काग फ्लुः सतर्क बनौं, सुरक्षित रहौं
३ महिनादेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बर्ड फ्लुको संक्रमण फैलिन थालेको छ। यसले जनस्वास्थ्य र पशुपन्छी दुवै क्षेत्रमा चिन्ता बढेको छ।
बर्ड फ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। हाल मुलुकका ११ जिल्लाका कुल ८२ स्थानमा यो रोग पुष्टि भएको छ। कतिपय जिल्लामा भने यो रोग नियन्त्रणमा आइसकेको छ। संक्रमण फैलिनुको प्रमुख कारण बर्ड फ्लु संक्रमित काग हुन सक्ने अनुमान गरिएको छ। केही महिनाअघि काठमाडौंमा ठूलो संख्यामा काग मरेपछि गरिएको परीक्षणले बर्ड फ्लु पुष्टि गरेको थियो। विभागले संक्रमित कागमार्फत कुखुरा तथा हाँसमा संक्रमण फैलिएको निष्कर्ष निकालेको छ।
बर्ड फ्लु एभियन इन्फ्लुएन्जा भाइरसबाट हुने रोग हो। इन्फ्लुएन्जा ‘ए’ भाइरसका विभिन्न प्रकारमध्ये ‘एच५एन१’ र ‘एच९एन२’ नेपालमा विशेष चिन्ताको विषय बनेका छन्। ‘एच५एन१’ उच्च घातक मानिन्छ। विगतमा मानिसमा समेत गम्भीर संक्रमण तथा मृत्यु गराएको इतिहास छ। सन् १९९७ मा हङकङमा पहिलोपटक यसबाट मानवीय मृत्यु भएको थियो। यसको मृत्युदर ५० प्रतिशतभन्दा बढी रहेको विभिन्न अध्ययनले देखाएका छन्। हाल नेपालका पोल्ट्री फार्महरूमा बढी देखिएको ‘एच९एन२’ अपेक्षाकृत मानवमा कम घातक मानिन्छ। तर पनि कुखुरामा ठूलो क्षति पु¥याइिरहेको छ।
मानिसमा बर्ड फ्लु संक्रमण भए उच्च ज्वरो, खोकी, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, शरीर तथा टाउको दुख्ने, थकान र कतिपय अवस्थामा पखाला लाग्ने लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा निमोनिया र श्वास–प्रश्वाससम्बन्धी जटिलता हुन सक्छ। पछिल्लो समय अमेरिकामा संक्रमित गाईवस्तु तथा काँचो दूधमार्फत पनि ‘एच५एन१’ मानिसमा सरेको पुष्टि भएको
छ, जहाँ आँखा रातो हुनु प्रमुख लक्षण देखिएको थियो।
हालसम्म मानिसका लागि बर्ड फ्लुविरुद्ध प्रभावकारी खोप उपलब्ध छैन। संक्रमण पुष्टि भएमा ‘ओसेलटामिभिर’ नामक एन्टिभाइरल औषधि प्रयोग गर्न सकिन्छ। त्यसैले रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय मानिन्छ।
चिन्ताको विषय भनेको संक्रमित कागमार्फत फैलिने सम्भावित जोखिम हो। काग खुला वातावरणमा स्वतन्त्र रूपमा विचरण गर्ने भएकाले यसको नियन्त्रण कठिन छ। कुखुरापालक किसानलाई संक्रमणबाट जोगिने उपायबारे केही जानकारी भए पनि संक्रमित कागबाट कसरी सावधानी अपनाउने भन्ने विषयमा पर्याप्त जनचेतना अझै छैन।
बर्ड फ्लु नयाँ समस्या होइन। यसको जोखिम भविष्यमा पनि दोहोरिन सक्ने उत्तिकै रहन्छ। त्यसैले संक्रमणको निगरानी, जनचेतना अभिवृद्धि, पोल्ट्री क्षेत्रमा जैविक सुरक्षा उपाय तथा नागरिकका लागि सरल र व्यावहारिक सावधानीका निर्देशिका जारी गर्नु आवश्यक छ। अन्यथा बर्ड फ्लुले थप चुनौती सिर्जना गर्न सक्छ।
प्रतिक्रिया दिनुहोस !