म्याग्दी र मुस्ताङ जोड्ने नयाँ पदमार्ग पहिचान
![म्याग्दी र मुस्ताङ जोड्ने नयाँ पदमार्ग पहिचान](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_0WPGhfd9z1_o32xffwBo2.jpg)
बेनी : गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्ग पहिचान भएको छ। गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुगंगा गाउँपालिकासँगको समन्वयमा ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) गण्डकीले नयाँ पदमार्गको पहिचान गरेको हो।
पर्यटन व्यवसायी, मन्त्रालयका कर्मचारी, प्राविधिक र पत्रकारहरूको २० जनाको टोलीले पदमार्ग पहिचान गरेको टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिए। बेनी–टोड्के देखि मालिका धुरी–ठाडाखानी, कुइने, चौरखानी, घ्यासीखर्क, सुगुरथला, कछुवा ओडार, धौलागिरी आधार शिविर, कालीबराह हुँदै मुस्ताङको लेते जोड्ने पदमार्गको पहिचान गरिएको उनले बताए।
‘गण्डकी प्रदेशमा आउने पर्यटकका लागि नयाँ गन्तव्यको विकास तथा उनीहरूको बसाई लम्बाउने उद्देश्यले पदमार्गको खोजी र अध्ययनमा आएका हौं,’ उनले भने ‘धौलागिरी हिमालको फेदीमा रहेको नेपालका अल्पसंख्यक छन्त्याल र आदिवासी जनजाति मगर समुदायको बसोवास रहेको ठाडाखानी, कुइनेमंगले बस्ती समेटिएको यो पदमार्गलाई धौलागिरी पानोरमा ट्रेक नामाकरण गरेका छौं।’
धवलागिरी हिमशृङखला र आधार शिविरका साथै मगर, छन्त्याल संस्कृति, वनजंगल, ग्रामीण जीवनशैली, वन्यजन्तु, वनस्पति, पंक्षी, ताल, झरना, धार्मिक स्थलहरू आकर्षणका रूपमा रहेको यो पदमार्ग ७ दिनमा पूरा गर्न सकिनेछ। क्याम्पिङ पदयात्राका लागि उपयुक्त मानिएको छ।
यसअघि पहिचान भएको धौलागिरी सेञ्चुरी र आइसफल पदमार्गमा छरिएर रहेका बस्तीहरूलाई जोड्न पानोरमा पदमार्गको अवधारणा अघि सारिएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थिले बताए।
टोड्केदेखि मालिका धुरी ठाडाखानी कुइने हुँदै घ्यासीखर्क पुगेपछि पानोरमा पदमार्ग धौलागिरी सेञ्चुरी र आइसफलमा जोडिनेछ। गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले धवलागिरी हिमाललाई आधार मानेर पर्यटकीय पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा प्राथमिकता दिएको बताए।
यस वर्ष लमजुङ र मनाङ तथा म्याग्दी मुस्ताङ जोड्ने नयाँ पदमार्ग पहिचान गरिएको उनले बताए। पोखराको फेवाताल पारीको रानीवनमा राउण्ड फेवा, भ्यु फेवा पदमार्ग निर्माण गर्न लागिएको पनि मन्त्री थापाले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)