फागुनदेखि स्वर्गद्वारी, सुपादेउराली, रेसुंगामा यातायात सञ्चालन हुने
बुटवल : प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली र गुल्मीको रेसुंगालाई लक्षित गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छ।
झिमरुक गाउँपालिका प्यूठानको आयोजनामा तीनवटै जिल्लाका यातायात व्यवसायीहरूबीच भएको बैठकले आगामी फागुन १ गतेदेखि यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।
स्वर्गद्वारी–मच्छि–सौतामारेहुँदै गुल्मीको रेसुंगा, स्वर्गद्वारी, सुपादेउराली र झिमरुकको मच्छि–कौछेटारी–बौडाहुँदै अर्घाखाँची सुपादेउरालीसम्म यातायात सञ्चालन गर्ने निर्णय भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए।
स्वर्गद्वारी, सुपादेउराली र रेसुंगा पश्चिम नेपालका प्रसिद्ध धार्मिक एवं पर्यटकीय तीर्थस्थल हुन्। ‘यी तीन जिल्लाका पर्यटकीय स्थलहरूलाई एक आपसमा जोड्नका लागि सार्वजनिक यातायात सेवा सञ्चालनको पहल गरेका हौँ’,गाउँपालिका उपाध्यक्ष पोखरेलले भने,‘छिमेकी जिल्ला भएर पनि ओहोरदोहोर कमी थियो। नियमित सवारी चलेपछि सहज हुने छ।’
प्यूठानको जुम्रीबजारदेखि मच्छि हुँदै गुल्मीको मदाने गाउँपालिकाको पुर्कोटदह र अर्घाखाँचीको सन्धिखर्कका लागि खलंगा जोगीटारी हुँदै जीप नियमित सञ्चालन भइरहे पनि पर्यटकीयस्थल लक्षित यातायात सञ्चालन थिएनन्। तीनवटै जिल्लाका नागरिकहरूले यी पर्यटकीयस्थललाई एक आपसमा जोड्ने गरी गाडी सञ्चालन गर्न वर्षौ अघिदेखि माग राख्दै आएका थिए।
छलफलममा गौमुखी स्वर्गद्वारी यातायात प्रालि प्यूठान, देउराली यातायात अर्घाखाँची र गुल्मी यातायातका पदाधिकारीहरू सहभागी थिए। हाल निर्माणाधीन अवस्थामा रहेको मदन भण्डारी राजमार्ग सम्पन्न भइसकेपछि यातायात सञ्चालन गर्न अझ सहज हुने व्यवसायीहरू बताउँछन्।
यातायात सञ्चालन गर्नका लागि पहिलोपटक झिमरुक गाउँपालिकाको अगुवाइमा तीनवटै जिल्लाका व्यवसायीहरूलाई छलफल गराएको हो।
प्रतिक्रिया दिनुहोस !