पुस १६ गतेदेखि बुटवल-तानसेन सडकखण्ड राति बन्द हुने
भैरहवा : बुटवल-तानसेन सडकखण्ड १०० रात बन्द हुने भएको छ। सिद्धबाबा सुरुङमार्गको निर्माण कार्यलाई निर्वाध रुपमा अगाडि बढाउन तथा सम्भावित निर्माणजन्य जोखिम हटाउनका लागि रातिको समयमा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड बन्द गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बिहीबार बसेको सरोकारवालाको बैठकले सिद्धबाबा सुरुङमार्गको आयोजना कार्यालयको अनुरोध र जिल्ला प्रशासन कार्यालय पाल्पाको निर्णय समेतको आधारमा पुस १६ गतेदेखि (राति १० बजे देखि बिहान ४ बजेसम्म) एक सय दिनसम्म अत्यावश्यक सवारी साधन (दमकल, एम्बुलेन्स, शववाहन, विपद्का साधन) बाहेक सवारी साधन बन्द गर्ने निर्णय गरेको हो ।
माघे संक्रान्ति पर्वका लागि पुस २९ र माघ १ गतेका लागि पूर्ववत् रुपमा सवारीसाधनको आवागमन हुने कार्यालयले जनाएको छ। बन्द हुने अवधिमा साना सवारी साधनका लागि बैकल्पिक रुपमा नुवाकोट-दोभान सडकखण्डलाई प्रयोगमा ल्याउने निर्णय भएको कार्यालयले जनाएको छ।
सडकखण्ड बन्द गर्ने एक सय दिनको समयावधिलाई दुई चरणमा विभाजन गरी आयोजनाको प्रगति लगायत विश्लेषणका आधारमा दोस्रो चरणको आवागमन बन्द गर्ने निर्णयलाई आवश्यकता अनुसार थप परिमार्जनसहित कार्यान्वयन लैजाने कार्यालयले जनाएको छ।