बालविवाह अन्त्यका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्छ : आरजु राणा देउवा
काठमाडौं : प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापित डा. आरजु राणा देउवाले बालविवाह अन्त्यका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताएकी छन्।
ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति डा. देउवाले सामाजिक सचेतनाका साथै कानुनीरूपमा प्रबन्ध गरेर बालविवाह नियन्त्रण गर्नुपर्ने बताइन्। सामाजिकरूपमा बालबालिकालाई किशोरावस्थामा आउने परिवर्तनबारे सचेत गराउने, अभिभावकलाई बालविवाह गर्दा हुँदा बच्चाले भोग्नुपर्ने शारीरिक तथा मानसिक समस्याबारे सचेत गराउनुपर्ने भन्दै देउवाले कानुनीरूपमा वडाबाट अनुमति लिएर विहे गर्ने प्रबन्ध गरेमा बालविवाह नियन्त्रण हुने बताइन्।
नेपालमा १५ मुनिको बालबिबाह ८ प्रतिशत र १८ मुनिको बालविवाह ३३ प्रतिशत गरी कुलमा ४१ प्रतिशत रहेको र यो भयावह अवस्था रहेको भन्दै सभापति डा. देउवाले सन् २०३० सम्म नेपालले बालबिबाह अन्त्य गर्नुपर्ने लक्ष्य हासिल गर्न सामाजिक र कानुनी प्रबन्ध गर्नुपर्ने जोड दिइन्।
'२०३० सम्म लक्ष्य प्राप्ति गर्नुपर्ने भएकाले सामाजिक सचेतनाबाट मात्रै होइन कानुनीरूपमा प्रबन्ध गर्नुपर्छ। अब ६ वर्षमात्रै बाँकी छ,' उनले भनिन्, 'लाइसेन्स लिएर विहे गर्ने एकदमै राम्रो उपाय हुनसक्छ। वडाबाट लाइसेन्स लिनै व्यवस्थाले बालविवाह अन्त्यमा राम्रो योगदान गर्छ। यसले विहेको निहुँमा हुने बेचबिखन पनि रोक्छ।' बालविवाह गर्ने परिवारलाई सरकारी सुविधाबाट वञ्चित गर्ने विकल्पमा पनि जानुपर्ने उनले बताइन्।
यसमा सरकारसँग समन्वय गरेर कार्यान्वयनमा ल्याउन सभापति देउवाले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिलाई अनुरोध गरिन्। महिला समिति सभापति किरण कुमार साहले बालविवाह अन्त्यका लागि समितिले नीतिगतरूपमा पहल गरिरहेको भन्दै यहाँ आएका सुझावलाई ग्रहण गरेर अघि बढ्ने बताइन।
महिला तथा बालबालिका मन्त्री सुरेन्द्रराज आचार्यले विहे गर्ने केटा र केटीको नागरिकता वडाले हेरेर अनुमति दिने व्यवस्था गर्न सकिए बालविवाह अन्त्यमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। 'वडा कार्यालयमा केटा र केटीको नागरिकता राखेर विवाहको स्वीकृति लिने व्यवस्था नगरेसम्म यो लक्ष्य हासिल हुँदैन। नागरिकता देखाएर विवाहको लागि अनुमति लिने प्रावधान राख्यो भने बालबिबाहमा कमी आउँछ। सिफारिस वडाबाटै गर्यो भने समस्यामा धेरै कमी आउँछ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !