हचुवामा विमानस्थल, चलाउनै हम्मे

हचुवामा विमानस्थल, चलाउनै हम्मे

करोडौं बजेट खर्चेर विमानस्थल बनाउने तर प्रयोगमा ल्याउन नसक्ने जुन पुरानो ‘रोग’ छ त्यसले राज्यलाई व्ययभार थपिरहेको छ। त्यसमाथि विमानस्थल निर्माणपछि कसरी सञ्चालन गर्ने भनेर व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा राज्यकोषको अर्बौं रकम खेर गइरहेको छ। 

मुलुकभर रहेका ५४ विमानस्थलमध्ये १६ वटा बन्द छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको यो तथ्यांकअनुसार ३८ वटा मात्र सञ्चालनमा छन्। यीमध्ये तीनवटा अन्तर्राष्ट्रिय छन् भने बाँकी आन्तरिक। तर, सञ्चालनमा रहेका भनिएका धेरै विमानस्थलमा पनि नियमित उडान हुन सकेको छैन। कतिपय त गौचरणमा परिणत भइसकेका छन्। यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्रस्तावित मात्र छ। जसको निर्माण नै सुरु हुन सकेको छैन। 

विज्ञका अनुसार पहिला ५ देखि ७ करोड बजेटमा बन्ने आन्तरिक विमानस्थल अहिले ४–५ अर्बमा पनि बन्दैनन्। निर्माण खर्चिलो त छँदै छ, सञ्चालन खर्च धेरै छ। त्यसकारण विमानस्थल बनाएर यत्तिकै छोड्न नमिल्ने बताउँछन् प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम। उनका अनुसार यसको जिम्मेवारी लिन जरुरी छ। तर, त्यसका लागि राज्यले दिनुपर्ने सुविधामा भने सहजीकरण गर्नुपर्ने गौतमको भनाइ छ। 

कुल विमानस्थलमध्ये करिब ४८ वटा उडान र सञ्चालन योग्य रहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन्। बाँकी सातवटा पहिला सञ्चालन भएका तर वर्षौंदेखि बन्द रहेका उनको भनाइ छ। जसमा जिरी, स्याङबोचे, कमलबजार, ढोरपाटन, पालुङटार, टीकापुर, महेन्द्रनगर विमानस्थल छन्। यी विमानस्थलमा पहिला साना जहाज जाने गरेकामा अहिले ती जहाज नै छैनन्। ‘ती विमानस्थलमा प्राधिकरणको खर्च पनि छैन। किनभने, कर्मचारी नै छैनन्’, निरौला भन्छन्।

तराईका विमानस्थल (ट्रंक रुट) र पहाडी तथा हिमाली भेगका विमानस्थल (स्टल रुट) केही सञ्चालन नाफामा रहेको प्राधिकरणको तथ्यांक छ। लुक्ला, जोमसोम, जुम्ला र सिमिकोट नाफामा छन्। बाँकी स्टल रुटका घाटामा छन्। सहरी र तराई रुटका नाफामा भए पनि पहाडी र स्टल रुटका भने घाटामा देखिन्छन्। सञ्चालनमा रहेर पनि घाटा रहेकामा तुम्लिङटार, बझाङ, भोजपुर, दाङ, डोल्पा, खानीडाँडा, फाप्लु, रामेछाप, रुम्जाटार, ताप्लेजुङ, थामखर्क, डोटी, बैतडी, इलामलगायत छन्। 

राज्यले नाफा कमाउन मात्र विमानस्थल बनाउने नभई दायित्व पनि निर्वाह गर्नुपर्ने तर्क प्राधिकरणका अधिकारीको छ । सबै विमानस्थलबाट नाफा हुनै पर्छ भन्ने नभई नाफा भएकाहरूबाट घाटामा गएकाको दायित्व पूर्ति गर्ने हो भन्ने भनाइ प्रवक्ता निरौलाको छ। सबैभन्दा बढी कमाउनेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्छ। अन्यको दायित्वसँगै प्राधिकरण यसको कमाइबाट चल्ने गरेको निरौला सुनाउँछन्।

पूर्वबाट पश्चिमको हवाई यातायात दूरी डेढ घन्टा पनि छैन। ठूला विमानस्थल बनाउन सक्ने भौगोलिक बनावट पनि छैन। साना जहाज मात्र चल्ने ठाउँमा विमानस्थलको संख्या बढी नै छ। तराईमा ४० नटिकल माइल (१ नटिकल माइलमा १.८५ किलोमिटर हुन्छ) मा र पहाडमा २० नटिकल माइलभित्र दुई विमानस्थल हुन नहुने जानकार बताउँछन्। तर, उक्त मापदण्डको परिपालना पहिलादेखि नै भएको छैन। विज्ञ भन्छन्, ‘राज्यको आवश्यकता के हो र कति विमानस्थल चाहिन्छन् भन्ने अध्ययनको कमी छ।’

गौतमका अनुसार धेरै विमानस्थल बन्द छन्। तर, ती अधिकांश सडक सञ्जालमा नजोडिएको समयमा बनाइएका हुन्। ‘तत्कालीन अवस्थामा ती क्षेत्रका जीवन रेखाका रूपमा रहेको तथ्यलाई बिर्सन भने हुँदैन। अधिकांश यस्ता विमानस्थल सडक यातायातको सञ्जालमा जोडिएसँगै बन्द अवस्थामा छन्’, उनी भन्छन्, ‘तसर्थ बन्द भएका सबै विमानस्थल अनावश्यक रूपमा बनाइएको भन्ने भाष्य निर्माण गर्नु उपयुक्त हुँदैन।’ मुलुकभर कुल १९ विमान कम्पनीले आन्तरिक उडान भर्दै आएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल चलाउन पीपीपी अवधारणा जबसम्म विमान कम्पनीलाई आकर्षित गर्न सकिँदैन तबसम्म विमानस्थल चल्दैन। यस्तै, जबसम्म यात्रुको चाप हुँदैन तबसम्म विमान कम्पनी आउँदैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनमा आएका हुन्। तर, प्राधिकरणसँग एउटै रेडिमेड जवाफ छ– ‘अन्तर्राष्ट्रिय विमानस्थल चल्न समय लाग्छ।’ 

त्यसबाहेक कुन वर्षमा कति उडान गर्ने र कति कमाउने भन्ने व्यावसायिक योजना छैन। त्रिभुवन विमानस्थल त सञ्चालनको ७० वर्षको वरपर आएर पूर्ण क्षमतामा चल्दै छ भने १ वर्षमा नै गौतमबुद्ध  र पोखरामा उडान भएन भन्न नहुने प्राधिकरणका प्रवक्ता निरौला बताउँछन्। 

विदेशी ऋणमा बनेका दुवै अन्तर्राष्ट्रिय विमानस्थल ‘सेतो हात्ती’ बनिरहँदा सरकारले सार्वजनिक–निजी साझेदारी(पीपीपी) अवधारणामा चलाउने भनेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै गौतमबुद्ध र पोखरा विमानस्थलसँगै प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई पनि समेटी एकीकृत प्याकेजमा पीपीपी अवधारणा अवलम्बन गरिने बताएका हुन्। सरकारको निर्णयसँगै पीपीपी अवधारणको तयारीमा प्राधिकरण पनि अघि बढेको निरौलाको भनाइ छ।

सगरमाथाका १० मध्ये ७ विमानस्थल बन्द

साबिक सगरमाथा क्षेत्रका तीन पहाडी जिल्लामा एक निमार्णाधीनसहित १० विमानस्थल छन्। नियमित उडान भने तीनवटामा मात्र भइरहेको छ।

सोलुखुम्बुमा रहेका पाँचमध्ये दुई विमानस्थल मात्र चालू रहेको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्याल बताउँछन्। ‘पाँचमध्ये तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र सदरमुकामस्थित फप्लु विमानस्थल मात्रै सुचारु छन्। अरू तीनवटामा लामो समयदेखि उडान हुन सकेको छैन’, उनी भन्छन्। 

उनका अनुसार तीनमध्ये एउटाको निर्माण केही अधुरो भए पनि दुइटामा भने नियमित उडान भइरहेको थियो। स्याङबोचे र काँगेलमा उडान बन्द भएको धेरै भइसक्यो। महाकुलुङमा परीक्षण उडान तयारीमा रहेको अर्को विमानस्थल पनि अलपत्र छ। 

खोटाङमा तीन विमानस्थल छन्। खानीडाँडाबाहेक अन्य चालू छैनन्। लामीडाँडा र थामखर्कमा २०७२ सालयता उडान भएको छैन। लामीडाँडा विमानस्थल कालोपत्रे हुनुअघि २०७० सम्म व्यस्तमा पथ्र्यो। कालोपत्रेका लागि बन्द गरिएकामा परीक्षणपछि नियमित उडान हुन नसकेको त्यहाँका पत्रकार दमन राई सुनाउँछन्। थामखर्क पनि पहिले सञ्चालन भएर बन्द भएको हो।

ओखलढुंगामा पनि दुई विमानस्थल छन्। रुम्जाटार कालोपत्रे भएपछि केही समय चलेर २०७२ देखि सञ्चालनमा छैन। खिजिदेम्बाको दोमस विमानस्थल पनि परीक्षणपछि नियमित उडान हुन सकेको छैन।

खोटाङ र ओखलढुंगाका एक÷एकवटा विमानस्थल कालोपत्रे हुनुअघि मज्जाले चलेका थिए। टिकट पाउन ‘पावर’ लगाउनुपथ्र्यो। कालोपत्रेपछि भने रुम्जाटार र लामीडाँडामा उडान हुन सकेन। २०७२ सालयता दुवै विमानस्थल बन्द प्रायः छन्। 

सोलुखुम्बुमा पर्यटकीय सिजनमा हेलिकप्टरको अत्यधिक चाप र मौसम खराब हुँदा ती विमानस्थलमा केही समय हेलिकप्टर अवतरण गरी आराम गर्नुबाहेक अन्य प्रयोजन छैन। यहाँका विमानस्थल बन्द भए पनि कार्यालय यथावत् छ। कर्मचारी कार्यरत नै छन्। यसले राज्यलाई व्ययभार मात्रै थपिएको छ। 

होटलसँगै बन्द भएको मेघौली 

मेघौलीमा कुनै समय १० वटासम्म उडान हुन्थ्यो। तर, यो विमानस्थल १३ वर्षदेखि विमानविहीन बनेको छ। भरतपुर–२७ स्थित यो विमानस्थल २०६७ मंसिरदेखि बन्द छ। 

चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स होटल बन्द भएपछि यहाँ हवाई उडान रोकिएको हो। टाइगर टप्समा महँगा पर्यटक काठमाडौंबाट सीधै मेघौली आउँथे। तत्कालीन राजा महेन्द्र २०१७ सालमा विमानस्थल खुलेपछि विमान चढेर सिकार गर्न आउँथे। बेलायतकी तत्कालीन महारानी एलिजाबेथ २०२२ सालमा टाइगर टप्स जंगल लजको स्थापनासँगै चितवन आएकी थिइन्। 

‘विश्वका खर्चिला पर्यटक विमानमार्फत मेघौली आउँथे। टाइगर टप्स बन्द भएपछि अहिले सुनसान छ’, टाइगर टप्सका व्यवस्थापक रामसिंह गुरुङ भन्छन्, ‘एउटा इतिहास बोकेको र पर्यटकीय क्षेत्रमा भएको विमानस्थल सञ्चालनमा राज्यको चासो नहुँदा अलपत्र छ।’ विमानस्थल सञ्चालन हुने चर्चा चल्दै आए पनि त्यसले सार्थकता पाउन सकेको छैन। केही वर्षअघि चार्टर उडानको थालनी गरिए पनि निरन्तर हुन सकेन। विमानस्थल बन्द हुँदा पर्यटकीय गतिविधि प्रभावित भएको मेघौलीको होटल साराङ स्याङ्चुरीका सञ्चालक सुवोध प्रधान बताउँछन्। 

‘विमानस्थल चल्ने हो भने महँगा पर्यटक भिœयाउन सकिन्छ’, उनी भन्छन्, ‘यसलाई पर्यटकीय विमानस्थल घोषणा गरी सञ्चालन गर्नपर्छ। यसले धेरै संभावना बोकेको छ।’

इतिहास बन्यो जिरी 

सानो तर चिटिक्क, हरित उपत्यका, धर्म र प्रकृतिको संगम मानिन्छ जिरी नगरपालिका। यो ठाउँ सगरमाथा प्रवेशद्वार पनि हो। यही जिरी–६ स्थित विमानस्थल बन्द छ। यसलाई चलाउनेतर्फ सरोकारवालाको ध्यान गएको छैन।

जिरीको हाटडाँडा, मानेडाँडामा २०१८ सालमा जिरी विमानस्थल बनाइएको थियो। गहिरो ठाउँको विमानस्थल भनेर चिनिने यो विमानस्थल छोटो र हावा लाग्ने ठाउँमा भएका कारण धेरै दुर्घटना हुने गथ्र्यो। दुर्घटनाबाट बच्न विमानस्थल जिरी नगरपालिकाको हालको वडा नं ६ मा सारी २०२० सालमा निर्माण सम्पन्न गरी विमान अवतरण नै भएको जिरीका समाजसेवी इन्द्रबहादुर खड्का सुनाउँछन्। 

‘विशेष गरी स्विसहरूको लगानी र जनश्रमदानबाट बनेको एयरपोर्ट हाल बन्द छ। निर्माणलगत्तै स्विसहरूकै पिलाटस पोर्टर भन्ने सानो जहाज चल्ने गर्थ्यो’, उनी भन्छन्, ‘त्यसपछि २०३४ सालदेखि ४४ सालसम्म रोयल नेपाल एयरलाइन्सले  नियमित रूपमा साताको एकपटक बुधबार सेवा दिएको थियो।’ 

२०४२ सालदेखि सडकको विकास भयो। हवाई यातायातभन्दा सस्तो भएपछि नागरिकले सडक यातायात प्रयोग गर्न थाले। यात्रु नै नभएपछि वायुसेवा निगमले हवाई सेवा बन्द गरेको खड्काको भनाइ छ। 

पालुङटारमा कहिले बन्छ पाइलट प्रशिक्षण प्रतिष्ठान ?

प्रधानमन्त्री दाहालले आफू गोरखा–२ बाट उम्मेदवार बन्दा भनेका थिए– ‘बन्द अवस्थामा रहेको पालुङटार एयरपोर्टलाई पाइलट प्रशिक्षण प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने छौं।’ 

उनले यो कुरा पटक–पटक भनेका थिए। नागरिकले शीर्ष नेताले बोलेको कुरा कसो पूरा नहोला त भनेर भोट दिएर जिताए। तर, दाहालले आफू प्रधानमन्त्री बनेपछि चुनावी प्रतिबद्धताअनुसार न कुनै घोषणा गरेका छन् न त गोरखा आउँदा उक्त वाक्य दोहो¥याएका छन्। 

‘चुनाव पनि जित्नुभो, प्रधानमन्त्री पनि हुनुभो। पालुङटारै घर भएका सुरेन्द्र पाण्डे पनि मुख्यमन्त्री बन्नुभयो। अर्का नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुभो। अब त पक्कै पनि बोलेको कुरा पु¥याउनु हुन्छ भन्ने आशा थियो’, स्थानीयवासी चेतकुमारी श्रेष्ठ भन्छिन्, ‘तर यतिका भइसक्यो, कुनै घोषणा भएकोे छैन। अहिले गोरखा आउँदा त त्यो भाषण पनि सुन्न छोडियो।’ पालुङटार विमानस्थल सञ्चालन नभएको करिब ४३ वर्ष भयो। २०१७ सालदेखि सञ्चालनमा आएकामा २०३६ देखि कुनै पनि उडान हुन सकेको छैन। बरु गौचरण बनेको छ। लम्जुङ, मनाङ र तनहुँका यात्रुले सेवा लिएका यो विमानस्थल काठमाडौं–पोखरा राजमार्ग बनेपछि बन्द भएको हो। 

प्राधिकरणले तीन वर्षअघि स्तरोन्नति प्रक्रिया अघि बढाएको थियो। २०७७ मा ठेक्का सम्झौता गरेर धावनमार्ग बनाउने प्रक्रिया अघि बढे पनि अतिक्रमित जग्गाको विवादले काम रोकियो। करिब १८५ रोपनीमा फैलिएको विमानस्थलको करिब १२ रोपनी जग्गा अतिक्रमण भएको छ। 

विमानस्थल बन्यो, विमान आउँदैन

सुनथराली विमानस्थल बन्न ३८ वर्ष लाग्यो। २०४२ सालमा निर्माण थालिएकामा २०७९ पुसमा बल्ल सम्पन्न भयो। कालीकोटको नरहरीनाथ गाउँपालिका कोटबाडास्थित यो विमानस्थलमा जहाज भने आएको छैन। स्थानीयवासी उमेश बिष्टका अनुसार झन्डै चार दशकमा बनेको विमानस्थल एक वर्षमै गौचरण बन्न पुगेको छ। भन्छन्, ‘जहाज आएको छैन। अब यो बिमानस्थलमा जहाज आउन अझ कति वर्ष लाग्ने हो ?’ 

विमानस्थल २०७९ पुसमा बल्लतल्ल कालोपत्रे भयो। तब कालीकोटवासीमा विमान चढ्न पाइएला भन्ने आशा जाग्यो। तर, भौगोलिक रूपमा ठगिएका स्थानीयवासीलाई सरकारले पनि ‘धोका’ दियो। विमानस्थल उद्घाटनको खबर पठाउँदै कार्यक्रम स्थगन गरिँदै आएको छ। सबै संरचना तयार भएर पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन। गत वर्ष फागुनमा पहिलोपटक जहाज आउने हल्ला चल्यो। त्यसपछि नयाँ वर्षमा उद्घाटन गर्ने भनियो। अर्को वैशाख १३ गतेको हल्ला फिजाइयो। तर, भएन।

पछिल्लोपटक गत भदौ १३ गते परीक्षण उडान गर्ने भनियो। प्रधानमन्त्रीले विमानस्थल उद्घाटन गर्ने कार्यतालिका पनि तयार थियो। तर, एकाएक उक्त कार्यक्रम स्थगन भएको खबर आयो। अर्थात्, परीक्षण उडान र विमानस्थल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यतालिका फेरि स्थगित भयो भन्ने खबरले कालीकोटवासीलाई निराश बनायो। आँगनमै जहाज हेर्ने र जहाज चढेर यात्रा गर्ने कालीकोटवासीको सपना टुट्यो। स्थानीयवासी अब भने जहाज आउनेमा आशावादी छैनन्। 

रुकुमपश्चिमको चौरजहारी विमानस्थल पनि बनेको सात वर्ष बित्यो। तर, जहाज आएको छैन। नागरिक समाजका अगुवा लक्ष्मण केसी भन्छन्, ‘रुकुममा मात्रै दुइटा विमानस्थल छन्। मुसिकोटमा सल्ली विमानस्थल र चौरजहारी विमानस्थल। रुकुमपश्चिम सदरमुकामस्थित सल्ली विमानस्थल त फाटफुट सञ्चालन भइरहेको छ। तर, चौरजहारी विमानस्थल निर्माण भएदेखि नै सञ्चालनमा आउन सकेको छैन।’ 

उनका अनुसार सल्ली विमानस्थल रुकुमपश्चिम र रुकुमपूर्व अनि चौरजहारी विमानस्थल चौरजहारी, जाजरकोट र सल्यानसम्म सेवा दिन भनेर बनाइएको हो। चौरजहारी कालोपत्रे भएको ७ वर्ष बित्यो। तर, जनताले जहाज देख्न पाएका छैनन्। 

२०२८ सालमा निर्माण थालिएको चौरजहारीमा कच्ची धावनमार्गमा जहाज अवतरण गर्न समस्या हुने भन्दै ४२ वर्षपछि २०७० मा कालोपत्रे गरियो। तर, त्यसपछि जहाज आउनै छाड्यो। कालोपत्रे हुनुअघि निगमको जहाजले सातामा दुई दिन उडान गथ्र्यो। यात्रुलाई टिकट दिने, जहाज चढाउने र अरू व्यवस्थापनको काम गर्ने निगमले चौरजहारीबाट कार्यालय उठाएको छ। कालोपत्रेअघि काठमाडौं–चौरजहारी–नेपालगन्ज र नेपालगन्ज–चौरजहारी–काठमाडौं उडान हुन्थ्यो। कच्ची धावनमार्ग हुँदा सञ्चालन भएको उक्त विमानस्थल जब कालोपत्रे भयो तब सञ्चालन पनि बन्द भयो। यसले रुकुमपश्चिम, जाजरकोट र सल्यानका नागरिकलाई हवाई सेवाबाट बञ्चित गरेको छ। 

१० विमानस्थल, ४ मा मात्रै उडान

बैतडीको पाटनमा झन्डै १६ करोड बजेटमा प्राधिकरणले पक्की धावनमार्ग बनायो। माओवादीले भत्काएको रिपिटर टावर पनि बन्यो। समिट एयरले केही महिना उडान पनि भ¥यो। तर, २०७८ चैत १० गतेको उडान नै अन्तिम बन्यो। त्यसपछि यात्रुको अभाव देखाउँदै उडान बन्द गरेको समिट एयरले जनाएको छ। 

११ करोड लागतमा धावनमार्ग र ५ करोड लागतमा टर्मिनल भवन बनाइएको हो। यो विमानस्थल फोटो खिच्ने र घुमफिर गर्ने स्थलमा परिणत भएको छ। २०७७ सालमा परीक्षणपछि व्यावसायिक उडानसँगै स्थानीयवासी तथा सरोकारवालाले खुसी व्यक्त गरेका थिए। उनीहरू उडान ठप्प हँुदा निराश बनेका छन्। सरकारले विमानस्थलमा करोडौं लगानी गरेर अलपत्र छाडेको जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमनकुमार भण्डारी बताउँछन्। नियमित उडान नहुने र भाडा पनि महँगो हुनाले यात्रु पाउन मुस्किल हुने गरेका सेवाग्राहीको भनाइ छ। 

दीपायलमा पनि २०७९ भदौ ६ गतेदेखि उडान भएको छैन। धनगढीमा जहाज राखेर समिट एयरले दीपायलसहित सुदूरपश्चिमका पक्की विमानस्थलमा उडान भर्दै आएको थियो। समिट एयरलाइन्सले २०७७ असोज १७ गते परीक्षण उडान गरेको थियो। त्यसपश्चात् केही समय हवाई सेवा निरन्तर भए पनि अहिले बन्द छ। समिटले निरन्तरता दिन नसकेपछि नेपाल एयरलाइन्सले सुरु गरेको उडान पनि बन्द छ। डोटी नागरिक उड्डयन कार्यालय दिपायलमा कर्मचारीसमेत छैनन्। रेखदेखका लागि भन्दै एक कर्मचारी भए पनि यस बिषयमा उनलाई कुनै किसिमको जानकारी छैन।

दीपायल विमानस्थल झन्डै ७ करोड लगानीमा कालोपत्रे भएको हो। स्थानीयवासी तेज डुम्रेल भन्छन्, ‘दिपायल विमानस्थल कालोपत्रे हुँदा अब नियमित उडान हुन्छ भन्ने आशा लागेको थियो। तर, फेरि बन्द भइसक्यो।’ लामो समयदेखि जहाज नआए पनि नयाँ भौतिक संरचना निर्माणले भने निरन्तरता पाएको छ। डोटी विमानस्थल आयोजनाअन्र्तगत टर्मिनल भवन र टावर निर्माण भइरहेको छ। जुन बनाउन ५ करोड ९ लाख लागतमा ठेक्का भएको छ।

सुदूरपश्चिममा कैलालीको धनगढी (पक्की) र टीकापुर (कच्ची), कञ्चनपुरको मजगाउँ (निर्माणाधीन), दार्चुलाको गोकुलेश्वर (निर्माणाधीन), बैतडीको पाटन (पक्की), अछामको साँफेबगर (पक्की) र कमल बजार (कच्ची), बझाङको चैनपुर (पक्की), बाजुराको कोल्टी (पक्की) र डोटीको दीपायल (पक्की)मा गरी १० वटा विमानस्थल छन्। 

धनगढीमा बुद्ध एयर र श्री एयरलाइन्सको ७ वटा उडान दैनिक छ। बाजुरामा पनि उडान भइरहेको छ। साँफेबगर, बझाङको चैनपुरमा सातामा २ दिन समिट एयरले उडान गरे पनि अरू विमानस्थलमा भने कालोपत्रे भएर पनि हवाई सेवा चालू भएको छैन।

सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय विमानस्थल
–    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
–    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
–    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सञ्चालनमा रहेका आन्तरिक विमानस्थल
–    ताप्लेजुङ विमानस्थल
–    फाल्गुनन्द विमानस्थल
–    चन्द्रगढी विमानस्थल
–    विराटनगर विमानस्थल
–    तुम्लिङटार विमानस्थल
–    राजविराज विमानस्थल
–    खानीडाँडा विमानस्थल
–    लामीडाँडा विमानस्थल
–    थामखर्क विमानस्थल
–    भोजपुर विमानस्थल
–    फाप्लु विमानस्थल
–    लुक्ला विमानस्थल
–    रुम्जाटार विमानस्थल
–    जनकपुर विमानस्थल
–    रामेछाप विमानस्थल
–    सिमरा विमानस्थल
–    भरतपुर विमानस्थल
–    पोखरा विमानस्थल
–    गुल्मी विमानस्थल
–    दाङ विमानस्थल
–    नेपालगन्ज विमानस्थल
–    सल्ले (रुकुम) विमानस्थल
–    डोल्पा विमानस्थल
–    जोमसोम विमानस्थल
–    जुम्ला विमानस्थल
–    रारा विमानस्थल
–    सिमिकोट विमानस्थल
–    बाजुरा विमानस्थल
–    साँफेबगर विमानस्थल
–    डोटी विमानस्थल
–    धनगढी विमानस्थल
–    बैतडी विमानस्थल
–    बझाङ विमानस्थल
–    जनकपुर विमानस्थल
–    सुर्खेत विमानस्थल

प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल
–    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

के हुँदै छ पोखराको पुरानो विमानस्थलमा ? 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पुरानोमा चहलपहल धेरै घटेको छ। नयाँमा अलि बढी चाप हुने भए पनि पुरानो विमानस्थल पनि सञ्चालनमै छ। पुरानो पोखरा विमानस्थलबाट सन् २०२३ मा मात्र ५३ हजार ५ सय १६ जनाले सेवा लिएका तथ्यांक छ। पोखरा–जोमसोम उडान हेलिकप्टर र अल्टालाइट पुरानो विमानस्थलबाट चल्ने गरेका हुन्।

पोखरा विमानस्थलबाट तारा र समिट एयरले जोमसोम उडान गर्छन्। हेलिकप्टर उडानको साथै अल्टालाइटबाट पोखराको दृश्यावलोकन पनि पुरानो विमानस्थलबाट हुने गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जशोदा रेग्मी बताउँछिन्।

पोखराबाट मुक्तिनाथ तीर्थयात्रा गर्ने भारतीय पर्यटक बढी जाने गर्छन्। तेस्रो मुलुकका पर्यटक, आन्तरिक पर्यटक र स्थानीयसमेत जाने हुँदा जोमसोम उडान व्यस्त रहने गर्छ।

सुनिता कार्की/काठमाडौं
शिवप्रसाद ढुंगाना/ओखलढुंगा
अनिल ढकाल/चितवन
भवानी खड्का/दोलखा
शिव उप्रेती/गोरखा
कृष्णमणि बराल/पोखरा
बिस्नप्रसाद न्यौपाने/वीरेन्द्रनगर
कृष्ण बिष्ट/बैतडी
खगेन्द्रबहादुर सिंह/डोटी  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.