राष्ट्रियसभा निर्वाचन : कोशीमा मतदान जारी
![राष्ट्रियसभा निर्वाचन : कोशीमा मतदान जारी](https://annapurnapost.prixacdn.net/media/albums/koshi_matadan_j8infEtKLS_POchNtHzRZ.jpg)
विराटनगर : राष्ट्रियसभा सदस्यका लागि कोशी प्रदेशमा मतदान धमाधम जारी छ । बिहीबार बिहान ९ बजेदेखि निर्वाचन अधिकृतको कार्यालयमा मतदात सुरु भएको हो । महिलातर्फ कांग्रेसकी प्रदेशसभा सदस्य लखीकुमारी गणेश र पुरुषतर्फ कांग्रेसकै हिमाल कार्कीले मत दिँदै मतदान प्रक्रिया थालेका थिए ।
मतदान दिउँसो ३ बजेसम्म हुनेछ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान भएको हो । एक पद भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।
निर्वाचनमा प्रदेश सभा सदस्य,गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेकामध्ये कोशीमा कुल ३६७ मतदाता छन् । मतदान सकिएलगत्तै आजै मतगणना सुरु हुनेछ ।
आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने आयोगको तयारी छ । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् ।
कोशीमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ । सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग नेकपा एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् । कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८,कांग्रेसको ३६८४,माओवादी केन्द्रको १२७८,राप्रपाको ३९४,नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।
कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ । सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४६४२ छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)