कांग्रेस बैठकमा सरकारको आलोचना

कांग्रेस बैठकमा सरकारको आलोचना
सुन्नुहोस्

काठमाडौं : महामन्त्री गगन थापाले सरकारमा सहभागी कांग्रेस मन्त्रीहरूलार्ई ८ महिनामा गरेका ८ वटा कामको सूची मागेका छन्। नेपाली कांग्रेस सानेपामा भएको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले भने, ‘कांग्रेसका प्रत्येक मन्त्रीले ८ महिनामा गरेका यस्ता ८ वटा कामको सूची दिनुस् जसको कारणले नागरिकको जीवनमा सकारात्मक परिवर्तन आयो र ती काम तपाईंं नभएको भए हुँदैन थियो।’ 

उनले मन्त्रीले ती कामको प्रचार कांग्रेसका तमाम सदस्यले गर्नेछन् भन्दै, ‘अब एक वर्षमा सरकारमा बसेर के गर्ने भन्ने लक्ष्य निर्धारण गरौं। त्यो लक्ष्य पूरा गर्न भनेजस्तो काम गरेनन् भने मन्त्री फेरौं। अरू सबै दलसँग समय पनि छ। सुविधा पनि छ। अहिले भएन हामी आउँछौं र ठीक बनाउँछौं भन्ने तर हामीले त्यो भन्न पाउँदैनौं।’

‘अरूले मिसन ८४ भन्न पाउँछन् तर हामीले भन्न पाउँदैनौं। हामी छलफल गरौं र नीति अधिवेशनबाट मिसन गुणस्तरीय शिक्षा, मिसन सर्वसुलभ स्वास्थ, मिसन मर्यादित रोजगारी तय गरौं। अनि यी ४ वर्षमा यी कुरा पूरा गरौं। यसको आधारमा बल्ल जनतासामु जान पाइन्छ।’ थापाले सभापति देउवातिर लक्षित गर्दै भने, ‘गठबन्धन बैठक भन्ने अनि पार्टीभित्र सरसल्लाह सम्वाद समझदारी नगरी पार्टीको धारणा भनेर निर्णय गर्ने। त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्नुपर्छ।’ 

बैठकमा बोल्दै महामन्त्री थापाले भने, ‘अरूले मिसन ८४ चलाउँछन्। त्यो उनीहरूको कुरा भयो। तर कांग्रेसले अहिले मिसन ८४ होइन, मिसन रोजगारी, मिसन शिक्षा र मिसन स्वास्थ्य चलाउनुपर्छ। कांग्रेस जनताको जीवनप्रति जिम्मेवार हुनुपर्छ।’

केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले उपलब्धिमूलक काम गर्न नसकेको र मन्त्रीहरूले पनि उल्लेख्य परिणाम दिन नसकेको भन्दै उनले कांग्रेस ९ महिनादेखि सरकारमा रहे पनि मन्त्रीहरूले जनताको बीचमा लैजाने गरी कुनै पनि काम गर्न नसकेको गुनासो गरे। 
सरकारमा सहभागी कांग्रेसकै मन्त्रीहरूले समेत राम्रो कार्यसम्पादन नगरेको भन्दै पौडेलले मन्त्रीहरूको डिफेन्स गर्ने अवस्था नरहेको बताए। ‘कार्यप्रगति हेरेर मैले कांग्रेस नेतृत्व र मन्त्रीहरूको डिफेन्स गर्न सक्दिनँ।’ 

समुदायमा कांग्रेस कार्यक्रममा आफूहरू गाउँ–गाउँमा जाँदा जनतालार्ई बताउने विषय नभएको र नेतृत्वका कारण कांग्रेस प्रतिरक्षात्मक मात्र हुनुपर्ने अवस्था आएको उल्लेख गरे। पौडेलले भने, ‘सरकारले काम पनि नगर्ने, आफ्नो पालो आउँदा समर्थन पनि प्राप्त हुँदैन भन्ने डरले केही पनि नगर्ने। नभन्ने हो भने ८४ को निर्वाचनमा कांग्रेस पत्तासाफ हुनसक्छ। कांग्रेसले देशलार्ई कता लैजाने भन्ने योजना र रणनीति नल्याएसम्म अहिलेकै अवस्थामा कम्तीमा म कांग्रेस नेतृत्व र मन्त्रीहरूलार्ई डिफेन्स गर्न सक्दिनँ।’

बैठकमा पौडेलले भौतिक विकासमा नियमित काम मात्र गरेर जनताले सरकारले काम गरेको अनुभूति गर्ने अवस्था नभएको बताए। ‘जनतालार्ई चाहिएको सुशासन हो, भ्रष्टाचारको अन्त्य हो। अहिले जनताले हामीलार्ई भ्रष्टाचारमा मुछिएको पार्टी भनेर बुझ्छन् कि भ्रष्टाचार अन्त्य गर्ने अभियान छेडेको पार्टी भनेर ?’

पौडेलले ललितपुरमा घटेको घटनाप्रति ध्यानाकर्षण गराउँदै भने, ‘ललितपुरमा जे भयो। त्यसले युवा, नेपाली जनताको आक्रोश बढ्दै गएको स्पष्ट पारेको छ, हामीले छिट्टै कार्यशैली फेरेर प्राथमिकता बदलेर अगाडि बढ्यौँ भने मात्र कांग्रेस भएको अनुभूत जनताले गर्न पाउँछन्। यही शैलीमा हिडियो भने कहीँ पनि पुगिदैन।’

गुटका लागि नबाजौं : राणा

बैठकमा बोल्दै केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टीभित्र गुटका नाममा आफैंमा बाझ्ने काम नगर्न नेताहरूलार्ई अनुरोध गरेकी छन्। राणाले नेताहरू आफैंमा बाझ्दा पार्टीलार्ई क्षति भइरहेको बताइन्। 

‘हामी कांग्रेसमा रहेर बाहिर इम्प्रेसन दिन्छौं कि हामी बाझेको बाझ्यै हुन्छौं, त्यो राम्रो इम्प्रेसन होइन, भोट हाम्रै काटिन्छ। कोही न कोही विभिन्न गुटको नेता होला, तर जहिले पनि आफैंमा बाझ्ने पार्टी भनेर सबैतिर भोट काटिइरहेको हुन्छ, त्यसकारण त्यसो नगरिदनुस्। तपाईंंहरू आपसमा कार्यसमितिमा बस्नुस् र निष्कर्षमा पुग्नुस्।’

राणाले बालकुमारी घटनाको जिम्मेवार दलहरू नै रहेको बताइन्। मारिएका युवाको घरायसी अवस्था र जाँच दिन नपाउँदै ज्यान गुमाउनुपरेको अवस्थाले आफू दुखी भएको भन्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताइन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.