ब्राउन सुगरको कारोबारमा संलग्न दुई जना महिला पक्राउ
![ब्राउन सुगरको कारोबारमा संलग्न दुई जना महिला पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_AXRjd5FIix_NUPBO4MaLe.jpg)
विराटनगर : लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)को ओसारपसार र कारोबारमा संलग्न दुई जना महिला मंगलबार विराटनगरबाट पक्राउ परेका छन्।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ की १९ वर्षीया अनिता बैठा र ३० वर्षीया सरस्वती गुरुङ रहेका छन्।
प्रहरीका अनुसार दुवै जना ब्राउन सुगरको ओसारपसार र कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतको जोगवनीबाट ब्राउन सुगर खरिद गरेर आउँदै गर्दा उनीहरूलाई विराटनगर–१५ बैंक रोड चोकबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए।
जोगवनीबाट पैदल नै नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीका सइ (प्रहरी नायव निरीक्षक) उज्वल खड्गी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरका वरिष्ठ सइ (वरिष्ठ प्रहरी नायव निरीक्षक) दीपक यादव नेतृत्वको संयुक्त टोलीले दिउँसो २ बजेतिर पक्राउ गरेको हो। विराटनगर–१७ घर भएकी गुरुङ विराटनगर–१६ बर्मा टोलस्थित कार्तिक पण्डितको घरमा कोठा भाडामा लिएर बस्दै आएको डीएसपी दाहालले बताए।
बैठा र गुरुङले भाडाको कोठाबाट ब्राउन सुगर अन्यत्र ‘सप्लाई’ गर्ने गरेको प्रहरीको भनाइ छ। शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा बैठाको साथबाट लागूऔषध ब्राउन सुगर १९.३३ ग्राम फेला परेको दाहालको भनाइ छ। लगत्तै प्रहरीले गुरुङको कोठामा छापा हानेको थियो।
कोठामा प्रहरीले खानतलासी गर्दा सानो डिजिटल तराजु फेला परेको थियो। जोगवनीबाट ब्राउन सुगर कोठामा ल्याएर राख्ने र डिजिटल तराजुमा जोख्दै अन्यत्र ‘सप्लाई’ गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका बैठा र गुरुङविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। यस सम्बन्धमा रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)