इटहरीमा जलन अस्पताल बनाउन प्रदेश सरकारले डेढ करोड दिने
विराटनगर : कोशी प्रदेश सरकारले जलन अस्पताल निर्माणको लागि जनस्वास्थ्य सरोकार ट्रष्टलाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। सुनसरीको इहटरी उपमहानगरपालिका-११ पकलीमा बन्न आँटेको जलन अस्पतालका लागि प्रदेश सरकारले डेड करोड रुपैयाँ उपलब्ध गराउने भएको हो।
बुधबार मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ट्रष्टले पकलीमा सात वर्षअघि किनेको दुई बिघा १० कठ्ठा जग्गामा ५० शय्याको जलन र ५० शय्याको सामान्य गरी १०० शय्याको अस्पताल निर्माण गर्न लागेको छ। सो अस्पताल ४० करोड लागतमा निर्माण हुने ट्रष्टले जनाएको छ।
प्रदेश सरकारले बजेटमार्फत निजी क्षेत्रसँगको सहकार्यमा जलन अस्पताल बनाउने भनेर गरेको घोषणाअनुसार ट्रष्टलाई रकम दिने सम्झौता भएको हो। सो सम्झौताअनुसार तीन मिहनाभित्र अस्पताल निर्माण सुरु गर्न एक करोड ५० लाख रुपैयाँ प्रदान गरिने छ। आवश्यक थप बजेट पनि उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन्।
मुख्यमन्त्री कार्कीले कोशी र मधेस प्रदेशका आगलागीमा परी घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया थालेको बताए। अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताए।
प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोगबापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने तथा जलनसम्बन्धी विशेषज्ञ र विशिष्टीकृत सेवा प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !