राजनीतिले स्वास्थ्य क्षेत्र थिलथिलो

बीपी प्रतिष्ठान सधैं अस्तव्यस्त

बीपी प्रतिष्ठान सधैं अस्तव्यस्त
काम छाडेर आन्दोलनमा उत्रिएका बीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी । तस्बिर : रत्नप्रसाद आचार्य

चिकित्सक र कर्मचारी आन्दोलित भएकै कारण आइतबारदेखि आकस्मिकबाहेक सेवा ठप्प भएको छ। सयौं बिरामी बिना उपचार फर्किन बाध्य भएका छन्।

धरान : सुनसरीको धरान उपमहानगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बनेको छ। यहाँका पदाधिकारी उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र निर्देशकहरू दलीय आस्थाका भरमा नियुक्त हुँदा संस्थाको साख गिर्दै गएको हो। धेरैजसो पदाधिकारी भ्रष्टाचारमा मुछिएका छन्। संस्थालाई मजबुत बनाउनभन्दा पनि आर्थिक अनियमितताका घटनामा संलग्न रहँदा स्वास्थ्य सेवा र दक्ष जनशक्तिमा ह्रास आउन थालेको छ।  

पदाधिकारीले प्रतिष्ठान सञ्चालनमा लापरबाही गर्दा चिकित्सक र कर्मचारीले आन्दोलन गर्ने गरेका छन्। चिकित्सक र कर्मचारी आन्दोलित भएकै कारण आइतबारदेखि आकस्मिकबाहेक सेवा ठप्प भएको छ। सयौं बिरामी बिना उपचार फर्किन बाध्य भएका छन्। 

प्रतिष्ठान व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएको भन्दै उनीहरू काम छाडेर आन्दोलनमा उत्रिएका छन्। जो उपकुलपति कार्यालय अगाडि धर्नामा बसेका छन्। कर्मचारीले बिरामीको पुर्जा काट्ने बिल काउन्टर बन्द गरेका छन्। चिकित्सकले बिरामी जाँच्न छाडेका छन्। आन्दोलनरत चिकित्सक र कर्मचारीलाई काममा फर्काउन प्रतिष्ठान व्यवस्थापन पक्षले पहल गरेको छैन। 

प्रतिष्ठानमा डा. प्रल्हाद कार्की उपकुलपति, डा. सञ्जीवकुमार शर्मा शिक्षाध्यक्ष, सूर्यप्रसाद संग्रौला रजिष्ट्रार डा. जगतनारायण प्रसाद निर्देशक छन्। तर, यी चार पदाधिकारीबीच नै समन्वय नहुँदा प्रतिष्ठानको अवस्था कमजोर बनेको हो। 

व्यवस्थापन पक्षले लामो समयदेखि चिकित्सकको बढुवा प्रक्रिया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रनुपरेको प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष डा. प्रदीप आचार्यले बताए। प्रतिष्ठानबाट अवकाश भइसकेका प्रल्हाद कार्कीलाई स्वास्थ्यमन्त्री मोहन बस्नेतले कामु उपकुलपतिको जिम्मेवारी दिएका कारण संस्था सञ्चालनमै गम्भीर समस्या भएको आरोप उनले लगाए। कार्की कार्यालयमा नबस्ने गरेका कारण प्रतिष्ठान सञ्चालनमा समस्या भएको भन्दै धरानका मेयर हर्कराज राईले उपकुलपति कार्यालयमा ताला लगाएका छन्। उनले बीपी प्रतिष्ठान स्थानीय सरकारलाई सञ्चालन अनुमति दिन सरकारसँग माग गरेका छन्। 

प्रतिष्ठानको कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकाल कार्कीले कार्यकारिणी समितिको बैठक नबोलाएको र कार्यालयमा समेत नबसेका कारण आफ्नो हकअधिकार स्थापित गराउन काम छाडेर आन्दोलन गर्नुपरेको बताइन्। तत्काल कार्यकारिणी समितिको बैठक बोलाएर चिकित्सक र कर्मचारीहरूका मागलाई सम्बोधन गरे आफूहरू नियमित काममा फर्कने उनको भनाइ छ। 

  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक २५ सयदेखि ३ हजारसम्म बिरामी उपचार गर्न आउने गरेका छन्। जहाँ क्यान्सरबाहेक रोगको उपचार हुने गरेको छ। तर, राजनीतिक हस्तक्षेपका कारण प्रतिष्ठान अस्तव्यस्त बनेको छ। दलीय आस्थाका भरमा नियुक्ति खाने पदाधिकारी धेरैजसो भ्रष्टाचारमा मुछिएका छन्। संस्थालाई मजबुत बनाउनभन्दा पनि आर्थिक अनियमितताका घटनामा संलग्न हुँदा प्रतिष्ठानको सेवाप्रवाह प्रभावित भएको छ। 
  • पदाधिकारीले लापरबाही गर्न थालेपछि यहाँ कार्यरत चिकित्सक र कर्मचारीले आन्दोलन गर्ने गरेका छन्। चिकित्सक र कर्मचारीको आन्दोलनका कारण आइतबारदेखि आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प छ। सयौं बिरामी बिनाउपचार फर्किन बाध्य बनेका छन्। आन्दोलनरत चिकित्सक र कर्मचारीलाई काममा फर्काउन प्रतिष्ठान व्यवस्थापन पक्षले पहल गरेको छैन। 
  • प्रतिष्ठानबाट अवकाश भइसकेका व्यक्तिलाई स्वास्थ्यमन्त्रीले कामु उपकुलपतिको जिम्मेवारी दिँदा समस्या भएको सरोकारवाला बताउँछन्। जो कार्यालयमा नबस्नाले संस्था सञ्चालनमा समस्या भएको भन्दै धरानका मेयरले ताला लगाएका छन्। 

यो प्रतिष्ठान स्वास्थ्य सेवा, अनुसन्धान र स्वास्थ्य शिक्षाका दृष्टिले देशकै अब्बल मानिन्छ। बीपी कोइरालाका नाममा २०५० भदौ २४ गते स्थापित संस्थाले दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य सेवा र चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी चर्चासमेत कमायो। प्रतिष्ठानमा अध्ययन गरेका चिकित्सक र नर्स स्वदेशमा मात्र होइन, जुनसुकै मुलुकमा अब्बल मानिन्छन्। प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरमा अब्बल साबित गर्न प्रतिष्ठानका पूर्वउपकूलपतिहरू डा. सुन्दरमणि दीक्षित, डा. मदन उपाध्याय, डा. शेखर कोइराला, डा. लोकविक्रम थापा र डा पूर्णचन्द्र कर्माचार्यको ठूलो योगदान छ।

तर, पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै त्यो साख गिर्न थालेको छ। आर्थिक चलखेल गरी पदाधिकारी नियुक्त भएकाहरूले चरम भ्रष्टाचार गर्ने गरेकै कारण आर्थिक रूपमा समेत धराशायी बन्दै आएको छ। पदाधिकारीको अक्षमताका कारण प्रतिष्ठानमा दैनिकजसो आन्दोलन हुन थालेको हो। 
यसले समग्र प्रतिष्ठानलाई कमजोर बनाउनुका साथै स्वास्थ्य सेवा र गुणस्तरीय जनशक्ति उत्पादनमा गम्भीर समस्या उत्पन्न भएको डा. विष्णु पोखरेलले बताए। प्रतिष्ठानमा भ्रष्टाचार गर्नेहरूलाई कडा कारबाही नभएकै कारण देशकै ठूलो स्वास्थ्य संस्था अस्तव्यस्त हुन पुगेको उनको ठम्याइँ छ। प्रतिष्ठानमा दैनिक २५ सयदेखि ३ हजारसम्म बिरामी उपचार गर्न आउने गरेका छन्। क्यान्सरबाहेक रोगको उपचार हुने गरेको छ। 

राजनीतिको ‘भर्‍याङ’ चढेर उपकुलपति बनेकाहरूले ठूलो आर्थिक अपचलन गरेका छन्। औषधि, उपकरण र भौतिक पूर्वाधार निर्माणमा भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ। यहाँका चिकित्सक र विद्यार्थीले प्रतिष्ठान सुधार र यहाँ हुने भ्रष्टाचार अन्त्य र दोषीउपर कारबाहीको माग राखेर निरन्तर आन्दोलन गरिरहेका छन्। 

null

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएर प्रतिष्ठान सुधारको माग गरे पनि सरकारले प्रतिष्ठान सुधारमा खासै चासो नदेखाएको डा. अशोक ऐरले बताए। प्रतिष्ठान सुधारमा सरकारले कुनै चासो नदेखाउँदा यसको प्रत्यक्ष असर बिरामीले भोग्नुपरेको कांग्रेसका महाधिवेशन प्रतिनिधि रवि राईको बुझाइ छ। उनले प्रतिष्ठान सुधार गर्न योग्य व्यक्तिलाई पदाधिकारीमा नियुक्ति गर्नुपर्ने सरकारलाई सुझाव दिएका छन्। 

पर्याप्त स्रोत, साधन र दक्ष जनशक्ति हुँदाहुँदै पनि प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीले सहज रूपमा उपचार पाउन सकेका छैनन्। आईसीयू, एनआईसीयू, डाइलासिस, भिडियो एक्सरे, सिटीस्क्यान, एमआरआई, र सर्जरी सेवा पर्याप्त नहुँदा बिरामीहरू विराटनगर र काठमाडौं जान बाध्य छन्। कतिपय बिरामी आईसीयू सेवा नपाएकै कारण अकालमा ज्यान गुमाउन बाध्य छन्। धरान १५ का गोविन्द बस्नेतले प्रतिष्ठानमा आईसीयू सेवा नभएकै कारण आफूले आमालाई गुमाउनु परेको गुनासो गरेका छन्। 

डाइलासिस, भिडियो एक्सरे, सिटीस्क्यान र एमआरआई सेवा लिन बिरामीले एक महिना पालो पर्खनुपर्छ। सिकिस्त बिरामीलाई महिना दिन पालो पर्खन लाउनु प्रतिष्ठानको गम्भीर कमजोरी रहेको धरान–१५ का वडाअध्यक्ष नरेश इवारमले बताए। कामु उपकुलपति डा. प्रल्हाद कार्की शिक्षाध्यक्ष डा. सञ्जीवकुमार शर्मा, रजिष्ट्रार सूर्यप्रसाद संर्गौला र निर्देशक जगतनारायण प्रसादले प्रतिष्ठानको कामकाज सन्तोषजनक ढंगले गरी प्रतिष्ठानलाई पहिलेकै अवस्थामा पुर्‍याउन उनले सुझाव दिएका छन्। 

हालको संरचना पुनर्संरचना गरी यहाँको स्वास्थ्य सेवा सुधार गर्न आवश्यक रहेको माओवादी धरानका कार्यवाहक अध्यक्ष सम्फर तामाङले बताए। संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य सेवालाई अब कुनै राजनतिक दल, नागरिक समाज, नियुक्त हुने पदाधिकारी कसैले पनि कमाई खाने भाँडो बनाउनु नहुने उनको सुझाव छ। 

प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास, राजकुमार रौनियार, ज्ञानेन्द्र गिरी भ्रष्टाचारमा दोषी ठहर भइसकेका छन्। रौनियारको मृत्यु भइसकेको छ। अन्य दुई जना निलम्बनमा परेका छन्। पूर्वरजिष्ट्रारहरू नन्दकिशोर थापा, तुलबहादुर श्रेष्ठ र मोहनचन्द्र रेग्मी पनि भ्रष्टाचारका घटनामा मुछिएका छन्। श्रेष्ठ र थापा दोषी ठहर भएका छन् भने रेग्मीको मुद्दा विचाराधीन छ। त्यस्तै प्रतिष्ठानका पूर्वनिर्देशक अरविन्द सिन्हा पनि भ्रष्टाचारमा दोषी ठहर भई निलम्बनमा परेका छन्। सरकारले प्रतिष्ठानका पदाधिकारी नियुक्त गर्दा योग्य र सक्षम व्यक्तिलाई चयन नगर्दा नै यस्ता समस्या भएकाले एमाले नेता तथा पूर्वसंसद जयकुमार राईले बताएका छन्। 

बीपी प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद संर्गौलाले शिक्षक कर्मचारीको बढुवा प्रक्रिया लोकसेवा आयोगले नयाँ नियमावली बनाएर गर्न निर्देशन दिएकाले नयाँ नियमावली बनाएर प्रक्रिया सुरु गरिएको बताए। संर्गौलाले प्रतिष्ठानलाई सोचे जस्तो सुधार गर्न भने नसकिएको स्विकार गरेका छन्। उनले बीपी प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार गर्न पहल भइरहेको दाबी गरे। यस विषयमा बुझ्न प्रतिष्ठानमा नभेटिएका कामु उपकुलपति प्रल्हाद कार्कीलाई पटक–पटक फोन गर्दा उनले फोन उठाएनन्।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.