सरकारलाई एमालेको प्रश्न : बैंकले मिटरब्याजीको काम गर्छ, सहकारीले बचतकर्ताको रकम खाएको छ, खै कारबाही ?
![सरकारलाई एमालेको प्रश्न : बैंकले मिटरब्याजीको काम गर्छ, सहकारीले बचतकर्ताको रकम खाएको छ, खै कारबाही ?](https://annapurnapost.prixacdn.net/media/albums/padam-giri-uml_9KsQH9WkOI_4q0pztDkkV.jpg)
काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बैंकले मिटरब्याजीको काम गरिरहेको दाबी गरेका छन्। बुधबार प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले बैंकलाई मिटरब्याजी भन्न हिच्चकिचाउन नहुने धारणा राखेका हुन्।
‘वित्तीय क्षेत्र कुन हालतमा छ। बैंकले मिटरब्याजीको काम गरिरहेको छ। भन्न हिचकिचाउनुपर्ने अवस्था छैन। बैंकबाट व्यापार व्यवसाय गर्छु भनेर लोन लियो भने एक वर्षमा ४/४ पटक ब्याज बृद्धि गर्दै जाने र अनि मान्छेलाई गरिब, कंगाल बनाएर सबै लिलाम गर्दै जाने काम भइरहेको थियो। अहिले सहकारीले पनि सिद्धात विपरित सहकारी चलाउने र लगानी गर्ने काम भइरहेको छ।’
उनले जनताको बचत हिनामिना र अपचलन गर्दा बचतकर्ता रुँदैरुँदै सडकमा आउनुपर्ने आवश्यकता भएको टिप्पणी गरे। ‘बचतकर्ताहरु आज सबै कुरा गुमाएर रुँदैरुँदै हिड्नुपर्छ। यस्ता विषयमा समस्यालाई समाधान गर्न सरकारले समयमै ध्यान दिनपर्छ कि पर्दैन ? यो सरकारको जिम्मेवारी हो कि होइन ? छिटोभन्दा छिटो बचतकर्ताको बचत फिर्ता गर्नुपर्छ कि पर्दैन? पैसा अपचलन गर्नेको सम्पति जफत गरेर उनीहरुलाई कानुनको दायरामा ल्याएर ती बचत फिर्ता गर्नुपर्ने हो कि होइन ? सरकार के गरेर बसिरहेको छ।’उनले प्रश्न गर्दै भने,‘सरकारले आज कमजोर मान्छेहरुलाई ल्याएर थुन्ने, कारबाही गर्ने, अलि बलियो, बाङ्गो देखियो भने सरकार परैबाट भाग्ने, यस्तो पनि राज्य हुन्छ ? यस्तो पनि सरकार हुन्छ ? नागरिकप्रतिको दायित्व यहि हो ? जिम्मेवार यहि हो सरकारको ? यस्ता मामिलामा यतिसम्म निरीह सरकार मैले अहिलेसम्म देखेको थिइनँ। म ध्यानाकर्षण गराउन चाहन्छु।’
उनले सरकारले भ्रष्टाचारीहरूको संरक्षण गरेको दाबी गरे। उनले सरकार नै तस्करीमा लागेको बताए। एकपछि अर्को ठूलाठूला भ्रष्टाचारका काण्डहरू आएपनि सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने बहनामा स्टन्टबाजी गर्ने गरेको उनले दाबी गरे। उनले टेरामक्स प्रकरणमा सत्तारुढ दलकै बहालवाला मन्त्री र पूर्व मन्त्रीलाई अख्तियारले बोलाउँदा बयान दिन नगएको भन्दै सुशासन कसरी कायम हुन्छ भन्दै प्रश्न गरे।
टेरामक्स प्रकरणमा कांग्रेसका सांसदसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र पूर्व सञ्चारमन्त्री समेत रहेका सांसद ज्ञानेन्द्र बहादुर कार्की अख्तियारले बयानका लागि बोलाउँदा गएका छैनन्। सरकारको नैतिक धरातलबारे गिरीले प्रश्न गर्दै भने, ‘अख्तियारले बोलाएर सत्तारूढ दलका सांसद जाँदैनौं भन्ने ? यसरी सुशासन कायम हुन्छ ?’
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)