राष्ट्रियसभा निर्वाचन : अरु मख्ख, माओवादी दिक्क
![राष्ट्रियसभा निर्वाचन : अरु मख्ख, माओवादी दिक्क](https://annapurnapost.prixacdn.net/media/albums/Election_NA_JOyhbkwFl4_7W9qZEoaVy.jpg)
पछिल्ला दुई संसदीय निर्वाचनमा हार बेहोरेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्य बनेका छन्। प्रतिनिधिसभाका अघिल्ला दुई निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनसँग पराजय बेहोरेका सिटौलाले यसपालि भने राप्रपाकै उम्मेदवारलाई पछारेका हुन्।
कोशी प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा चार जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। जसमध्ये, एक सिट कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले आफ्नो बनाए। सत्तारूढ गठबन्धनकातर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका सिटौलाले राप्रपाका उद्धव पौडेललाई पराजित गरे। राप्रपाका उपाध्यक्षसमेत रहेका पौडेलले एमालेसँग सहकार्य गरेका थिए।
राप्रपासँग चुनावी गठबन्धन गरेर एमालेले आफ्ना उम्मेदवार पर्शुराम अधिकारीलाई फिर्ता बोलाएको थियो। तर, मतपत्रमा अधिकारीको नाम रहेपछि त्यसमा पनि पाँच मत परेको थियो। जसलाई पछि निर्वाचन आयोगको कार्यालयले बदर मत भनेको थियो। सिटौलाले आफ्ना निकटतम् प्रस्तिपर्धी राप्रपाका पौडेललाई सात सय ३० मतान्तरले पराजित गरेका हुन्। पौडेलले कुल ४ हजार ५ सय ६२ मत ल्याउँदा कांग्रेसका सिटौलाले ५ हजार २ सय ९२ मत ल्याए। सिटौलालाई प्रदेशसभाको ४५ जना र पौडेललाई ४७ जना सदस्यले मतदान गरेका थिए।
स्थानीय तहतर्फ सिटौलाले १ सय ५३ मत ल्याउँदा पौडेलले एक सय नौ जना पालिका अध्यक्ष–उपाध्यक्ष तथा प्रमुख–उपप्रमुखको मत पाए। एमालेले राप्रपासँग गठबन्धन गरेको भए पनि अधिकारीले प्रदेशसभाको एक र स्थानीय तहको चार जनाको मत पाएको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए।
यससँगै सिटौला हारको ‘ह्याट्रिक’बाट मात्र जोगिएनन्, ७७ वर्षको उमेरमा सत्ताशक्तिमा पुनरागमन गर्न सफल भए। गत प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–३ बाट पराजित सिटौलालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको सहयोग लिएर पराजित गरेका थिए। सिटौला २०७४ को निर्वाचनमा लिङ्देनसँग पराजित भएका थिए।
देशले नयाँ संविधान पाएपछि संसद् प्रवेश गर्न नपाएका उनको चाहना यसपालि पूरा भएको छ। संसद् प्रवेशमात्र नभएर राष्ट्रियसभाको अध्यक्षमै उनको चर्चा छ। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका निर्वाह गरेका सिटौला करिब एक दशक शक्तिविहीन थिए। उनलाई पुनः सत्ता–शक्तिमा ल्याउन माओवादीलगायत गठबन्धन दलको समर्थन रह्यो।
गठबन्धनकै उम्मेदवार पराजित
सिटौला विजयी हुँदा गठबन्धनकै चम्पादेवी कार्की भने पराजित भइन्। नेकपा माओवादी केन्द्रकी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्य बन्न सफल भएकी हुन्। कोइरालाले ५ हजार ८६ मत प्राप्त गरिन्। कार्कीले ४ हजार ९ सय ९२ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। कोइरालाले ४९ प्रदेशसभा सदस्य र स्थानीय तहका १ सय ३१ जनाको मत पाएकी थिइन्। ९४ मतान्तरले पराजित कार्कीलाई भने प्रदेशसभा सदस्यका ४४ र स्थानीय तहका एक सय ४० ले मतदान गरेका थिए।
अप्रत्याशित रूपमा राष्ट्रियसभा सदस्यको टिकट पाएकी कोइराला राष्ट्रियसभा निर्वाचनमा एमालेबाट निर्वाचित एकमात्र उम्मेदवार हुन्। राष्ट्रियसभाका रिक्त १९ सिटमध्ये एमालेका १८ जना उम्मेदवार पराजित भएका थिए। निर्वाचित भएपछि उनले राष्ट्रियसभामा आफूले महिला सशक्तीकरण र मुलुकलाई अधिकारसम्पन्न बनाउने विषयमा जोड दिने बताइन्।
‘मैले अप्रत्याशित रूपमा टिकट पाएकी थिएँ’, कोइरालाले भनिन्, ‘करेसाबारीमा काम गरिरहेको समयमा स्थानीय पार्टी नेतृत्वबाट नागरिकता लिएर आउनु भन्नुभयो। किन रहेछ भनेर लिएर गएँ। राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउन रहेछ।’ इटहरीकी कोइराला एमालेमा लामो समयदेखि क्रियाशील छिन्। ४७ वर्षदेखि एमालेमा क्रियाशील भए पनि कुनै पनि लाभको पदमा पुगेकी थिएनन्। उनी ६ वर्षका लागि राष्ट्रियसभा सदस्यमा निर्वाचित भइन्।
कांग्रेसले अन्तरघात गर्यो : माओवादी
गठबन्धनकै कार्कीले हारेपछि माओवादीले भने कांग्रेससँगको सहकार्य भंग हुने चेतावनी दिएको छ। गठबन्धनका उम्मेदवार सिटौला विजयी भएर आफ्ना उम्मेदवार पराजित हुनुलाई योजनाबद्ध राजनीतिक बेइमानी भएको निष्कर्ष माओवादीको छ। माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङले कोशी प्रदेशमा कांग्रेसले पटक–पटक धोका दिएको भन्दै सहकार्य भंग हुने चेतावनी दिएका हुन्।
‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटक–पटक धोका दिएको छ’, नेम्बाङले भने, ‘कांग्रेसकै कारण यसअघि संसद्मा माओवादीले सभामुख गुमाउनुपरेको थियो। अहिले पनि हाम्रा उम्मेदवार पराजित भए।’ पार्टी नेतृत्वले केन्द्रमा सहकार्य भए पनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्ने अवस्था आएको उनले बताए।
मधेसमा गठबन्धनकै जित
मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरू विजयी भए। गठबन्धबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भएका हुन् । ढुंगाना धनुषा र चौधरी पर्साका हुन्। ७ हजार ३ सय ७० मतभारले ढुंगाना निर्वाचित भएका हुन्। उनलाई प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरूको २ सय १ मत प्राप्त भएको थियो। ढुंगानाका प्रतिस्पर्धी एमालेकी उषा चौधरीले २ हजार ४८४ मतभार पाइन्। उनलाई प्रदेशसभाका २५ र पालिकाका पदाधिकारीले ६१ मत दिएका थिए।
महिला कोटामा चौधरीले ७ हजार ९२३ मतभार पाइन्। उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरूको २ सय ५ मत प्राप्त भएको हो। मतदानमा १ सय ७ प्रदेश सांसदमध्ये १ सय ६ सांसद र १ सय ३६ पालिकाका २ सय ६७ प्रमुख र उपप्रमुखहरूले मतदान गरेका थिए।
बागमतीमा क्लिनस्विप
बागमतीमा सत्ता गठबन्धनका चार उम्मेदवार विजयी भएका छन्। गठबन्धन दलका संयुक्त उम्मेदवार कांग्रेसका विष्णुकुमारी पुडासैनी र जितजंग बस्नेत विजयी भएका हुन्। माओवादीका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। पुडासैनीले ६ हजार ६ सय २२ र एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईंले २ हजार ५ सय ५२ मतभार पाएका थिए।
यस्तै बस्नेतले ६ हजार ५ सय ३१ र उनका निकटतम प्रतिस्पर्धी एमालेका निर्मल पौडेलले २ हजार ३ सय ५९ मतभार पाएका थिए। अधिकारीले ६ हजार ३ सय ८३ र एमालेका विवेक देवकोटाले २ हजार ७ सय ३४ तथा विश्वकर्माले ६ हजार ५ सय १२ र एमालेका ध्रुवराज विश्वकर्माले ३ हजार ५२ मातभार पाएका थिए। निर्वाचनमा १ सय १० सदस्यीय बागमती प्रदेश सदस्यमध्ये १ सय ८ जना र स्थानीय तहका २ सय ३७ जना मतदातामध्ये २ सय ३४ ले मतदान गरेका थिए।
गण्डकीमा गठबन्धनकै जित
गण्डकी प्रदेशमा ३ सिटको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेसबाट किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीबाट मनरूपा शर्मा निर्वाचित भएका हुन्। निर्वाचनमा श्रेष्ठले ३ हजार ८ सय ८, परियारले ३ हजार ७ सय ७४ र मनरूपाले ३ हजार ६ सय ६० मतभार पाए।
गण्डकी प्रदेशमा सत्ता गठबन्धनको ३ हजार ८ सय २७ मतभार थियो। एमालेबाट ढोरपाटन नगरपालिकाको मेयरमा जितेका देवकुमार नेपाली मतदानमा सहभागी भएनन्। गण्डकीमा गठबन्धनको ६ जना जनप्रतिनिधिको मत एमालेलाई क्रस भएको छ।
लुम्बिनीमा सुवेदी र सापकोटा
लुम्बिनी प्रदेशबाट गठबन्धनबाट कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भइन्। उनले ५ हजार ४ सय ३५ मतभार पाइन्। गुल्मीको मुसिकोट नगरपालिकामा उपमेयरमा पराजित उनी राष्ट्रियसभाको सदस्य चुनिएकी हुन्। यस्तै माओवादीका झक्कुप्रसाद सुवेदी निर्वाचित भए। उनले ५ हजार ४ सय ३५ भतभार पाए। संविधानसभा सदस्य भइसकेका उनी काठमाडौंमा तत्कालीन एमाले उम्मेदवार माधवकुमार नेपाललाई हराएर चर्चामा आएका थिए। रोल्पाका सुवेदी माओवादी केन्द्रीय सदस्य हुन्।
कर्णालीमा गठबन्धनकै उम्मेदवार विजयी
कर्णालीमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। कांग्रेसका कृष्णबहादुर रोकाया, माओवादीका विष्णु विक र एकीकृत समाजवादीका सावित्री मल्ल विजयी भएका हुन्। सावित्रीले ३ हजार ७ सय २२, विष्णु विकले ३ हजार ८ सय १७ र कृष्णबहादुर रोकायाले ३ हजार ८ सय ७० मत भार ल्याएका थिए।
निर्वाचन कार्यालयका अनुसार ७९ स्थानीय तह रहेको कर्णालीमा स्थानीय तहतर्फ २५ नगरपालिका र ५४ गाउँपालिकाका प्रमुख र उप्रमुख गरी १ सय ५८ मध्ये महाबु गाउँपालिका दैलेखका प्रमुख लक्ष्मण गुरुङ र नलगाड नगरपालिका जाजरकोटकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि १ सय ५६ जनाले मतदान गरेका थिए।
सुदूरपश्चिममा पनि गठबन्धनकै जित
सुदूरपश्चिममा गठबन्धनका तीन जनै विजयी भएका छन्। कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४ सय १९ र बलदेव बोहराले ४ हजार ३ सय २८ मत भार पाए। माओवादी केन्द्रकी रेणु चन्द ४ हजार ४ सय ५३ मत ल्याइन्।
माधव काफ्ले/ विराटनगर, मनिका झा/ जनकपुरधाम, कृष्णमणि बराल/ पोखरा , कृष्ण सारु मगर/ हेटौंडा, लक्ष्मण पोखरेल/ बुटवल, ललितबहादुर बुढा/सुर्खेत, शिवराज भट्ट/ धनगढी
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)