किन आवश्यक छ, एचपीभी खोप ?

किन आवश्यक छ, एचपीभी खोप ?

यो खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउँछ।

नेपालमा महिलाहरूमा हुने विभिन्न क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ। महिलाहरूको क्यान्सरबाट मृत्यु हुनेमा भने यो पहिलो कारण रहेको छ। सन् २०२२ को तथ्यांकअनुसार हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट सरदर ४ जना महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान छ। 

विश्वको अवस्था हेर्ने हो भने यो चौथो मुख्य क्यान्सरको स्थानमा रहेको छ। त्यस्तै, सन् २०२० को तथ्यांकअनुसार, न्यून र मध्यम आय भएका देशहरूमा ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू तथा मृत्यु हुनेको संख्या देखिएको छ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुनु हो, जसलाई एचपीभी भाइरससमेत भनिन्छ। यो भाइरसका २०० भन्दा धेरै प्रजाति हुन्छन्। तर, मानव शरीरमा क्यान्सर गराउने प्रजातिहरू १२ प्रकारका हुन्छन्। तीमध्ये सबैभन्दा बढी जोखिम भएका प्रजातिहरू १६ र १८ हुन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिहरूबाट भएको देखिन्छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्‍याउन तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको छ। जसमा १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो रोगविरुद्धको एचपीभी खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) गर्ने र यो रोगको निदान भएका महिलाहरूलाई उपचार गर्ने पर्दछन्। तीमध्ये पाठेघरको मुखको परीक्षण गर्ने र यो रोगको निदान भएका महिलाहरूको उपचार सेवा हाम्रो देशमा विगत केही समयदेखि उपलब्ध गराइँदै आइएको छ। यो रोगविरुद्धको एचपीभी खोप सेवा नेपालका केही स्थानमा करिब १० वर्षभन्दा पहिला सञ्चालन गरिएको थियो। तर, अहिले देशव्यापी रूपमा एचपीभी खोप सेवाको सुरुवात नियमित खोप कार्यक्रममा समावेश गरी निरन्तरता दिइनेछ। 
नेपालमा यी तीनै प्रकारका सेवाहरू देशैभरि विस्तार गरेर यो रोग निवारण गर्ने लक्ष्य प्राप्तितर्फ उन्मुख हुनु हामी सबैको साझा कर्तव्य हो।
ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमणबाट सुरक्षित हुन दिइने खोपलाई एचपीभी खोप भनिन्छ। यो खोपमा भाइरसको डीएनए हुँदैन। त्यसैले यो खोपबाट एचपीभी संक्रमण हुँदैन। यो खोपले एचपीभी प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्दछ। यो खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी देखिएको छ।

यो खोप तयारी झोलको रूपमा एक मात्राको भायलमा उपलब्ध हुन्छ। यो खोपको एक मात्रा ० दशमलव ५ मिलि हो। यो खोप सुईको माध्यमबाट बायाँ पाखुराको माथिल्लोबीच बाहिरी भागमा मासुभित्र दिनुपर्दछ। यस वर्ष सञ्चालन गरिने एचपीभी खोप अभियानमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका उमेरका किशोरीहरूलाई यो खोप एक मात्रा दिइन्छ। यो उमेर समूहका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने भएकाले यो खोप सेवा मुख्यतः विद्यालय केन्द्रित हुनेछ। यद्यपि, अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट पनि यो खोप दिइन्छ।

पछिल्लो अध्ययनअनुसार यो खोप एक मात्रा लगाएपछि यसको पूर्ण मात्रा हुन्छ भन्ने आधार भएकाले राष्ट्रिय खोप सल्लाहकार समितिको २०८१ असोज २३ को सिफारिसअनुसार नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८१ कात्तिक ०८ को निर्णयानुसार यो खोप एक मात्रा लगाउने खोप तालिका निश्चित गरिएको छ। त्यसैले विगतमा एक मात्रा एचपीभी खोप लिइसकेका किशोरीहरूले अर्को मात्रा लगाउन आवश्यक छैन।

यो खोप लक्षित उमेर समूहबाहेक अन्य व्यक्तिहरू र गर्भवती महिलालाई दिनुहुँदैन। साथै, पहिला कुनै खोप लगाउँदा विगतमा गम्भीर एलर्जी प्रतिक्रिया भएको व्यक्ति र यो खोपमा भएका कुनै तत्तबाट विगतमा गम्भीर एलर्जी प्रतिक्रिया भएको 
व्यक्तिलाई पनि दिनु हुँदैन।

यसअघि आर्थिक वर्ष २०७२/०७३ र २०७३/०७४ मा कास्की र चितवन जिल्लामा एचपीभी खोप ‘डेमोन्स्ट्रेसन’ कार्यक्रमको रूपमा सञ्चालन गरिएको थियो। यसको लागि गाभीबाट सहयोग प्राप्त भएको थियो। सो कार्यक्रममा कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई ‘सर्भारिक्स’ नामको एचपीभी खोप ६÷६ महिनाको फरकमा दुई मात्रा दिइएको थियो।
यसै सन्दर्भमा, नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम कार्यान्वयनमा ल्याउने भनी उल्लेख भएको थियो। 

यसै क्रममा आव २०८०/८१ मा नेपाल सरकारको स्रोतबाट २० हजार मात्रा एचपीभी खोप खरिद गरेर सातै प्रदेशका एक–एकवटा अस्पतालबाट १४ वर्ष उमेरका किशोरीहरूलाई ६ महिनाको फरकमा दुई मात्रा यो खोप प्रदान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.