विराटनगरमा माघ २६ देखि प्याब्सन स्पोर्टस मिट हुँदै
![विराटनगरमा माघ २६ देखि प्याब्सन स्पोर्टस मिट हुँदै](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_PrqV5sqA69_DQerijEn8c.jpg)
विराटनगर : विराटनगरमा आयोजना हुने १३ औं प्याब्सन स्पोर्टस मिटको तयारी सुरु गरिएको छ। माघ २६ देखि २८ गतेसम्म स्पोर्टस मिट हुने छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै स्पोर्टस मिटबारे जानकारी दिएको छ। ‘राष्ट्रको खेलकुद विकास तथा स्वास्थ्य र सभ्य समाजका लागि प्याब्सन स्पोर्टस मिट’ भन्ने मूल नाराका साथ खेलकुद कार्यक्रम गर्न लागिएको हो। प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले औपचारिक शिक्षासँगै विद्यार्थीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले पनि खेलकुदलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
खेलकुदले विद्यार्थीहरूको व्यक्तित्व विकास गर्नुका साथै एउटा असल समाज निर्माण गर्न मद्धत पुग्ने उनको भनाइ छ। साथै, उत्कृष्ट खेलाडीको छनोटमा पनि सहयोग पुग्ने सुवाल बताउँछन्। ‘विश्वमा सैद्धान्तिक ज्ञानलाई भन्दा प्रयोगात्मक सिकाइ प्रक्रियालाई बढी मात्रामा महत्व दिइन्छ,’ उनले भने, ‘साथै खेलकुद पनि मानव जीवनको एक अभिन्न पाटो बन्न पुगेको छ।’
प्रतियोगितामार्फत खेलका सैद्धान्तिक पक्षका बारेमा मात्र नभएर प्रयोगात्मक विधिमार्फत ज्ञान हासिल हुने उनको भनाइ छ। भविष्यमा खेलाडी हुने लक्ष्य लिएका विद्यार्थीहरूका लागि प्याब्सन स्पोर्टस मिट प्रारम्भिक खुड्किलो हुने विश्वास लिइएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्ने खेलाडी उत्पादन गरी राष्ट्रप्रति समर्पित गर्ने उद्देश्यका साथ २०६३ सालदेखि प्रत्येक वर्ष प्याब्सन मोरङले जिल्ला स्तरीय खेलकुद सञ्चालन गर्दै आएको सुवालको भनाइ छ।
विराटनगरमा हुने प्रतियोगितामा प्याब्सन आवद्ध मोरङका २ सय १० वटा विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाउने प्याब्सनले जनाएको छ। विद्यार्थीबीच भलिबल, फुटबल, टेबलटेनिस, बास्केटबल र म्याराथनका इभेन्टमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख खर्च हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)