स्वस्थ दाँत, स्वच्छ मुख
प्रत्येक गर्भावस्थामा एउटा दाँत झर्दछ वा दाँत कमजोर हुने र दाँत झर्ने स्वाभाविक हो भन्ने सोचाइ गलत हो। त्यसैगरी हर्षा भएपछि, पायरिया र दन्त सडनमा दाँत ब्रस गर्न छाडेर औंलाले दाँत माझ्न थाल्नु, घरेलु तथा अन्य मन्जनहरू प्रयोग गर्नु पनि गलत हो, जसले गर्दा रोग बढ्दै जान्छ र केही समयमै उग्ररूप लिएर रगत आउने, दाँत हल्लिने, तीव्र दुर्गन्ध आउने र थोतोपना हुन जान्छ।
भनिन्छ, मानिसहरूले स्वादिष्ट भोजनबाट तब मात्रै सन्तुष्टि लिन सक्छन् जब दाँतमा कुनै खराबी हुँदैन। दाँतको मुख्य कार्य भोजनलाई चपाएर, टुक्र्याएर पचाउन योग्य बनाउनु हो। रोगी दाँतले राम्ररी चपाउन नसकेका कारण भोजन पच्न गाह्रो भई त्यसको अनगिन्ती प्रभाव सोझै स्वास्थ्यमा पर्छ।
दाँत तथा गिजाप्रति लापरबाही गर्दा विकार पेटमा पुग्छ। अनि, रगतमा मिसिन्छ र शरीरमा विभिन्न रोगहरूसमेत लाग्न सक्छ। कोलिसिस्टाइटिस, जोर्नी र हड्डीका विभिन्न रोगहरू, रक्तचाप, रक्तअल्पता, फोक्सोको रोग, झाडापखाला वा कब्जियत, पेट र गला सुन्निने, पेटको अल्सर, आँखाको रोग, ब्लाडर, मिर्गौला, फोक्सो, मुटु र दिमाग जस्ताका रोगहरू, सब एक्युट ब्याक्टेरियल इन्डोकार्डाइटिस तथा मधुमेह हुन सक्छ। मुखमा घाउखटिरा रहँदा मुखमैथुन, संसर्ग र र्यालबाट यौनजन्य रोग, एचआईभी, हेपाटाइटिस र चुम्बन रोग सर्न सक्छ।
गिजा तथा मुखसम्बन्धी रोग भएका व्यक्तिमा, अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ। गर्भवती महिलामा यस्तो भए यसको सोझो प्रभाव गर्भस्थ शिशु तथा प्रसव समयमा पर्दछ। समयभन्दा पहिले नै बच्चा जन्मने र शारीरिक तथा मानसिक रूपले कमजोर बच्चा हुने सम्भावना रहन्छ।
रोग लागिसकेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु अति नै उत्तम तथा उचित हुन्छ। आत्महत्या गर्न सक्नेसम्मको दुखाइबाट मुक्त रहन, महँगो उपचारबाट राहत पाउन, मुखको रोगका कारणबाट शरीरका प्रणालीमा लाग्न सक्ने विभिन्न रोगहरूबाट ग्रसित नहुन, शरीरका रोगहरूलाई निको पार्न, तथा भएका रोगमा औषधिको आवश्यकता र मात्रा कम गर्न मुखको स्वास्थ्यमा ध्यान दिन जरुरी छ। दाँत तथा मुखका अंग–प्रत्यंगलाई अंगभंग हुनबाट जोगाउनका अतिरिक्त स्वस्थ दाँत, स्वच्छ मुख नै स्वस्थ जीवनको आधार हो भन्ने कुरालाई चरितार्थ पार्न र स्वयं फाइदा लिन हरेक तह र तप्काले निम्न कुरामा ध्यान पुर्याउनुपर्दछ।
दाँत एवं मुखको सरसफाइः दैनिक २ पटक बिहान र बेलुका खानापछि तल–माथि गरी दाँत सफा गर्नुपर्दछ। सम्भव भए टुथब्रस, नभए दतिवन र फ्लोराइड भएको दन्तमन्जन (तर कोइला, बालुवा र खरानी होइन) प्रयोग गरी दाँतका सबै सतहहरू सफा गर्नुपर्दछ। अन्य समयमा खाना खानासाथ मुख कुल्ला गर्ने बानी बसाल्नुपर्दछ। दुई दाँतबिचको सतह (फलामको पिन, अलपिन, काठ होइन) डेन्टल फ्लसको प्रयोग गरी सफा गर्नुपर्दछ। बालक जन्मनासाथदेखि सफा कपास पानीले र पछि नरम ब्रसले दाँत सफा गरिदिनुपर्दछ।
मुख पनि हाम्रो शरीरको हातजस्तै व्यस्त अंग हो। यसभित्र असंख्य जीवाणुहरू सक्रिय रहन्छन्, जसमा कुनै हानिकारक त कुनै फाइदाजनक हुन्छन्। खाना खानुअघि र पछि हात–मुख धुनु जति अनिवार्य छ, खाना खाइसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु पनि उत्तिकै अनिवार्य छ। हामीले खाना खाइसकेपछि दाँतमा, दाँत र गिजाबीचमा वा दुई दाँतबीच चप्किएको वा अड्किएको खानेकुरा सफा गरिएन भने लेउमा परिणत हुन्छ। लेउ नियमित ब्रस गरी सफा नगरे पत्थर बन्दछ, जुन हटाउन क्लिनिक वा अस्पताल पुगी स्केलिङ गर्नुपर्दछ।
खानेकुरामा नियन्त्रण गरौंः टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्यपदार्थ साथै सुर्तीजन्य पदार्थ, पान, सुपारीको प्रयोग गर्नुहुँदैन। भिटामिन ’बी’ र ’सी’ पाइने टमाटर, अमला, कागती, सुन्तला, अंकुराउँदै गरेका अन्नबाली, मूला, गाजर, बन्दागोभी, सखरखण्डजस्ता रेसादार फलफूल, हरियो सागपात सेवन गर्नुपर्दछ। रेसादार, ताजा फलफूल, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोगले मुख मात्र नभई शरीर नै स्वस्थ रहन्छ।
नियमित रूपमा दन्त परीक्षण गरौंः दाँत नदुखेको र गिजाबाट रगत नआएको बखत पनि दन्त समस्या हुन सक्छ, त्यसकारण कम्तीमा ६–६ महिनामा दन्त परीक्षण गराउँदा समस्याको प्रारम्भिक अवस्थामा नै पहिचान हुन्छ। दन्त समस्याको प्रारम्भिक चरणमा नै उपचार गरियो भने ७५ प्रतिशत कम समय र खर्चमा निराकरण सम्भव हुन्छ।
जन्मेदेखि नै शिशुको दन्त परीक्षण गराउन सुरु गर्नुपर्दछ। के शिक्षित के अशिक्षित, के शिक्षक के विद्यार्थी, के गरिब के धनी, सबै वर्गमा नियमित दन्त परीक्षणको अनुभव देखिँदैन। असह्य पीडा, जटिलता र समस्या भए मात्र चिकित्सककहाँ पुग्ने चलन छ। विदेश जाने, वैदेशिक रोजगारमा जानेहरूले गराउनुपर्ने बाध्यता वा बाहिर महँगो हुन्छ भन्ने हल्ला सुनेकाहरू जानुभन्दा पहिले परीक्षण गराउने गर्दछन्।
रोगको रोकथामका कार्यक्रमलाई व्यवस्थित रूपमा लागू गराई रोग लाग्ने नराम्रो आदत, अज्ञानता र दूषित वातावरणमै सुधार ल्याउन त्यस देशको स्वास्थ्य नीति र कार्यक्रमले ठूलो भूमिका खेल्ने भएकोले यस क्षेत्रतिर सरकारको ध्यान गएको छैन। दन्त्य स्वास्थ्य मानवीय सेवामुखी नभएर आजकल दिनप्रतिदिन पैसामुखीतिर द्रुत गतिमा उन्मुख भइरहेको तथ्य पनि हामीसँग छिपेको छैन। तसर्थ, सरकारी क्षेत्रबाट सचेतना, जनशक्ति, कार्यक्रमहरूका साथै सही मार्गदर्शन, नीतिगत सहयोग र निरन्तर निगरानीको जरुरी छ।
अन्तमा, समयमै सचेत भई १४४० मिनेटको एक दिनमा बिहान खाना खाइसकेपछि चार मिनेट र बेलुका सुत्नुअगाडि चार मिनेट मुखको सरसफाइमा दिनु जरुरी छ। यसो गर्दा करिब ९० प्रतिशत मुखका रोगहरूबाट बच्न सकिन्छ। उत्पन्न दाँत तथा स्वास्थ्य समस्या, जटिलता र खर्च कम गर्न सकिन्छ।
- बुढाथोकी प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन तथा वरिष्ठ प्रोस्थोडोन्टिस्ट हुन्।
प्रतिक्रिया दिनुहोस !