सुस्त विकास खर्च

सुस्त विकास खर्च
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो आर्थिक वर्षको तयारी नयाँ ढंगले गरिरहँदा चालु वर्षको विकास खर्चले चाहिँ उनलाई नै गिज्याइरहेको छ । काम त यो वर्ष पनि गर्नुपर्ने हो, तर त्यतापट्टि भइरहेको सुस्तताको ढाकछोप गर्दै अर्काे वर्षको सपना उनले बाँडिरहेका छन् । यो आर्थिक वर्षको आधा समय सकियो । पुँजीगत अर्थात् विकास खर्च भने चौथाइ पनि भएको छैन । मात्र १९ प्रतिशत छ । १७ खर्ब ५१ अर्बको बजेटमध्ये पुँजीगतर्फको खर्च ५७ अर्ब ७४ करोडमात्रै हुनुले न विकासले गति लियो न सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पु¥याउन सक्यो ।

अर्काेतिर सरकार राजस्व संकलनमा पनि विफल बन्दै गएको छ । लक्ष्य भेट्न मुस्किल छ । वर्षभरमा १४ खर्ब उठाउने लक्ष्य हुँदा आधा समयमा आधाभन्दा कम अर्थात् ५ खर्बमात्रै संकलन हुनु सुखद संकेत हुँदै होइन । झन्डैझन्डै त्यति पैसा त सरकारले कर्मचारीहरूको तलबभत्तामा खर्च गर्नु परेको छ । देशको गम्भीर समस्या भनेको अर्थतन्त्र बिरामी हुनु भएको छ ।

तर, सरकार केवल सत्ताकै रोटेपिङमा मात्रै मच्चिरहेको छ । निर्देशन र खाली निर्देशनका भरमा आफ्नो अस्तित्व जोगाउने असफल कसरतमा प्रधानमन्त्री रहनु तर अर्थतन्त्रलाई तरंगित पार्न नसक्नु ठूलो विडम्बना हो ।

बाह्य अर्थतन्त्रका केही सुखद सूचकका भरमा सरकार अर्थतन्त्र ठीकठाक रहेको प्रचार पनि गर्छ । तर धर्मराएको अर्थतन्त्र रेमिट्यान्सलगायतको टेकोको भरमा अडिरहन सक्दैन । उद्योग, व्यवसाय र कलकारखाना चुस्त ढंगले चल्ने वातावरण बन्न सकेको छैन । बैंकमा थुप्रिएको लगानीयोग्य पुँजी परिचालनका लागि पनि उद्यम, व्यवसाय चुस्त हुनुपर्छ । अर्थतन्त्र उकास्ने एउटा बलियो आधार सरकारी खर्चमा पनि सरकार विफल भएको छ । खासमा विकास खर्च बढाउन प्रधानमन्त्री वा मन्त्रीहरूको फितला अनुगमन र निर्देशन काफी हुँदैनन् ।

प्रणालीगत सुधारका लागि एउटा शल्यक्रियाकै जरुरी छ । बजेटको कनिका छराइ, असंख्य खुद्रे योजनाहरू विकास बजेट कार्यान्वयनको मुख्य झन्झटमध्ये पर्छ । आयोजनाहरूको प्राथमिकताका आधारमा मात्रै आवश्यक बजेट विनियोजन गर्ने र जति आयोजना हुन्छन्, तिनलाई स्रोत सुनिश्चित गरी समयमा पूरा गर्ने थिति बसालेमात्रै पुँजीगत खर्च वृद्धि हुन्छ । विकासले गति लिन्छ । आगामी बजेटको गृहकार्य 
पनि त्यसैबाट सुरु गर्नुपर्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.