निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम हटाएकोप्रति आपत्ति
अर्थमन्त्रीज्यू,एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गर्नुस् : शाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले जनतालाई नि:शुल्क शिक्षा, स्वास्थ्य सेवा दिने बाचा गरेर झुक्याइएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम हटाएकोप्रति विरोध गर्दै शाहीले मौलिक हकबाट समेत बञ्जित गराउँदै सरकारले बिमा कटौती गरेर गरिबलाई उपचारबाट बञ्जित गरेको बताएका हुन्।
उनले गरिब नागरिकहरू स्वास्थ्य बिमाका कारण निजी अस्पतालमा उपचार गर्न सकेको दाबी गरे। सांसद शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्न आग्रह गरेका छन् । ‘अर्थमन्त्री ज्यू र अर्थमन्त्रीको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गरेर हेरिदिनुस्। त्यसपछि थाहा हुनेछ कि वर्तमान अवस्थामा सरकारी अस्पतालको सम्पूर्ण जनसङ्ख्याको भार धान्न सक्छ कि सक्दैन ? ’, उनले भने,‘सरकारी अस्पतालको क्षमता वृद्धि नगरे, चिकित्सकको सङ्ख्या नबढाई, उपकरणको व्यवस्था नगरी, सेवा विस्तार नगरी, स्वास्थ्य बिमाको पहुँच घटाउनु भनेको गरिबलाई उपचार नगर, पीडा सह र अन्त्यमा मरे पनि राज्य जिम्मेवार हुँदैन भन्ने सन्देश दिनु जस्तै हो । आज स्वास्थ्य बिमाका कारण निजी अस्पतालमा उपचार गर्न सकिरहेका थिए।’
उनले केही निजी अस्पतालले घोटाला गरेको विषयलाई लिएर सेवा नै हटाउँदा गरिबलाई अन्याय गरेको बताए। उनले सरकारले उपचारको बाटो नरोजेर बिरामी र गरिबसँग कर लगाउन बाटो खोलेको उल्लेख गरे।
उनले बिहानदेखि बेलुकीसम्म खेतमै हुने किसानका बजेट नआएको बताए । उनले २ करोडको अनुदान किसानलाई नभई सुकिलामुकिलालाई ल्याएको आरोप लगाए। उनले विद्युतमा कर थपेकोमा पनि विरोध गरे।
प्रतिक्रिया दिनुहोस !