहारीको लगानी रहेको थापाले जानकारी दिए। यो जिपलाइन खेल्नका लागि ४ हजारदेखि साढे ४ हजारसम्म शुल्क तोकिएको छ। उक्त रकम तिरेबापत जिपलाइन खेलेको भिडियो उपलब्ध गराइन्छ, पारिबाट यता आउँदाको भाडाको समेत व्यवस्था हुन्छ। यस आसपासका  जंगलको बीचमा बोधिनी ड्यामलगायतका पर्यटकीय स्थलहरू बनिरहेको उनले जानकारी दिए। 

जिपलाइन खेल्न आउने साहसिक पर्यटकहरूलार्ई चौतर्फी सुरक्षाको व्यवस्था गरिएको छ। प्रतिव्यक्ति १० लाख रुपैयाँँसम्मको बिमासमेत गरिएको बताइएको छ। सम्पूर्ण मापदण्ड पूरा गरी औपचारिक सञ्चालनमा ल्याउनुअघि नै हजारभन्दा बढीबाट सफल परीक्षण भइसकेको आयोजकले जनाए। अब यहाँँ दैनिक दुई सय जनालार्ई जिपलाइन सयर गराउने लक्ष्य राखिएको छ। यद्यपि मुलुकको पछिल्लो स्थितिअनुसार दैनिक १५–२० जना आइरहेकाले पनि टिक्न सकेको थापा बताउँछन्। उनी भन्छन्, ‘विस्तारै प्रवद्र्धन भइरहेको छ। यसैले अझै प्रवद्र्धन हुनेमा आशावादी छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.