‘संकल्प यात्राले एमाले र पहिचान पक्षधरबीचको द्वन्द्वलाई चिर्यो’
![‘संकल्प यात्राले एमाले र पहिचान पक्षधरबीचको द्वन्द्वलाई चिर्यो’](https://annapurnapost.prixacdn.net/media/albums/oli--1_Gp6juTBe1n_1M8Zy68Bmz.jpg)
फिदिम : नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा ‘समृद्धिका लागि संकल्प यात्रा’ गर्ने घोषणा गरेदेखि नै अध्यक्ष ओलीको स्वास्थ्यप्रति चासो दिने धेरै थिए। ओलीको स्वास्थ्यका कारण यात्रा प्रभावित हुन सक्ने शुभचिन्तकहरूको चिन्ता थियो। ओलीको स्वास्थ्यसँगै कोशी प्रदेशमा आन्दोलित बनेका पहिचान पक्षधरहरूले अभियानलाई प्रभावित बनाउन सक्ने अनुमान थियो। तर, अनेकौ चुनौती र आशंकाहरूलाई पार गर्दै एमालेको संकल्प यात्राले १८औं दिनमा पूर्णता पाएको छ।
मध्यपहाडी लोकमार्गले छोएका २६ जिल्लाहरूमा विभिन्न कार्यक्रम गर्दै चिवाभन्ज्याङमा पुगेर आइतबार यात्रा टुंगिएको हो। चिवाभन्ज्याङमा ओलीले झण्डोत्तलन गरेर यात्रालाई औपचारिक रूपमा टुंग्याएका हुन्। मंसिर १४ गते बैतडीको झुलाघाटदेखि सुरु भएको एमालेको संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङ पुगेर औपचारिक रूपमा आइतबार टुंगिएको हो। पाँचथर सदरमुकाम फिदिमदेखि हेलिकप्टरबाट चिवा पुगेका ओलीले चिवामा छोटो सम्बोधन गरे।
३२ सय मिटरको उचाइमा रहेको मध्यपहाडी लोकमार्गको उद्गम बिन्दु चिवामा आयोजित समापन कार्यक्रममा ओली प्रसन्न मुद्रामा थिए। कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अभियानमा समाहित हुने र सहयोग गर्नेहरूलाई धन्यवाद दिए। विपक्षीप्रति खरो बोल्ने ओलीले चिवामा अन्य दल र नेताहरूको नामसम्म लिएनन्। उनले यात्रा उपलब्धिमूलक भएको उद्घोष गरे। ओलीले आगामी चुनावमा एमालेलाई बहुमत दिलाउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए।
उनले चिवाभन्ज्याङलाई आर्थिक नाका बनाउन सकिने संकेत गरे। ‘मध्यपहाडी लोकमार्ग पहाडी जिल्लाको समृद्धिको संवाहक हो,’ उनले भने, ‘यो उद्गम बिन्दुमा आर्थिक नाका खडा गरेर पूर्वी पहाडको विकास गर्न सकिन्छ।’ यात्राका क्रममा आयोजित अधिकांश सभालाई अध्यक्ष ओलीले एकल सम्बोधन गरेका थिए। पहिचान पक्षधरको अवरोधका बाबजुद यात्रा पूरा भएको हो। पहिचान पक्षधरले प्रदेशको नाम कोशी मान्य नहुने भन्दै एमालेको कार्यक्रमलाई अवरोध गर्न बन्दको आह्वान गरेको थियो। कडा सुरक्षाका कारण छिटफुट अप्रिय घटनाबाहेक कार्यक्रम सहज रूपमा सम्पन्न भएको एमालेको दाबी छ।
धनकुटाको लेगुवामा पहिचान पक्षधर एक व्यक्तिले अध्यक्ष ओलीमाथि मुक्का प्रहारको प्रयास गरेका थिए। पाँचथरमा पनि सडकमा ढुंगा र मुढाहरू लडाएर अवरोधको प्रयास भएको थियो। अवरोधहरूलाई चिर्दै एमालेले यात्रा सम्पन्न गरेको हो। ‘एमालेको यो यात्राले देशमा असाधारण योगदान गरेको छ,’ ओलीले भने, ‘अरूले गर्न नसकेको काम हामी गरेर देखाउँछौँ।’
पहाडको बढ्दो बसाइँसराइलाई रोक्ने र समस्याको पहिचान गर्ने उद्देश्य राखेर एमालेले मध्यपहाडी जिल्लाहरूमा संकल्प यात्रा गरेको हो। यात्रामा एमालेका करिब दुई सय हाराहारी केन्द्रीय नेताहरू सहभागी थिए। यात्राले देश बुझ्न सहयोग गरेको एमाले सचिव योगेश भट्टराईले प्रतिक्रिया दिए। ‘यो यात्राले नेताहरूलाई देश बुझ्ने मौका दिएको छ,’ उनले भने, ‘अब हामी यात्राको गम्भीर समीक्षा गरेर थेसिस नै तयार गर्नेछौं।’ थेसिस तयार गरेर एमालेले सोहीबमोजिम काम गर्ने उनले प्रष्ट्याए।
विभिन्न चुनौतीहरूलाई पार गर्दै यात्रा पूरा गरिएको एमाले सचिव गोकर्ण विष्टले बताए। ‘यात्रालाई सहज र उपलब्धिमूलक बनाउने धेरै चुनौतीहरू थिए,’ विष्टले भने, ‘सबै चुनौतीहरूलाई पार लगाउँदै यात्रालाई सार्थक बनाएका छौं।’ देश बनाउने र विकास गर्ने सबालमा राजनीति गर्नु नहुने उनको तर्क थियो। एमाले र पहिचान पक्षधरहरूबीचको द्वन्द्वलाई पनि यात्राले चिरेको उनले तर्क गरे।
‘एमालेप्रतिको गलत धारणालाई हामीले चिर्न सक्यौं जस्तो लागेको छ,’ उनले भने, ‘एमालेले पार्टीका लागि मात्र नभएर सिंगो देशका लागि काम गर्छ भनेर प्रमाणित गर्नुछ।’ यात्राले जनता र पार्टी कार्यकर्ताहरूमा नयाँ उत्साह र ऊर्जा थपेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिक्रिया दिए। ‘यात्राले हामी सबैलाई ऊर्जा दिएको छ,’ उनले भने, ‘कुर्सीका लागि मात्र नेताहरू लडाइँ गर्छन् भन्ने जनताको धारणालाई यो यात्राले चिरेको छ।’
यद्यपि एमालेको यात्रालाई पहिचान पक्षधरले भने रुचाएका छैनन्। पहिचान पक्षधरहरूलाई एमालेले पटकपटक जिस्काएको पहिचान पक्षधर नेता सागर केरुङले बताए। ‘हाम्रा मुद्दाहरूलाई एमालेले प्रहरी प्रशासनको बलमा कुल्चिरहेको छ,’ केरुङले भने, ‘यो यात्रा पनि त्यसको एउटा उदाहरण हो।’ सर्वसाधारण मानिसले भने एमालेले भनेजस्तो काम गर्छ या गर्दैन भनेर केही बोल्न नसकिने तर्क गरे। ‘उसले भनेको पूरा गर्छ, गर्दैन केही महिनापछि थाहा हुन्छ,’ च्याङथापुका मोहन ढुंगेलले भने, ‘नेताहरूले बोलेको कुरामा विश्वास गर्ने वातावरण छैन।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)