कोशीको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

कोशीको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

विराटनगर : कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलको समर्थनमा राप्रपाका विष्ट सभामुखमा निर्वाचित भएका हुन् ।

प्रदेशसभामा आज भएको निर्वाचनमा अरूको उम्मेदवारी नपरेको भन्दै उपसभामुख सिर्जना दनुवारले विष्टलाई निर्वाचित घोषणा गरिन् । विष्टको प्रस्तावकमा भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ रहेका छन् ।

अब,विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने छन् । विष्ट गत निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभामा निर्वाचित भएका थिए । झापाको गौरादह नगरपालिका-७का बासिन्दा ७० वर्षीय विष्ट संघीयता र गणतन्त्रका प्रखर विरोधी मानिन्छन् ।

तर,नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपा गरी सबै गणतन्त्रवादी दलहरूको समर्थनमा कोशी प्रदेशको सभामुख बनेका हुन् ।

गत साउन १६ तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त थियो । गत वर्षको पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए ।

को हुन् सभामुख विष्ट ?

२०१० सालमा जन्मिएका विष्ट विद्यार्थी कालमा २०२७ सालमा अनेरास्ववियुमा आबद्ध भएका थिए । उनी विराटनगरको महेन्द्र मोरङ क्याम्पस अध्ययन गर्दा २०२८ सालमा अखिलको इकाई उपसभापतिमा उम्मेदवारसमेत बनेका थिए । अखिलकै राजनीतिमा सक्रिय रहेका उनी २०३२ सालमा भने पञ्चायतको समर्थक बने ।

२०३३ सालमा जुरेपानी गाउँ पञ्चायत वडा नम्बर ५ को वडाध्यक्ष निर्वाचित भएका विष्ट त्यसको एक वर्षपछि सोही गाउँ पञ्चायतको उपप्रधानपञ्च भए । उपप्रधापञ्चपछि उनी १० वर्ष जिल्ला पञ्चायतको उपसभामपति रहे । बहुदलीय व्यवस्थाको स्थापनापछि खुलेको पूर्वपञ्चहरुको पार्टी राप्रपामा सक्रिय रहेका विष्टलाई राप्रपासहितको सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी विकास बोर्डको सदस्यसचिवमा पनि नियुक्त गरेका थिए । उनी राप्रपाको जिल्ला सचिव र अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.