नवलपरासीमा ६ महिनामा दुईजना बालकसहित २९ जना लागुऔषध कारोबारी पक्राउ
![नवलपरासीमा ६ महिनामा दुईजना बालकसहित २९ जना लागुऔषध कारोबारी पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/lagu-ausad_12Rv7dJv4U_kNLczFkMeI.jpg)
परासी : जिल्लामा लागुऔषध कारोबार नियन्त्रण गर्न नवलपरासी प्रहरीले लागुऔषध कारोबारी र सेवन गर्नेलाई धमाधम पक्राउ गर्न थालिएको छ। चालु आर्थिक वर्ष ८०/८१ को साउनदेखि हालसम्म प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट २९ जनालाई पक्राउ गरेको छ ।
त्यस अवधिमा लागुऔषधका १८ वटा मुद्दा दर्ता गरेर कानुनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए । पक्राउ पर्नेमा नवलपरासीलगायत चितवन,रुपन्देही र भारतीय नागरिक समेत छन् । पक्राउ परेका अधिकांश कारोबारीहरू रहेको डीएसपी बोहराले बताए ।
बेचबिचखनका लैजादै गरेको अवस्थामा उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् । कारोबारीहरूले लागुऔषध पुर्याउनका लागि बालकलाई समेत प्रयोग गर्ने गरेको पाइएको छ । पक्राउ परेका २९ जनामध्ये २ जना बालक छन् ।
अन्यमा २० जना पुरुष, २ जना महिला र ५ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूसँग बरामद भएका लागुऔषधमा गाँजादेखि खैरो हेरोइनसमेत छन् । त्यसैगरी ६ महिनाको अवधिमा बरामद भएका अन्य लागुऔषधमा विभिन्न नाम गरेका ८ हजार बढी ट्याव्लेट र २१ सय एम्पुल लागुऔषध छन् । अन्य सिरफ लागुऔषधसमेत छन् । जिल्लाको महेशपुर, भूजहवा, झोलनीपुर, गेर्मीलगायतका नाकालाई लागुऔषधको ट्रान्जिट प्वाइन्टका रुपमा रहेका छन् ।
ति नाकाहरुबाट कारोबारीहरुले मोटरसाइकल र साइकल प्रयोग गरी शरीरका विभिन्न भाग तथा झोलामा राखेर लागुऔषध ल्याउने गरेको पाइएको छ । पछिल्लो समय नयाँ अनुहारका व्यक्तिमाथि प्रहरीले निगरानी बढाएपछि उनीहरुले सीमा क्षेत्रका युवाहरुलाई प्रयोग गर्ने गरेको बताइएको छ ।
सीमा क्षेत्रबाट स्थानीय युवाहरुमार्फत मगाएर कारोबारीहरुले बुटवल,नारायणगढ,काठमाडौं,पोखरालगायतका सहरमा पुर्याउने गरेको बताइएको छ । त्यस्तै केही कारोबारीहरूले लागुऔषधलाई जिल्लाका विभिन्न ठाउँमा रहेका व्यक्तिलाई विक्री गर्ने गरेका छन् ।
ति व्यक्तिसँगबाट घरमै पुगेर सेवनकर्ताहरूले खरिद गर्ने गरेको समेत पाइएको छ । प्रहरीले लागुऔषध नियन्त्रणका लागि प्रयास गरे पनि लुकिछिपी बेचबिखन र ओसारपसारमा भने सोचेअनुरुप कमी आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)