दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गयो
दार्चुला : दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ। जिल्लाको दुहुँ गाउँपालिका-२ गोकुलकी ४० वर्षीया दुरी देवी बडालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
आइतबार आज दिउँसो घरभन्दा केही मिटर टाढा रोडमा गिट्टी फुटाउने क्रममा भीरमाथि बाट खसेको ढुंगा लागेर महिला घाइते भएकी थिइन्। भीरबाट खसेको ढुंगा उनको मुख र छातीमा लागेको थियो।
ढुंगा लागेर घाइते भएकी महिलालाई उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएको थियो। घाइते महिलाको अस्पतालमै उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।