शल्यक्रियापछि घाउ पाक्यो ?
आजभोलि आधुनिक चिकित्सा विज्ञानमा शल्यक्रिया सामान्यजस्तो भइसकेको छ। स्त्रीरोग तथा प्रसवमा मात्रै होइन, अन्य विभागहरूमा पनि शल्यक्रियाको दर बढ्दो छ।
एउटा कुशल शल्यचिकित्सकले शल्यक्रियामा शरीरको घाउ मात्र सिउँदैन, नयाँ जीवनको आशा पनि सिइरहेको हुन्छ। अस्पतालमा रहुन्जेल त चिकित्सक र नर्सहरूको न्यानो निगरानीले घाउलाई सुरक्षित बनाउने कोसिस गर्छन्। ३–४ दिनको बसाईपछि घरमा नै स्याहार गर्ने भनेर ‘डिस्चार्ज’ गरिन्छ। जब बिरामी ‘निको भएँ’ भन्दै मुस्कुराएर घर फर्कन्छन्, बिरामीको असली परीक्षा त्यहीँबाट सुरु हुन्छ।
हामी सोच्छौं, अस्पतालबाट डिस्चार्ज हुनु नै पूर्ण स्वस्थ हुनु हो। तर विज्ञान भन्छ, शल्यक्रियापछिको इन्फेक्सन (चिरेको ठाउँमा घाउ पाक्ने, एसएसआई) को खतरा शल्यक्रियाको ९ देखि १६ दिनको बीचमा बढी हुने देखिन्छ।
अनुसन्धानहरू भन्छन्, उमेरको हरेक एक दशक (१० वर्ष) को वृद्धिसँगै शल्यक्रियापछि इन्फेक्सन हुने दर झन्डै १.२ गुणाले बढ्दै जान्छ। त्यसैले सामान्यतया २० देखि ३५ वर्षको उमेरमा सिजेरियन (शल्यक्रिया गरेर प्रसव) गराएको भन्दा ४५ वर्षपछि गरिने हिस्टेरेक्टोमी (पाठेघर फाल्ने शल्यक्रिया) मा घाउ पाक्ने सम्भावना बढी रहन्छ। घरको आँगनमा खुसियाली साट्दै गर्दा, त्यो आलो घाउलाई कसरी जोगाउने ? यसबारे थोरै जान्ने कोसिस गरौं।
अझै पनि घाउलाई सेक्ने वा फोहोर कपडाले छोप्ने चलन छ। शल्यक्रिया गरिएको ठाउँलाई कुनै घरेलु तेल, जडीबुटी वा परम्परागत मलमको लेप पनि चाहिँदैन। घाउलाई केवल ‘सफा र सुक्खा’ राख्नुपर्छ। बिरामीलाई राम्रो वातावरण दिनुपर्छ। धूम्रपान, मद्यपानबाट टाढा राख्नुपर्छ। बिरामीको छेउछाउ चुरोट वा बिँडीको धुवाँलाई कत्ति पनि ठाउँ नदिनुहोस्। अप्रेसन गरेको छ भनेर धेरै खानेकुरा खानबाट वञ्चित गराउने चलन छ। पोषणयुक्त खाना, फाइबर भएका खाना र पर्याप्त पानी नभए घाउ कसरी चाँडो निको होला ? मधुमेहका बिरामीले रगतमा सुगरको मात्रा मिलाउन जरुरी हुन्छ।
त्यसैले मधुमेहका बिरामीले जिब्रोको स्वादलाई केही दिन वि श्राम दिनैपर्छ। रगतमा बग्ने चिनीको मात्रा जति अनियन्त्रित हुन्छ, घाउभित्र ब्याक्टेरियाको साम्राज्य त्यति नै बलियो हुन्छ। औषधिको नियम र खानपानको परहेज नै यो समयको सबैभन्दा ठूलो ओखती हो। तर प्रोटिन र भिटामिनमा कमी गर्नुहुँदैन।
बिरामीलाई स्याहार्ने परिवारका सदस्य वा कुरुवा घरका ‘सिपाही’ हुन्। बिरामीको घाउलाई छुनुअघि वा पट्टी बदल्नुअघि साबुनपानीले हात धुने बानीलाई एउटा पवित्र संस्कार बनाउनुहोस्। तपाईंको एउटा सानो असावधानीले सफा हातहरू पनि रोग सार्ने माध्यम बन्न सक्छन्। सफा गर्ने हात, ब्यान्डेज आफैँ फोहोर छ भने घाउ कसरी सफा हुन सक्छ ? विचार गर्नुपर्छ।
घाउ आफैं बोल्दैन, तर उसले आफ्ना पीडाहरू केही संकेतमार्फत पोख्छ। यदि घरमा बस्दा घाउको वरिपरि लालीमा (रातोपन) फैलिन थाल्छ, घाउ छुँदा आगो जस्तै तातो महसुस हुन्छ, दुखाइ बढ्दै जान्छ वा घाउको कुनाबाट पीप वा पानी रसाउन थाल्छ, बिरामीलाई ज्वरो आउँछ भने यो घाउ पाकेको संकेत हो भनेर बुझ्नुपर्छ।
यी लक्षण डाक्टरको गल्ती होइनन्, न त तपाईंको भाग्यको दोष हो। यो केवल हाम्रो वरपरको वातावरण र प्रकृतिको एउटा लडाइँ हो। यस्तो अवस्थामा अलमलिएर घरमै नबस्नुहोस्, तुरुन्त आफ्ना शल्यचिकित्सक कहाँ पुग्नुहोस्। घाउ पाक्दैमा डराउनु हुँदैन, तर बेवास्ता गर्नु हुँदैन। तुरुन्त परीक्षण गरे सजिलै निको बनाउन सकिन्छ। तर ढिलाइ गरे धेरै दुःख र जटिल हुन सक्छ।
प्रतिक्रिया दिनुहोस !